मुस्ताङ, ३ मंसिर– जिल्लाको थासाङ गाउँपालिका–१ टुकुचेमा १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माण भएको छ । आयोजनाबाट उत्पादित विद्युत् तिहार अघिनै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ । माउण्ट कैलाश इनर्जी प्रालिले आयोजनाको बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि भदौको पहिलो हप्तादेखि परीक्षण उत्पादन शुरु गरेको हो । असोज अन्तिममा केन्द्रीय लाइनमा बिजुली जोड्ने तयारी गरेको आयोजनाका साइट म्यानेजर सुदिप खड्काले बताए । आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रशारण लाइन र दुईवटा सव स्टेशन बनाएको छ ।
चार वर्षमा आयोजना निर्माण पूरा भएको हो । बेनी–जोमसोम सडकको टुकुचे खण्ड भन्दा करिब पाँच सय मिटरभित्र आयोजनाको विद्युतगृह छ । आयोजना निर्माणस्थल भौगोलिक रुपमा विकट क्षेत्रमा अवस्थित छ । रु. दुई अर्ब ५६ करोडको लागतमा आयोजना निर्माण भएको प्रबन्ध निर्देशक खड्काले जानकारी दिए । भौगोलिक विकटता, प्राविधिक पक्ष परिवर्तन हुनु, भूकम्प, नाकाबन्दीका कारण अनुमान गरेको भन्दा रु. १२ करोड लागत बढेको कम्पनीले जनाएको छ ।