बागलुङ, ६ मंसीर – बागलुङमा यस वर्ष पैयुँपाटा र ग्वालीचौरमा प्राथमिक स्वास्थ्य अस्पताल सहित ११ वटा नयाँ स्वास्थ्य चौकीका भवन निर्माण हुने भएका छन । शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका डिभिजन प्रमुख प्रकाश अर्यालका अनुसार जिल्लाको भिमगिठे, दगातुन्डाँडा, मालिका, पैयुँथन्थाप, भिमपोखरा, अर्गल, अमुभुमी, दर्लिङ र नारायणस्थानमा स्वास्थ्य संस्थाको नयाँ भवन निर्माण हुनेछन । त्यसैगरी पैयुँपाटा र ग्वालीचौरमा न्युनतम १५ शैयाको प्राथमिक अस्पताल निर्माण हुनेछन ।
अघिल्लो आर्थिक वर्ष र यस आर्थिक वर्षमा गरी जिल्लामा ३७ वटा नयाँ स्वास्थ्य संस्थाको भवन निर्माण प्रक्रिया अगाडि बढि रहेका छन । मन्त्रालयले सार्वजनिक गरेको सुचि अनुसार चालु आर्थिक वर्षमा भवन निर्माणका लागि छनोटमा परेका संस्थाका भवन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय अन्तर्गत निर्माण हुनेछन् । मन्त्रालयले अस्पताल, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र सहित विभिन्न स्थानमा डाक्टर र नर्सको लागि आवास गृह समेत निर्माणको थालनी गरेको छ । नयाँ बन्न लागेका सबै स्वास्थ्य संस्थाका भवन एकिकृत डिजाईनको भवन निर्माण हुनेछन ।
यस वर्ष टाईप ‘सि’ र टाईप डि अन्र्तगतका स्वास्थ्य संस्था निर्माण हुने भएका छन । हाल भवन निर्माणका लागि अधिकाशं स्वास्थ्य संस्थामा आवश्यक जग्गा व्यवस्थापन भै सकेको र केहीमा व्यवस्थापन हुन बाकी रहेता पनि त्यसलाई छिटैनै व्यस्थापन हुने जिल्ला जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले बताए ।
गतवर्ष पनि जिल्लामा २६ वटा स्वास्थ्य संस्थामा नयाँ भवन निर्माणको लागि कार्यक्रम परेको डिभिजन प्रमुख प्रकाश अर्यालले बताए । अर्यालका अनुसार हटिया, सिगाना, बोङगादोभान र लेखानी गरी ४ वटा भवन निर्माणको अन्तिम चरणमा रहेका छन । त्यस्तै अर्जेवा, हिल, पाण्डवखानी, बोबाङ, भकुण्डे, अमलाचौर, रायडाँडा र दमेक गरी ८ वटामा निर्माण कार्य भै रहेको छ । हिलमा भने केही प्राविधिक समस्याका कारण केही समयलाई रोकिएको डिभिजन प्रमुख अर्याले बताए ।
पश्चिम देविस्थान र खुङगामा जग्गा व्यवस्थापन हुन नसकेको कारण भने कुनै प्रक्रियामा अगाडि बढन सकेको छैन । त्यसैगरी ताराखोला, निसी राजकुट र जलजला गरी ४ वटा स्वास्थ्य संस्थाको भने टेण्डर प्रक्रिया अगाडि बढेको सम्झौता हुन मात्र बाँकी रहेको छ ।
४ वटा स्वास्थ्य संस्थाको टेण्डर प्रक्रियामा रहेको छ । अमरभुमी, सुखौरा तित्याङ छिस्ती र पाला गरी ५ वटामा सबै प्रक्रिया अगाडि बढी काम सुरु गर्ने लागेको कार्यालयले जनाएको छ । त्यसैगरी हुग्दिशिर स्वास्थ्य चौकीको काम सम्पन्न भनी पत्र आई सके पनि हस्तान्तरण भने हुन सकेको छैन ।
बागलुङमा स्वास्थ्य संस्थाका भवन मात्र नभएर स्वास्थ्यकर्मिका लागि आवास गृह पनि निर्माण प्रक्रियामा रहेका छन । कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्र, गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा १२ परिवारको आवस गृह निर्माण प्रक्रियामा रहेको छ । बुर्तिबाङ अस्पताल बुर्तिबाङमा बि व्लक को काम पनि तिब्र पारिएको शहरी विकास तथा भवन डिभिजन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार धौलागिरी अंचल अस्पतालको बि र सि ब्लक ठेकेदारले तोकीएको समयमा सम्पन्न गर्न नसकेको कारण कारबाहीको प्रक्रियामा अगाडि बढेको जनाईएको छ । स्वास्थ संस्थाको भवन निर्माणका लागि टाईप ए को लागि न्युनतम ४ रोपनी, टाईप बि को लागि २ रोपनी र टाईप डि र सि को लागि डेढ रोपनी जग्गा आवश्यक पर्ने डिभिजन प्रमुख अर्यालले बताए । स्वास्थ्य मन्त्रालयले यस वर्षका लागि देशभरका ३ सय ४५ वटा नयाँ स्वास्थ्यका भवन निमौणका लागी छनौट गरेको छ ।