सन्तोष थापा, पर्वत, ४ असोज – लामो समयको संघर्षपछि आजकै मितिमा २०७२ सालमा संघीयता सहितको नेपालको नयाँ संविधान घोषणा भयो । संविधान घोषणाका बेला शहीद परिवारहरु शहीदको रगतको कदर भएको महसुस गरिरहेका थिए तर पर्वतमा त्यही संविधानको खुशीयालीमा संविधान दिवस मनाईरहँदा तिनै शहीद परिवारको बेवास्ता गरिएको छ ।
२०६२/०६३ को जनआन्दोलनमा धौलागिरिका पर्वत लगायत बागलुङ, म्याग्दी र मुस्ताङमध्ये पर्वतबाट शाहदात प्राप्त गरेका एक मात्र शहीद गोविन्दनाथ शर्माको परिवारलाई समारोहका बारेमा जानकारी नदिएपछि परिवार समेत असन्तुष्ट बनेको छ । ‘संविधान बनेपछि आन्दोलनमा बगेको रगतको कदर भयो भन्ने लागेको थियो’ शहीद शर्माका भाई देव शर्माले भने ‘अहिले विस्तारै शहीदको रगतको योगदान विर्सिएर परिवारलाई समेत वास्ता गर्न छाडे ।’
पर्वतमा क्रियाशिल विभिन्न नागरिकसमाजका अगुवाहरुले समेत शहीद परिवारलाई खबर नगर्नु आयोजकको कमजोरी भएको बताएका थिए । ‘शहीद परिवारलाई औचारिक रुपमा नै खबर हुनुपथ्र्यो’ नेपाल पत्रकार महासंघ पर्वतका सचिव छविलाल तिवारीले भने ‘शहीद परिवारकै बेवास्ता हुनु दुःखद कुरा हो ।’
सरकारले तीन दिन भब्य रुपमा दिवस मनाउने निर्णयसहित सोमबार जिल्ला विकास समितिको कार्यालयमा आयोजकले मुल समारोहको आयोजना गरेको थियो । यसरी आयोजित ¥याली र सभामा कर्मचारी, विद्यार्थी, सञ्चारकर्मी, सुरक्षाकर्मी बाहेक अन्य कसैको उपस्थिति थिएन । अन्य कार्यक्रममा डेढ दर्जन दलका प्रमुख सहभागी भएपनि यो विशेष दिनमा मुस्किलले आधा दर्जन दलले एक/एक जना प्रतिनिधि पठाएका थिए ।
राजनीतिक दलहरुको उपस्थिति न्युन रहँदा कर्मचारीहरुले समेत असन्तुष्ट व्यक्त गरेका थिए । ‘नेतालाई त राजनीति गर्नै ठिक्क छ, दिवस मनाउने त हामी कर्मचारीहरु मात्रै त रहेछ नि ?’ एक कार्यालयका प्रमुखले भने ।
अर्कोतर्फ दलित, जनजाति, महिला समेत दिवस मनाउन खबर नगरेकोमा आयोजकको आलोचना भएको छ । ‘एउटा कोठामा बसेर दिवस मनाउनु ठुलो गल्ती हो’ नेपाल आदिबासी जनजाति महासंघ पर्वतका कार्यबाहक अध्यक्ष राजन गुरुङले भने ‘आयोजकले जनजातिलाई कार्यक्रममा खबर नगरेकोमा दुःख लागेको छ ।’ उनले कहिल्यैपनि राष्ट्रिय दिवसमा पर्वतमा आयोजकले सबैलाई समेट्न नसकेको बताए ।