बागलुङ ८ मंसिर– जिल्लाको निसिखोलामा कांग्रेस कार्यकर्ताको कुटाइबाट बिहिवार राती माओवादी कार्यकर्ता घाइते भएका छन् । घाईते मानबहादुर दमाईले कांग्रेस कार्यकर्ताले आक्रमण गरेको आरोप लगाए । कांग्रेसका कार्यकर्ताहरुले घरमै बसिरहेका दमाईलाई घरमा झण्डा राखेको निहुँमा कुटपिट गरेको आफन्तले बताए ।
स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा सदस्य खालबहादुर घर्ती सहितको समूहले कुटपिट गरेको दमाईले बताए । ‘घरमै बसेको थिए, झण्डा किन राखेको भन्दै कांग्रेस कार्यकर्ताले एक्कासी कुटपिट गरे’ दमाईले भने, ‘मलाई प्रचारमा हिडेको कुरामा पनि कुटपिट गरेका हुन् ।’ कुटाईबाट उनको खुट्टा, ढाड र टाउकोमा चोट लागेको छ ।
घटनास्थल पुगेको प्रहरीको टोलीले दमाईलाई उपचारका लागि बुर्तिवाङ पठाएका थिए । घाईतेको बुर्तिवाङ स्थित प्राथमिक स्वास्थ्यकेन्द्रमा उपचार भैरहेको प्रहरी नायव उपरिक्षक बिश्वराज सिंह थापाले बताए । सामान्य घटना भएकाले दुबै पक्षलाइ राखेर छलफल पछि मेलमिलाप गराइएको थापाले बताए । घाईते भेट्न बामगठबन्धनका सझा उमेदवार देबेन्द्र पौडेल स्वास्थ्य केन्द्र पुगेको त्यहाँबाट बबीता शर्माले जानकारी दिईन ।