काठमाडौं, ५ मंसिर – सिरियाली राष्ट्रपति बसर अल असदले आफ्नो देशलाई ‘बचाएकोमा’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई धन्यवाद दिएका छन्। चार घण्टाका लागि रुस पुगेका अुसदले सोची सहरमा पुटिनलाई भेटेर यस्तो बताएका हुन्। भेटमा पुटिनले सिरियामा आफ्नो देशको सैनिक अभियान सम्पन्न हुन थालेको बताउँदै अझै पनि ‘लामो बाटो तय गर्न बाँकी भएको’ बताए।
सिरियाली राष्ट्रपतिको अघोषित रुस भ्रमणलाई महत्वका साथ हेरिएको छ। यसअघि सन २०१५ मा दुई राष्ट्र प्रमुखबीच भेट भएको थियो। दुई वर्ष अघिदेखि रुसले सिरियामा असद सरकारको समर्थनमा त्यहाँ सैन्य कार्वाही थालेको थियो।
सिरियामा रुसको दुई वर्षे सैनिक अभियानपछि त्यहाँ रुस अत्यन्त सफल भएको विश्लेषण गरिएको छ। रुसले सिरियामा इरान र टर्कीको सहकार्यमा आफ्नो अभियान जारी राखेको छ। यद्यपि पश्चिमा राष्ट्रहरुले सिरियामा रुसको भूमिकाको विरोध गर्दै आएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कतार संकट समाधान गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कतारी राजासँग आफूले त्रिपक्षीय वार्ता गर्न चाहेको बताएका छन्। एजेन्सी