बागलुङ, १० मंसिर – आज ३२ जिल्लामा भएको पहिलो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा औसत ६५ प्रतिशत बढी मत खसेको आंकलन निर्वाचन आयोगले गरेको छ । जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त तथ्यांकको आधारमा आयोगले यस्तो आंकलन सार्वजनिक गरेको छ ।
खसेको मत प्रतिशत अझैं बढ्नसक्ने आयोगको अनुमान छ । बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको आयोगले जनाएको छ ।प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आज पत्रकार सम्मेलन गर्दै निर्वाचन शान्तिपूर्ण भएको बताएका छन् । उनले एसिड फ्याँकिएपछि पश्चिम रुकुमको दुई वटा मतदान केन्द्रमा मतदान स्थगित गरिएको जानकारी दिए ।
पश्चिम रुकुमको बाँचीकोट गाउँपालिका ५ स्थित रत्ना निमाबि मतदान केन्द्र र आठबीसकोट नगरपालिका १ स्थित गत्तासैना मतदान केन्द्रमा पुन: मतदान गर्न लागिएको हो । यी दुवै मतदान केन्द्रका मतपेटिकामा एसिड फ्याँकिएपछि मतदान स्थगित गरिएको हो । दुवै स्थानमा पुन: मतदानको लागि चाँडै मिति तोकिने यादवले जानकारी दिए ।
उच्च पहाडी र हिमाली ३२ जिल्लामा आज निर्वाचन भएको हो । बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख आयुक्त यादवले प्रतिनिधिसभा तर्फ ३७ र प्रदेश सभाका लाग ७४ निर्वाचन क्षेत्रमा आज भएको मतदान शान्तिपूर्ण भएको जानकारी दिए । पहिलो चरणमा आज चार हजार चारसय ६५ मतदान केन्द्रमा मतदान भएको हो ।
मतपेटिका संकलन सुरु
आयोगले निर्वाचन सकिएलगत्तै मतपेटिका संकलनको काम सुरु गरेको जानकारी दिएको छ । संकलित मतपेटिका मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रणमा र व्यवस्थापनमा रहने आयोगले जनाएको छ ।
मतपेटिकालाई मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल तथा उम्मेदवारको सहमतिमा सुरक्षित स्थानमा राख्ने प्रबन्ध मिलाइएको प्रमुख आयुक्त यादवले जानकारी दिए । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलगत्तै सबै जिल्लामा मतगणना सुरु हुनेछ ।
३२ जिल्लामा ६५ प्रतिशत बढी मत खस्यो – आयोग
Previous Article३२ जिल्लामा उत्साहपूर्वक मतदान हुँदै
Next Article बागलुङ जिल्लामा ६५.३५ प्रतिशत मतदान