तारानाथ आचार्य/बागलुङ, ९ मंसिर– मौन समय सुरु भएर दलहरुका कार्यक्रम रोकिएको भएपनि जिल्लाका दुरदराजसम्म चुनावी रौनकता बढेको छ । आईतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि कर्मचारी र सुरक्षाकर्मी सबै मदतान केन्द्रमा पुगेपछि चुनावी रौनकता चुलिएको हो ।
गाउँ–गाउँका केन्द्रमा पुगेका कर्मचारीहरुले बिहिबारदेखी नै काम सुरु गरेका छन् । बिहिबार निर्वाचनसँग सम्बन्धित सूचनाहरु प्रकाशन गरेका उनीहरु शुक्रबार दलहरु सँगको छलफल तथा बुथ निर्माणको काममा जुटेका छन् ।
शुक्रबार बिहान सबै मतदान केन्द्रहरुमा सर्बदलिय बैठक बसी थप काम अगाडि बढाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदानका लागि केन्द्रमा आवस्यक पर्ने सबैखालका संरचनाको निर्माणको काम समेत शुक्रबारदेखी नै सुरु भएको प्रमुख निर्वाचन अधिकृत प्रकासप्रसाद पण्डितले जानकारी दिए । निर्वाचन आयोगको कार्यक्रम अनुसार, शुक्रबादेखि नै सबै मतदान केन्द्रहरुबाट मतदाता परिचय पत्र बितरणको काम समेत सुरु भएको छ । विगतमा छुटेका र नयाँ नामावलीमा नाम समाबेश भएकाहरुलाई परिचय पत्र बितरणको काम सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी बिकाशचन्द्र शर्माले बताए । बागलुङमा पुराना २० हजार र नयाँ नामावलीमा समाबेश भएका १० हजार ४ सय मतदातालाई शुक्रबार र शनिवार गरी दुई दिन परिचय पत्र बितरण गरिने शर्माले बताए । मतदाताहरुले सम्बन्धित मतदान केन्द्रबाट नै परिचय पत्र लिनुपर्ने भएकाले आफ्नो मतदान केन्द्रमा गएर परिचय पत्र लिन शर्माले मतदाताहरुलाई आग्रह समेत गरेका छन् । निर्वाचनका कुनैपनि कार्यक्रम प्रभावित नहुने गरी काम भैरहेको उनको भनाई थियो । यस्तै निर्वाचनलाई लक्षित गरेर सुरक्षा निकायले पनि आफ्नो उपस्थिती बलियो बनाएको जनाएको छ ।
भौगोलिक बिकटता, मौसम र निर्वाचन बिरोधी गतिबिधि लगायतको आधारमा संबेदनशिल मानिएका मतदान केन्द्रहरुमा समेत सुरक्षाको प्रत्याभूती बलियो बनाईएको प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले बताए । जिल्लाका १ सय ३ मतदान केन्द्रमध्ये ४० प्रतिशत मतदान केन्द्रहरु संबेदनशिल मानिएको भएपनि त्यहाँ कुनै समस्या नरहेको थापाको भनाई छ । उनका अनुसार, जिल्लाभरको सुरक्षामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गरी ३ हजार ५ सयभन्दा धेरै सुरक्षाकर्मी परिचालन भएको थापाले बताए । ‘हामीले नागरिकलाई ढुक्क भएर मतदान गर्ने वातावरण बनाएका छौं’ थापाले भने ‘शान्तिपुर्ण वातावरणमा निर्वाचन सम्पन्न हुन्छ ।’ उनका अनुसार, निर्वाचन गतिबिधिमा संलग्नहरुलाई तत्काल नियन्त्रणमा लिएर कार्वाही थालिने भएको छ । गृह मन्त्रालयले निर्वाचनको गतिबिधिलाई प्रभावित गर्ने काम गर्ने जोसुकैलाई पक्राउ गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘माथिबाट पक्राउ गरी कारवाई चलाउनु भन्ने निर्देशन आएको छ’ प्रमुख जिल्ला अधिकारी थापाले भने ‘सुरक्षा ब्यवस्थालाई थप कडा बनाईएको छ ।’ उनले बिगतमा निर्वाचन गतिबिधिमा अबरोध गर्नेहरुको समेत खोजी भैरहेको बताए ।
Previous Article९ मंसिर २०७४, ढोरपाटन दैनिक
Next Article २०७४ मंसिर ९ गते शनिबारको राशिफल