बागलुङ, १३ मंसिर– देशका बिभिन्न ठाउवाट रोजगारीका लागि बिदेश गएका नेपालीहरुले बागलुङ मल्मका टुहुरा बालबच्चाको शिक्षाको लागि लाखौ रकम सहयोग गरेका छन् । रोजगारीको शिलशिलामा जापान, युके, सिंगापुर, दुवई लगाएतका देशमा गएका नेपालीहरुले गल्कोट नगरपालिका–९ मल्म निवासी स्वर्गिय मिनबहादुर मल्लका २ भाई छोराहरुको शिक्षा दीक्षाका लागि १२ लाख १३ हजार ५ सय ६९ रुपैया आर्थिक सहयोग गरेका हुन ।
बोन क्यान्सरवाट पीडित मल्लको केहि महिना अगाडि उपचारका क्रममा निधन भएपछि आर्थिक अभावका कारण बालबच्चा शिक्षा दीक्षाका लागि समस्या हुने देखिएपछि जापान, युके, सिंगापुर, दुवई लगाएतका देशमा बिभिन्न पेशा व्यवसाय गरि बस्ने नेपालीहरुले संकलन गरेको रकमको चेक स्वर्गिय मल्लकी श्रीमती अमृता मल्ललाई हस्तान्तरण गरिएको छ । जापानमा भरत मल्ल, दिपक राना, केदार थापा र डम्मर घिमिरेको पहलमा संकलन गरिएको ९ लाख ५८ हजार ८ सय १८, सिंगापुरमा जमुना शाहीको पहलमा संकलन गरिएको ४७ हजार ५ सय १, युकेमा राजेश मल्लको पहलमा संकलन गरिएको १ लाख ६४ हजार ५ सय ५०, दुवईमा जीवन मल्लको पहलमा संकलन गरिएको २० हजार तथा खड्ग कालिका युवा क्लवको पहलमा संकलित १० हजार गरि जम्मा भएको १२ लाख १३ हजार ५ सय ६९ रुपैया बरावरको चेक एक कार्यक्रमका बिच दिपक रानाले हस्तान्तरण गरेका हुन ।
स्व. मल्लको आर्थिक अवस्था निकै कमजोर भएको, उनको नाममा कुनैपनि जग्गा जमिन नभएको र अर्काको गोठमा बस्दै आएको र ७ बर्षिय जेठो छोरा सुस्त मनस्थितीको समेत भएकाले उनिहरुको शिक्षा दीक्षाका लागि आर्थिक सहयोग गरिएको मल्म घर भई हाल जापानमा कार्यरत दिपक रानाले जानकारी दिए । स्व. मल्लका छोराहरु १६ बर्ष पुगपछि मात्र रकम निकाल्न मिल्ने गरि प्रभु बिकास बैंकको गल्कोट शाखा हटियामा रकम जम्मा गरिएको उल्लेख गर्दै रानाले रकम संकलन र पहल गर्ने देश तथा बिदेशमा रहने सवैलाई धन्यावाद ज्ञापन गरे ।
टुहुरा बालबच्चाको संरक्षणका लागि स्थानिय बावुराम मल्ल, बिष्णु मल्ल र ताजबहादुर मल्ल सदस्य रहेको संरक्षण समिति समेत गठन गरिएको छ । कार्यक्रममा बोल्दै गल्कोट नगरपालिका–९ मल्मका अध्यक्ष तेजबहादुर थापा, समाजसेवी ताजबहादुर मल्ल, तिलकबहादुर केसी, पाण्डुकेशोर सामुदायिक बनका अध्यक्ष टोपबहादुर थापा, भैरव माविका शिक्षक बिष्णु मल्ल र खड्ग कालिका युवा क्लबका अध्यक्ष शिशिर मल्लले बालबच्चाको शिक्षा दीक्षाका लागि सहयोग गरिएको रकमलाई सहि सदुपयोग गर्न आग्रह गरेका थिए । कार्यक्रम स्थानिय समाजसेवी सुर्यबहादुर मल्लको अध्यक्षता र भैरव माविका प्रअ चक्रवर्ती शर्माको संचालनमा सम्पन्न भएको थियो ।