बागलुङ, ७ मंसिर– निर्वाचन आयोगका आयुक्त इश्वरी प्रसाद पौडेलले आम नागरिकलाई ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् । बुधवार बागलुङका केही संवेदनशिल मानिएका मतदान केन्द्रको स्थलगत अनुगमन गरेर जिल्ला सुरक्षा बैठकमा आएका पौडेलले पत्रकार सम्मेलन गरेर आम जनतालाई सकारात्मक सन्देश दिने काम गर्न पत्रकारलाई आग्रह पनि गरे ।
उनले अनावश्यक रुपमा आउने हल्ला मेटाउने र सकारात्मक सन्देश दिने काम पत्रकार र संचारमाध्यमले गरेमा निर्वाचन सहज बन्ने धारणा राखे । ‘यस अघिका निर्वाचनमा पनि संचारमाध्यमले धेरै साथ दिएका थिए, यो पटक पनि सहयोग मिल्नेछ’ पौडेलले भने, ‘छिटफुट रुपमा भएका केही बिष्फोटका घटनालाई चिर्न सुरक्षालाई निर्देशन दिएका छौं ।’ पौडेलले संसारमै पहिलो पटक एकैपटक हुन लागेको संघिय र प्रदेशसभा निर्वाचनलाई सहज रुपमा सम्पन्न गर्ने जिम्मेवारी नेपालीको काँधमा आएको पनि बताए । उनले उमेदवार तथा राजनीतिक दलका कार्यक्रम लक्षित बम बिष्फोटका गतिविधिमा संलग्नलाई कारवाही गर्न प्रशासनलाई निर्देशन दिएको पनि बताए ।
सुरक्षा थ्रेट बढेपछि जिल्लाका ४२ वटा मतदान केन्द्रलाई उच्च सुरक्षा संवेदनशिलतामा राखिएको प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले बताए । जिल्ला सुरक्षा समितिले संवेदनशिल स्थलको पहिचान गरेपछि ती स्थानमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी र नेपाली सेनाको बल पनि पठाईसकेको थापाले बताए ।
जिल्लामा १ सय ३ वटा मतदान स्थल मार्फत १ सय ९९ केन्द्रमा मतदान हुने व्यवस्था छ । भौगोलिक कठिनाई र निर्वाचन बिरोधी अभियानमा लागेको बिप्लब समूहको गतिविधिलाई समेत हेरेर ती स्थानको पहिचान गरिएको थापाको भनाई छ । थापाले बिष्फोटका घटनाका दोषी पक्राउ पर्ने दावी समेत गरेका छन् । मतदान केन्द्र तोकेको दिन देखिनै अधिकांस स्थानमा प्रशासनले सुरक्षा गतिविधि बढाइएको समेत उनले बताए । पौडेलले जिल्लाको सुरक्षा तयारी बारे छलफल गरेपछि पहिलो चरणमा ८० प्रतिशत मत खस्ने दावी गरेका छन् । ‘आम मतदाता ढुक्क भएर मत खसाल्न जानुहोला, कसैले पनि बाधा अवरोध गर्न सक्दैन’ पौडेलले भने, ‘अनावस्यक रुपमा आएका हल्ला समेत चिरेर सबै नागरिकलाई मत खसाल्न पाउने वातावरण आयोगले गर्नेछ ।’ बागलुङ र म्याग्दीलाई सुरक्षाको चुनौतीको रुपमा लिएको पनि पौडेलको भनाई छ । नागरिकको उच्च मनोबल कायम हुने वातावरण बनाउन पौडेलले जिल्लाका सुरक्षा प्रमुखलाई निर्देशन पनि दिए । राजनीतिक दलहरुमा पनि सौहार्दता प्रकट गरेर जनतालाई मतदान केन्द्र पु¥याउने काम गर्न आग्रह गरेका थिए । बुधवारै पौडेलले जिल्लाका राजनीतिक दलका प्रतिनिधिसँग भेटघाट गरेका छन् ।
उक्त अवसरमा कांग्रेस सचिव नवराज पौडेल, एमाले प्रतिनिधि गोविन्द गौतम, माओवादीका यज्ञबल्लव शर्मा, राष्ट्रिय जनमोर्चाका थानेश्वर सुवेदी, राप्रपा राष्ट्रवादीका शैलेन्द्र श्रेष्ठ, नया शक्तिका चित्र सापकोटा, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, पत्रकार प्रकाश बराल, किरण आचार्य, तारानाथ आचार्य लगायतले जिल्लाको सुरक्षा चुनौती, आयोग र प्रशासनले गरेका कामको प्रगती र निर्वाचनका बेला हुन सक्ने अन्य क्रियाकलापमा प्रशासन, निर्वाचन अधिकारीहरु समेतको सर्तकताका बारेमा बोलेका थिए । साथै पौडेलले सुरक्षा प्रमुखहरुको गोप्य बैठक पनि राखेका छन् । उनले केही दिन अघि जिल्लामा भएका बिष्फोटका घटना र सोमबार राज्यमन्त्री चम्पादेवी खड्काको घरमा भएको बिष्फोटपछि सिर्जना भएका बिषयमा छलफल गरेको बताइएको छ । उक्त घटना लगत्तै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङको सरुवा समेत भएको जनाइएको छ ।
आयुक्त पौडेल भन्छन –बागलुङमा सुरक्षा ब्यवस्था सन्तोषजनक छ ।
Previous Article२०७४ मंसिर ७ गते बिहिबारको राशिफल
Next Article ७ मंसिर २०७४, ढोरपाटन दैनिक