चीनको प्रभावशाली दैनिक ‘पिपुल्स डेली’ अखबार मातहतको अंग्रेजी छापा ‘ग्लोबल टाइम्स’ ले सोमवार (३ असोज) दुइटा त्यस्ता समाचार-टिप्पणी प्रकाशित ग-यो जसमा प्रचण्डको भारत-भ्रमणको पृष्ठभूमिमा चीन-नेपाल सम्बन्धको चर्चा गरिएको छ।
दुइमध्ये एक टिप्पणी सु लिआङ्गको नामबाट छापिएको छ भने अर्को लेखका लेखक आइ जुन छन्।
सु लिआङ्गको समीक्षाका मुख्य बुँदा यी हुन् :
मानिसले प्रश्न गर्दछन् : प्रचण्डले नयाँ दिल्लीसित मेलमिलाप गर्न खोजेको कि नेपाललाई भारतको नियन्त्रण रहेको हैसियतमा राख्न चाहेको ?
नेपाल-चीन सम्बन्ध एकाएक गतिहीन भएको देखिँदै छ; र चीनका नेताहरूको प्रस्तावित नेपाल-भ्रमण स्थगित हुने भनिदैछ। नजीर नभएको परिस्थिति सिर्जना हुँदैछ।
चीन-नेपाल सम्बन्ध अकस्मात नाजुक र संवेदनशील भएको छ।चीन झुक्यानमा परेको देखिंदैछ। जब नेपाल दिल्लीको दबाबमा प-यो त्यसबेला उसलाई बेजिङ्गको मद्दत चाहियो र केही सम्झौताहरू पनि ग-यो। तर जसै दिल्ली केही सहज देखिन थाल्यो अनि नेपालका नेताहरूले चीनसितको सम्बन्धलाई प्राथमिकताबाट हटाउन थालेका छन्।
मुलुकको कूटनीति तत्कालको नाफा-नोक्सानका आधारमा मात्र संचालन गरिँदैन। यसमा नैतिकता, न्याय र इमान्दारी महत्वपूर्ण कारक हुन्छन। चीनले नेपाल-भारत सम्बन्धलाई कहिल्यै खलबल गराएन, तर नयाँ दिल्लीले चीन-नेपाल सम्बन्धमा हस्तक्षेप हुने कार्य बेला-बेलामा गर्दै आएको छ। यस कुरालाई बुझेर नेपालले चीनमाथिको विश्वास कायम राख्न प्रयत्न गर्नु बेश हुन्छ।
चीन-नेपाल सम्बन्धलाई इमान्दारीका साथ अघि बढाउनुको साटो चीनलाई भारतसितको लेनदेनको सन्दर्भमा एउटा औजार मात्र बनाउँदा नेपालको स्वतन्त्रता र सम्मानमा चोट पुग्नेछ।
आजको नेपालले अवसरवादी हुनुपर्ने आवश्यकता छैन; बरु त्यसलाई दूरदृष्टि भएका राजनीतिज्ञहरू चाहिएको छ-त्यस्ता नेता जो चीनको ‘बेल्ट एण्ड रोड’ परियोजनाबाट लाभ उठाउँदै नेपालको भारतमाथिको निर्भरता घटाउन सकुन।
(सु लिआङ्ग बेइजिङ्ग इन्टरनेसनल युनिभर्सिटी इन्डियन स्टडी सेन्टरका निर्देशक हुन्)
आइ जुन को टिप्पणीका केही बुँदा:
प्रचण्डले दिल्लीमा दिल खोलेर कुरा गरेँ भनेको पढियो। विडम्बना हो, प्रचण्ड विगत वर्ष कटु भएको सम्बन्ध सुधार गर्न प्रयत्नशील भएको बेलामा भारतको ध्याउन्न चाहिं नेपाललाई ‘चीनको पकडबाट उम्काउन’ तर्फ लागेको देखियो ।
केपी ओलीको प्रधानमन्त्रित्वकालमा संविधान विषयमा भारतीय हस्तक्षेप र सीमानाकामा अवरोध भएका बखत चीनसित सम्बन्ध विकास गर्ने जरुरत प-यो। तिब्बतको रेल काठमाडौंसम्म लैजाने लगायतका सम्झौताहरूमा हस्ताक्षर पनि भयो; चीनबाट इन्धन झिकाउने सहमति पनि बन्यो। यी कुराले दिल्लीलाई चिन्तित गरायो।
नेपालको कूटनीतिको निश्चित कारक यसको भौगोलिक अवस्थिति हो -बेइजिङ्ग र दिल्लीको बीचमा चेपिएर रहनु। चीनले कहिल्यै नेपाललाई कुनै एक पक्षलाई नजिक तुलाउन भनेको छैन। तर नेपालले सधैंजसो सुरक्षा र आन्तरिक मामिलामा भारतको दबाब खेप्नुपरेको अनुभव गर्दै आएको छ। नेपालको लागि यो स्थिति सहज छैन पनि। परन्तु, नेपाल यस अवस्थामा अधिकतम लाभ लिन चाहन्छ र उन्नति गर्न चाहन्छ भने उसले आफूलाई कुनै एउटा पक्षको प्यादा हुन दिनु हुँदैन। चीन र भारत दुवैसित असल सम्बन्ध कायम राख्नु नै नेपालको गतिलो विकल्प हो।
नेपालमा चीनको प्रभाव बढेकोबाट झस्केको भारत पासा पल्टाउने दाउमा देखिन्छ। तर यस्तो संकुचित सोचले कसलाई पनि लाभ हुँदैन। बेइजिङ्ग नेपालको विकास होस् भन्दछ र चीनलाई भारत र बंगलादेशसित जोड्ने माध्यम बनोस् भन्ने चाहन्छ। ‘बेल्ट एण्ड रोड’ को चिनियाँ परियोजनाबाट दक्षिण एशिया र दक्षिणपूर्व एशिया क्षेत्र नै सम्मुनत हुने अवस्था छ।
नेपालको विकासमा भारतको सहयोग बढ्दा चीनलाई प्रसन्नता नै हुन्छ। नेपाललाई चीनको समर्थन/सहयोग बढेको देखेर भारत पनि नेपाललाई अझ सघाउन इच्छुक हुन्छ भने त्यो राम्रै हो; ‘स्वस्थ प्रतियोगिता’ नै मान्न सकिन्छ।
समय फेरिएको छ, त्यसैले म्याद-सकिएको अवधारणा बोकेर ‘प्रभावक्षेत्र’ बढाउने धुनमा दौडिनाले मात्र केही फैदा छैन। यस्तो ढङ्गले मानिसहरूको मन जित्न सकिंदैन। बरु आफ्नै विकास अवरुद्ध हुनजान्छ।
चीनको प्रभावशाली दैनिक भन्छ –नेपालले दुःख पर्दा चीन सम्झियो, सहज हुँदा भारततिर लहसिँदैछ
Previous Articleएन्फा उपाध्यक्षमा उपेन्द्रमानको उम्मेदवारी
Next Article पर्वत दोविल्ला–फलेवास सडकको बिजोग