पहिलो चरणको निर्वाचन नेपालीको घरदैलोमा आइसकेको छ । यतिबेला दलहरुले प्रचारप्रसारको अन्तिम तयारी गरिरहेका छन् भने राज्यको तर्फबाट चुनाव गराउन कर्मचारी खटाइसकेको छ । मतदान अधिकृत, सुरक्षा अधिकारी, अन्य कर्मचारी समेतले निर्वाचन सामाग्री जिम्मा लिएर मतदान स्थलको प्रस्थानको तयारी गरिरहेका छन् । यो तयारीले अव नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुने निश्चित भएको देखिएको छ । त्यस्तै संविधानसभाबाट बनेको संविधानको पूर्ण कार्यान्वयनको अवस्था पनि शुरु भएको छ ।
यसरी राज्यको एक व्यवस्था बाट अर्को व्यवस्था परिवर्तन भएपछिको संस्थागत गर्ने महत्वपूर्ण निर्वाचनमा उमेदवार लक्षित केही बिष्फोटका घटना पनि भैरहेका छन् । निर्वाचन बिरोधी गतिविधि गर्ने शक्तिका लागि यो आफ्नो उपस्थितिको उदाहरण हुन सक्छ । तर निर्वाचन सुरक्षाका लागि चुनौती पनि हो । अहिले सम्म अधिकांस घटना उमेदवारहरुमा केन्द्रीत रहनु, चुनावी प्रचारप्रसारको क्रममा भैरहेका छन् । अव निर्वाचनको सामाग्री, कर्मचारी र सुरक्षाकर्मीले निर्वाचनको अन्तिम तयारी गर्ने समय शुरु भएको छ । यस्तो समयमा भने त्यस्ता क्रियाकलाप हुन नदिनका लागि सुरक्षा चासो बढ्न जरुरी छ । किनकी कर्मचारी र सुरक्षाकर्मीले उच्च मनोबलका साथ काम गर्न नसकेको खण्डमा मनोवैज्ञानिक रुपमा पनि चुनावमा समस्या उत्पन्न हुन सक्छ ।
लोकतन्त्रको उच्चतम नमूना निर्वाचन भएकोले आम जनताले निर्भयपूर्वक मतदान गर्न पाउने अवसर सिर्जना हुन जरुरी छ । कुनै पनि प्रकारको डर, धाक, धम्की लगायतका समस्या भोग्ने अवस्था आउने भनेको निर्वाचनको स्वच्छतामा पनि प्रश्न चिन्ह आउनु हो । यदि यस्तो समस्या आएको नियोजित हो भने सुरक्षा निकाय गम्भिर हुन जरुरी छ । सामान्य र छिटफुट हो भने त्यसको प्रमाणित गर्ने जिम्मा पनि सुरक्षा निकायकै हो । नेपालमा सुरक्षका लागि सेना, सशष्त्र, प्रहरी र राष्ट्रिय अनुसन्धान समेत छ । विशेषगरी राष्ट्रिय अनुसन्धानको काम कुनैपनि हुन सक्ने संभावित घटना रोक्ने र प्रहरी लगायतको सुरक्षा टोलीलाई सघाउने हो । तर अहिलेको स्थितिमा कुनैपनि संकेत गरेर सुरक्षालाई सहयोग पुगे नपुगेको जनताले अनुभूति गर्न पाएका छैनन् । उनीहरुको कारण ठूला दुर्घटना रोकिएको पनि हुन सक्छ, त्यो स्पष्ट रुपमा बाहिर जानकारमा आएको छैन । यदि घटनापछिको रिर्पोटिङ मात्र हो भने राज्य नियन्त्रित सुरक्षा सूचना कमजोर भएको मानिन्छ । बरिष्ठ नेताहरुको सुरक्षा देखि रातको समयमा बम पड्कने अवस्था आउनुमा सुरक्षा संयन्त्रको सक्रियता नपुगेको स्पष्ट हुन्छ । तसर्थ निर्वाचन अवधिमा हुने सुरक्षा थ्रेटलाई विशेषगरी चासोको रुपमा हेरिनुपर्छ । निर्वाचनकै लागि मतदाता शिक्षा कार्यक्रममा पनि सामाग्री लुटिने, च्यातिने जस्ता घटना पनि भएका छन् । ती घटनामा कसैले जिम्मा पनि लिएको छैन । कुनै दल वा समूहले गरेको हो वा नितान्त अपराधिक क्रियाकलापको रुपमा भैरहेका छन् भन्ने यकिन सत्य पनि बाहिर आउन जरुरी छ । निर्वाचनकै कारण आइपरेका अन्य समस्यालाई पनि समयमै चिरेर आम जनतालाई निर्धक्क भएर मतदान केन्द्रमा आएर मतदान गर्ने र सहज रुपमा घर फर्कन पाउने व्यवस्था मिलाउनु अहिलेको आवस्यकता हो ।
Previous Articleमत किन्न खोजे प्रतिकार गर्न बाम उम्मेदवारहरुको आग्रह
Next Article २०७४ मंसिर ६ गते बुधबारको राशिफल