बिनोद बिबश
प्रायःजसो निर्वाचनको मुखमा बाधा पु¥याउने खालका धेरै क्रियाकलापहरु हुन्छन् । सम्पूर्ण पक्षहरुको उचित मागहरु सम्बोधन नहुँदा निर्वाचन वहिष्कार गर्ने दलहरु पनि केही मात्रामा हुन्छन् । नेपालको सन्दर्भमा त झन् च्याउ उम्रिएजस्ता दलहरु प्रत्यक्ष देख्न सकिन्छ । पछिल्लो समयमा त गुट र उपगुट हुँदै फुटको कारणले दलहरुको संख्या धेरै नै भएको छ र सोहीअनुसार असन्तुष्टी पनि बढ्दै गइरहेको छ । वि.सं. २०६२÷०६३ को जनआन्दोलन पछि २०६४ सालमा संविधानसभाको निर्वाचन सम्पन्न भयो । जनताको छोराले देशको बागडोर सम्हाल्ने हुँदा निरङ्कुशता अन्त्य भएर स्थिर सरकारको सपना बोकेका जनताहरु पहिलो संविधानसभाको निर्वाचनले सफलता नपाउँदा निराश बन्न पुगे । त्यसपछि दोस्रो संविधानसभाको निर्वाचन भयो र बल्लतल्ल संविधान त जारी भयो तर यो बीचमा देशका शक्ति भनिएका पार्टीहरुको सिटमा धेरै नै परिवर्तन भएको थियो, जसका कारण संविधान सर्वस्वीकार्य बनेन । महिला, दलित, अपाङ्ग, मधेसी, मुस्लीम, जनजातीहरु आदिको अधिकारलाई मध्यनजर गरेर जारी गरिएको भनिएको संविधानबाट विभिन्न पार्टीहरु रुष्ट बने ।
साथसाथै असन्तुष्ट रहे युरोप, अमेरिका र भारत पनि । संविधानलाई परिमार्जन गर्दै जाने उद्घोष गरिरहेका दलहरुले सम्पूर्ण पार्टीहरुलाई समेटेर लैजान भने सकेनन् । स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पनि केही तत्वहरु बाहिर रहे । दश वर्षे सशत्र जनयुद्ध हुँदै वि.सं २०६३ सालको विस्तृत शान्ति सम्झौता बाट शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा माओवादीमा गुट र उपगुट हुँदै पार्टी फुटेर तीन टुक्रा बन्यो । संविधानसभाको निर्वाचनमा पहिलो शक्ति बनेर उदाएको तत्कालीन नेकपा माओवादीले उठाएका धेरै मुद्दाहरु केवल मुद्दामा नै सीमित बन्न पुगे, संस्थागत हुन सकेनन् । यही असन्तुष्टिको कारणले गर्दा मधेस जहिल्यै अशान्त बन्न पुग्यो र पहाडमा पनि गरिव, दलित आदिहरुको स्थिति जस्ताको त्यस्तै रहन गयो । नेपाल अहिले पनि संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । वर्तमान अवस्थामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट देशमा भइरहेको अस्थिरता कम गर्ने प्रयत्न भइरहेको छ । तर आसन्न निर्वाचनको लागि उमेदवारी दर्ता गरिसकेपछि उमेदवारहरुलाई लक्षित गरेर श्रृङ्खलावद्ध रुपमा जुन वम आक्रमण भइहेका छन्, यसले देशको शान्ति सुरक्षामा कमजोरी रहेको कुरा सजिलै आँकलन हुन्छ ।
कस्ता घटनाहरु भइरहेका छन् ?
