पर्वत, २ मंसिर– भोलानाथ शर्मा, पेशाले कानून व्यवसायी । उनलाई राजनीतिकर्मीभन्दा कानुन व्यवसायीका रूपमा धेरै चिन्छन् । पछिल्लो समयमा धौलागिरिको कानून व्यवसायको क्षेत्रमा लिनैपर्ने नाममध्ये उनको पनि एक हो । उनी नेपाल सरकारले वर्गीकरण गरेको ‘ख’ वर्गको अपांगता भएको व्यक्ति हुन । तर अपांगता भए पनि उनमा अहिले संसद्मा पुग्ने अठोट लिएका छन् र उमेरले ४६ वर्ष अगाडि पर्वत चुवामा जन्मेका शर्मा नेकपा एमालेबाट प्रदेश नं ४ अन्तर्गत प्रदेशसभा सदस्यमा समानुपातिकतर्फका उम्मेदवार हुन ।
यसअघिका चुनावमा पनि नेकपा एमालेकै तर्फबाट पटक पटक समानुपातिकको सूचीमा सिफारिश भए पनि अन्तिम अवस्थामा नाम काटिँदै आएका भोलानाथ शर्मा अहिले भने आफ्नो व्यवसायलाई पन्छाउँदै वैशाखी टेक्दै मतदाताको घरदैलो धाउन थालेका छन् । नेपाल पत्रकार महासंघ पर्वतको संस्थापक अध्यक्ष रहेका शर्मा, बार इकाई पर्वतका वर्तमान अध्यक्षसमेत हुन । “पत्रकारिता र कानून व्यवसायमा रहँदा पार्टीको पक्षमा हिँडिन्, हिँड्नु पनि हुँदैनथ्यो”, उनले भने, “त्यही कारणले म पछि परेको हुँ अब सबै पेशा त्यागेर राजनीतिमा होमिएँ ।” उनले पर्वतबाट नै न्यू कालीगण्डकी दैनिक र अभिमत साप्ताहिक पत्रिका प्रकाशित गर्दै आएका छन् । कानूनमा समेत अपांगता भएका सक्षम व्यक्तिलाई स्थान दिने प्रावधान भएकाले आफ्नो बलियो दाबी रहेको उनले बताए ।
२५ वर्षभन्दा बढी कानून व्यवसाय र पत्रकारिता क्षेत्रमा सक्रिय रहेका शर्मा प्रदेशसभाअन्तर्गत समानुपातिक सूचीमा खस आर्यबाट सिफारिशमा भएका हुन । “लामो समय वैशाखीकै भरमा अदालत धाएँ, समाचार संकलनमा विभिन्न सभा, समारोह र कार्यक्रममा धाएँ”, उनले भने, “अब मैले यही वैशाखी टेकेरै संसद् चढ्ने अठोट लिएको छु । शर्माले बैशाखीकै भरमा घरदैलो समेत गर्दै आएका छन् ।