काठमाडौं, ९ मंसिर– धुनषाका देवेन्द्र यादवले आफ्नो जिल्लामा कहिले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन्छ भनेर निर्वाचन आयोगले सञ्चालन गरेको कल सेन्टरमा फोनमार्फत सोधे । यस्तै काठमाडौँका नवराज सिंखडाले समानुपातिक र प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि कस्तो कस्तो मतपत्र हुन्छ भनेर जिज्ञासा राखे । यादवलाई दोस्रो चरण मंसिर २१ गते हुने र सिंखडालाई प्रतिनिधि सभा सदस्यतर्फको प्रत्यक्षका लागि हरियो र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फ कालो तथा प्रतिनिधि सभा र प्रदेश सभा दुवैको समानुपातिकतर्फ रातो मतपत्र हुने छ । रातो मतपत्रमा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाका लागि रहेको कल सेन्टरका कर्मचारीले जवाफ दिएर जिज्ञासा मेटाए ।
यादव र सिंखडा जस्तै अन्य मतदाताले राखेका जिज्ञासालाई आयोगले सञ्चालन गरेको कल सेन्टरमार्फत यसरी नै प्रत्यक्षरुपमा कर्मचारीले समाधान गर्ने गरेका छन् । बिहान ८ः०० देखि साँझ ८ः०० बजेसम्म आयोगका कर्मचारीले कल सेन्टरमा यसरी आएका मतदाताको जिज्ञासालाई मेटाउने प्रयासमा लागि परेका हुन्छन् । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन सम्बन्धी कुनै पनि मतदाताको समस्या समाधान कल सेन्टरबाट गरिरहेको जानकारी गराए । स्थानीय तहको निर्वाचनको समयमा गत वैशाख १५ गतेदेखि निर्वाचन सम्बन्धी मतदाताको जिज्ञासालाई कल सेन्टरले समाधान गर्दै आएको छ । “अहिले दैनिक १०० भन्दाबढी मतदाताले कल सेन्टरमा निर्वाचनसम्बन्धी कुराको जिज्ञासा राख्ने गरेका छन्”– कल सेन्टरका कम्प्युटर अधिकृत श्रीराम क्षेत्रीले भने, “हामीले मतदाताले राखेका जिज्ञासालाई तत्काल मेटाउने प्रयास गरेका छौं ।” कल सेन्टरमा आएका धेरैजसो मतदाताको जिज्ञासालाई तुरुन्तै कल उठाउने कर्मचारीले समाधान गर्छन् भने कर्मचारीले तुरुन्तै आफूले सामाधान गर्न नसक्ने जिज्ञासालाई आयोगको सम्बन्धित शाखामा कल उपलब्ध गराएर समाधान गरिन्छ ।
कल सेन्टरमा मतपत्रमा छाप कसरी हाल्ने, समानुपातिक र प्रत्यक्षमा कस्तो कस्तो रंगको मतपत्र हुन्छ, नयाँ मतदाताले कहिले तस्वीरसहितको मतदाता परिचयपत्र पाइन्छ, आचारसंहिता उल्लंघनका घटना भएकालगायत जिज्ञासा धेरै आउने गरेको कम्प्युटर अधिकृत क्षेत्रीले बताए । यस्तै मतदाता परिचयपत्र हराएको अब कसरी मतदान गर्ने, बिदा कहिले हुन्छ, कर्मचारीले समानुपातिक मतदान गर्न पाउँछन कि पाउँदैन जस्ता जिज्ञासा पनि राख्ने गरेका छन् । मतदाताले १६६००१४४२२२ नम्बरको फोनमार्फत कल सेन्टरमा जिज्ञासा राख्ने गरेका छन् । दैनिक चार वटा ठाउँबाट १० जना कर्मचारीले मतदाताले राखेका जिज्ञासा मेटाउने गर्दछन् । अहिलेसम्म कल सेन्टरमा करिब १० हजारले जिज्ञासा राखेको क्षेत्रीले बताए ।
मतदाताले फेसबुक, मोबाइल एपबाट पनि जिज्ञासा राख्ने गरेका छन् । कल सेन्टरमा सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट मतदाताले जिज्ञासा राख्ने गरेका छन् । बाहिरी जिल्लाका तर काठमाडौँमा बसोबास गर्नेले बढी निर्वाचनमा मतदानसम्बन्धी कुराको जिज्ञासा राख्ने गरेको उनले बताए । क्षेत्रीले छ वटा ठाउँबाट सञ्चालन गर्न सक्ने भएपनि अहिले त्यति चाप नभएकाले चार वटा ठाउँबाट मात्र सञ्चालन भइरहेको बताए । “मतदाताले कल सेन्टरमा धेरै प्रश्न सोध्न थालेपछि हामी थप दुई ठाउँबाट पनि यो सेवा सञ्चालन गर्न सक्छौं” –उनले भने । –रासस
Previous Article२०७४ मंसिर ९ गते शनिबारको राशिफल
Next Article यस्तो छ नेपालमा फुटवलको इतिहास