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रमुख थ्रेट भनेको नेकपा माओवादीबाट अलग भएर गएको नेत्रविक्रम चन्द विप्लवको समूह हो । त्यसैमाथि पनि तराईका दलहरु र विभिन्न गुन्डा समूहहरु पनि सुरक्षाका प्रमुख कारणहरु हुन् । निर्वाचनको मुखमा भएका श्रङ्खलावद्ध आक्रमणहरु यस्ता छन् ः गत कार्तिक २४ गते वाम गठबन्धनबाट प्रतिनिधिसभाको लागि उमेदवार बनेका पूर्व गृहमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरेर बम प्रहार गरियो । त्यस्तै कार्तिक २५ मा रोल्पाबाट प्रतिनिधिसभा उमेदवार तथा पूर्वअर्थमन्त्री वर्षमान पुनमाथि वम आक्रमण भयो । त्यसको भोलिपल्टै फेरी पनि वाम गठबन्धनका तर्फबाट उमेदवार बनेका पुनमाथि दोस्रोपटक आक्रमण भयो । दैनिकजसो पूर्वमन्त्रीहरुमाथि भएका आक्रमणहरु रोक्न सरकार निरीह बन्यो । फलस्वरुप, कार्तिक २८ गते भोजपुरका प्रतिनिधिसभा सदस्यका उमेदवार तथा पूर्वसञ्चारमन्त्री शेरधन राईमाथि पनि बम प्रहार भयो । उमेदवारहरु चढेको गाडीलाई लक्षित गरी बम आक्रमण गर्ने शिलशिला रोकिएन । कार्तिक २८ गते संखुभासभामा वाम गठबन्धनका तर्फबाट उमेदवार बनेका राजेन्द्र गौतम र पूर्णप्रसाद राईलाई लक्षित गरी बम प्रहार भयो । वाम गठबन्धनबाट उमेदवार बनेकाहरु प्रति मात्र लक्षित गरी दिनहुँजसो ष्अस्आक्रमण भइरहेकोले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेपाली काँग्रेस र विप्लवको साँठगाँठमा हमला भइरहेको हुनसक्नेमा सशंकित बन्नु पनि स्वभाविक नै थियो । कार्तिक ३० गते भने नेपाली काँग्रेसका तर्फबाट उमेदवार बनेका अमरसिंह पुनमाथि रोल्पामा आक्रमण भयो । सोही दिन माओवादी केन्द्रका प्रतिनिधिसभा उमेदवार नारायणकाजी श्रेष्ठलाई पनि लक्षित गरी गोरखामा वम आक्रमण भयो । त्यस्तै नुवाकोटमा मङ्सिर ०१ गते रामशरण महतलाई लक्षित गरेर अर्काे वम आक्रमण भयो । लगत्तै ०२ गते नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उमेदवार रामचन्द्र पौडेललाई लक्षित गरेर प्रेसरकुकर बम प्रहार भयो । निरन्तर बम आक्रमणहरु भइरहे पनि सरकार र निर्वाचन आयोगले देखाएको चासो र लिइएका कदमहरुको सुस्तताले गर्दा निर्वाचनको मुखैमा अझै ठूला आक्रमणहरु हुने अनुमान गर्न सकिन्छ ।
किन हुन्छ आक्रमण ?
नेपालमा विभिन्न पृष्ठभूमिबाट आएका धेरै दलहरु छन् । कुनै दलहरु विभिन्न आन्दोलनका उपज हुन् भने कुनै सशस्त्र विद्रोह तथा युद्धहरुका परिणाम हुन् । देश नाजुक स्थितिबाट गुज्रिरहेको समयमा साना दलहरु पनि राजनीतिमा आफ्नो सशक्त उपस्थिति देखाउन चाहान्छन् । त्यसकारण, वर्तमान समयमा चुनाव विथोलिए आफ्नो बलियो उपस्थितिले सबैलाई पराजित गरेको आभाष असुन्तुष्ट दलहरुलाई हुने भएकोले आक्रमणका घटनाहरु प्रशस्त भएका हुन् । जुनसुकै क्षेत्रमा पनि दुईवटा प्रमुख दलहरु हुन्छन्, जसले जित्ने सम्भावना बोकेका हुन्छन् । आफ्नो प्रतिस्पर्धीलाई धम्काउन सके वा केही डर देखाउन सके चुनावी कार्यक्रमहरु प्रभावित हुने भएकोले विभिन्न वहानामा उमेदवारलाई लक्षित गरेर आक्रमणहरु भइरहेका हुन्छन् । आसन्न निर्वाचनमा पनि आफ्नो प्रभाव छोड्नको लागि विभिन्न ठाउँहरुमा विभिन्न समूहहरुले बम आक्रमण गरिरहेका छन् ।
कसले गरिरहेको छ आक्रमण ?
