पोखरा, १३ मंसिर– मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत खटिने मतदान केन्द्रको छनोट मंगलबार गोला प्रथाबाट गरिएको छ । मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारी, सहायक निर्वाचन अधिकृतद्वय गंगाप्रसाद पौडेल तथा जगन्नाथ पौडेल, प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीको रोहवरमा गोलाप्रथाबाट ३१७ मतदान अधिकृत र त्यतिनै सहायक मतदान अधिकृत खटिने मतदान केन्द्र छनोट गरिएको हो । विगतमा सिधै मतदान केन्द्र तोकिदा कसैलाई टाढा र कसैलाई नजिक हुने गरेको गुनासो आएकाले सबैलाई समान व्यवहार गर्न गोलाप्रथा गरिएको क्षेत्रीय निर्वाचन अधिकारी सुवेदीले बताए । जिल्लाका कुल १५० मतदानस्थलमा हुने सो निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतबाहेक एक हजार ८९९ सहायक कर्मचारी, एक हजार २९९ स्वयंसेवकसमेत गरी तीन हजार ८३२ कर्मचारी सबै मतदान केन्द्रमा खटिने छन् ।