बागलुङ, १० मंसिर – ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि मतदान जारी छ। निर्वाचन आयोगले मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म निर्धारण गरेको छ। पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लामा मतदान सुरु भएको हो। दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा मंसिर २१ गते मतदान हुनेछ। सबैजसो जिल्लाहरूमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको अन्नपूर्ण पोस्टका जिल्ला सम्वाददाताहरूले जानकारी दिएका छन्।
संविधान जारी भएपछि संघीयता कार्यान्वयनका लागि मुलुकमा पहिलोपटक चुनाव हुन लागेको हो। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३७ पदका लागि २ सय ८२ जना उम्मेदवार मैदानमा छन्। जसमा महिला उम्मेदवारको संख्या निकै कम १६ मात्र रहेको आयोगले जनाएको छ।
यस्तै, प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रका लागि चार सय २० जना चुनावी मैदानमा छन्। प्रदेशसभामा ४ सय पुरुष र २० जना महिला उम्मेदवार छन्। प्रतिनिधिसभा र प्रदेशसभाका १ सय ११ पदका लागि ७ सय २ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। ३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले पहिलो चरणमा आफ्नो मतको सदुपयोग गर्दै छन् । पहिलो चरणमा २ हजार ९ सय १९ मतदान स्थल र ४ हजार ४ सय ६५ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ । समानुपातिकतर्फ ८८ दलले भाग लिएका छन् भने प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ जिल्लागत रूपमा दलका उम्मेदवारको संख्या फरक–फरक छ।
पहिलो चरणमा प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, प्रदेश ५ का रूकुम (पूर्वीभाग) र रोल्पा, प्रदेश ६ का रूकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा तथा प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा निर्वाचन भएको हो । प्रदेश २ मा कुनै पनि पहाडी जिल्ला नभएकाले उक्त प्रदेशका सबै ८ जिल्लामा दोस्रो चरणमा मतदान हुनेछ ।
३२ जिल्लामा उत्साहपूर्वक मतदान हुँदै
Previous Article१० मंसिर २०७४ ढोरपाटन दैनिक
Next Article ३२ जिल्लामा ६५ प्रतिशत बढी मत खस्यो – आयोग