नेकपा माओवादी केन्द्रबाट अलग्गिएको विप्लव समूहले घोषित रुपमा नै आसन्न निर्वाचन स्थगित गर्न माग गरेको थियो । धेरै बाधा र व्यवधानहरु पार गर्दै भएपनि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने निश्चित भयो । यस्तो अवस्थामा उनीहरु निर्वाचनलाई रोक्नको लागि जुनसुकै घटना घटाउन पनि पछि परेका छैनन् । निर्वाचनको उमेदवारी दर्ता भएपछि लगभग दिनहुँजसो बम विस्फोटका घटनाहरु भइरहेका छन् तर आक्रमणको जिम्मा विप्लव समूहले लिएको छैन । यस्तो अवस्थामा कसले बम विष्फोटन गराइरहेको छ ? सरकारले ? वाम गठबन्धनले ? विप्लव समूहले ? वा अन्य कुनै अदृश्य शक्तिले ? यस बारेमा नेपाल सरकार पनि बेखबर छ ।
किन फितलो छ शान्ति व्यवस्था ?
केही समय अगाडि भएको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो चरणको स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरे । लगत्तै नेकपा माओवादी केन्द्रको समर्थनमा बनेको नेपाली काँग्रेस नेतृत्वको सरकारले पनि दोस्रो चरणको स्थानीय तह निर्वाचन अपेक्षाभन्दा शान्तिपूर्ण रुपमा सम्पन्न गर्याे । त्यसको केही समयपछि नेपाली राजनीतिमा आकस्मिक रुपमा तरङ्ग पैदा गर्ने गरी बनेको बाम गठबन्धनका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री लगायत माओवादी केन्द्रका सबै मन्त्रीहरुलाई विना विभागीय बनाइदिए । स्थानीय चुनाव शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गरेको गृह प्रशासनमा मन्त्रीदेखि तल्लो तहका कर्मचारीहरु सम्म हेरफेर भए । यसले गर्दा निर्वाचनको सुरक्षाका लागि कोरिएको खाका कसैसँग पनि छैन, जसले चुनावको शान्ति व्यवस्थामा लापरवाही दृष्टान्त प्रस्तुत गरिरहेको छ ।
के गर्नुपर्छ सरकारले ?
चुनावमा पराजित हुने आशंका भएका कारण सरकारले विप्लवसँग मिलेर वम विष्फोटन र उमेदवारमाथि आक्रमण गरेको आरोप वाम गठबन्धनका दलहरुले लगाइरहेका छन् । यदि सरकार साँच्चै नै सुरक्षा व्यवस्थाप्रति गम्भिर छ भने विप्लव र सोही समूहका नेताहरुलाई समातेर सोधपुछ गर्नुपर्छ । दिनहुँ उमेदवारहरुमाथि आक्रमण हुनु र आम सर्वसाधारणहरु घाइते हुनुले सरकारको नालायकीपन र कमजोरीपन दर्शाइरहेको छ । शीर्ष नेताहरुमाथि ज्यान लिने गरी बम आक्रमणको प्रयास हुँदा पनि मुखदर्शक बनिरहेको सरकारले आक्रमणकारीहरु लाई पक्राउ गरेर फौजदारी अभियोग अनुसारको कारवाही गर्न सक्नुपर्छ । हैन भने नेपाल सरकारको लाचारीपनको कारणले आक्रमणकारी प्रोत्साहित हुनेछन् र दिनप्रतिदिन यस्ता घटनाहरु बढिरहनेछन् । तुलनात्मक रुपमा पहाडमा भन्दा तराईमा चुनाव असुरक्षित हुने अपेक्षा गरिए पनि हालसम्मको स्थितिलाई नियाल्दा पहाडमा धेरै विध्वांशक गतिविधिहरु भइरहेका छन् । तराईमा सिके राउत, मधेसी पार्टी लगायत अन्य भूमिगत समूहहरु तथा पहाडमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह र त्यसैमाथि पहाडको भौगोलिक विकटता आसन्न निर्वाचनका प्रमुख सुरक्षा थ्रेटहरु हुन् । नेपाल सरकारले यी सुरक्षा थ्रेटहरु मध्यनजर गर्दै आम जनताहरुलाई सुरक्षाको प्रत्याभुति दिन सक्नुपर्छ ।