बागलुङ, ६ मंसीर – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा निर्वाचन क्षेत्र नम्बर २ मा वामगठबन्धनबाट प्रतिनिधि सभाका साझा उम्मेदवार देवेन्द्र पौडेलले वामपन्थीहरुले लोकतान्त्रिक प्रणालीबाट नै देशलाई नयाँ युगमा लैजाने बताएका छन् ।
वामगठबन्धनले ताराखोला गाउँपालिकाको ताराखोलामा आयोजना गरेको चुनावी सभामा बोल्दै पौडेलले पचासौँ वर्ष काङ्ग्रेसको अधिनायकवाद ब्योहोरेका जनताले आसन्न निर्वाचनमा समृद्धि र विकासको एजेन्डा बोकेको वामगठबन्धनलाइ पूर्ण बहुमत दिएर देशलाई नयाँ युगमा लैजाने अभियानमा साथ दिने दाबी गरेका हुन् ।
देशमा अस्थिरतामा रहिरहँदा विकास र समृद्धिका एजेन्डा अघि बढ्न नसकेको भन्दै अब वामपन्थीलाई जनताले पूर्ण बहुमत दिएर पाँच वर्षसम्म सरकार चलाउने वातावरण बनाउन आग्रह समेत गरे ।
उनले भने, ‘वामपन्थी एक हुँदा जनता खुशी छ्न, त्यो खुशी अब १० गते हामीलार्ई मतदान गरेर प्रमाणित गर्नुहुनेछ भन्ने हामी ढुक्क छौँ ।’ वामगठबन्धनबाट काङ्ग्रेस आत्तिएको भन्दै स्वच्छ प्रतिस्पर्धाबाट निर्वाचनमा होमिन आग्रह गरे । कार्यक्रममा बोल्दै पौडेलले आफ्नो २ नम्बर निर्वाचन क्षेत्रलार्इ देशकै नमुना र विकसित निर्वाचन क्षेत्रको रूपमा बनाउने प्रतिबद्धता व्यक्त गरे ।