भरत बागलुङे
नेता दमाहा बजाईरहेको छ, दमाहाको कर्कश आवाजमा लोकतन्त्रको मुहुनीदार र सुमधुर लयवोध भइरहेको छ उसलाई । लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता र समाजवादको विचित्रलयमा मानिसहरु परम्परागत नृत्य गर्न मग्न देखिन्छन् । हिजो अस्ति चियापसल, चौराहा र चौतारीमा बसेर नेताले देश बिगारे, भ्रष्टाचार बढ्यो, मुलुकमा सुशासन भएन, महङ्गीले आकाश छोयो, मुलुकको अखण्डता, सद्भाव, भातृत्व सङ्कटग्रस्त बन्न पुग्यो र बेरोजगारीले आक्रान्त युवाहरु विदेश पलायन भए आदिइत्यादि भनेर नेता र राजनीतिको खुलेआम आवेगपूर्ण लवजमा विरोध गर्नेहरु ती सनातनमुल्य, मान्यताको मलामी हैन जन्ति जान किञ्चित लज्जावोध नगरी सुटबुट कसेर चुनावको दुन्दुभी मच्चाईरहेका देखिन्छन् ।
तिनलाई यसो गर्न भूईँमा विराजमान राजनैतिक मुखियाहरुले अभिषप्त तुल्याईरहेका छन् । बाहुवलीहरु, बेरोजगारीहरु, भोटर लिष्टमा नाम नभएका युवाहरु र चुनावमा सधैं भोट किन्ने र भोट बेच्नेहरु ती उत्ताल उत्सवमय देखिन्छन् । चेतनाको आलोकमा जीवनका दुःखद संवत्सर बदल्न जीवनको आहुती गरिरहेको नागरिक तीन छक परिरहेको छ । चुनावको घोषणादेखि उम्मेदवारी छनौटसम्मका नौटंकीहरु, चुनावमा छनौट भएको उम्मेदवारको उत्सवमय चुनावी दौडाहाको दृष्टिगोचर गर्दै नीति, विचार, दर्शन र आदर्शमाथीको तिनको बलात् बलात्कार हेर्नु उसको दैयन्दिनी बनिरहेको छ, विडम्बना ! झुटको खेती गरिरहने नेता, त्यसमा मलजल गरिहेको झोले कार्यकर्ता र बाँभैm रहेको छेउकुना खनजोत गर्न अभिषप्त भोटरती लोकतन्त्रको सुन्दरतालाई पैसाको चलखेलमा कुरुप तुल्याउन तनमन र धनले लागिपरिहेका देखिन्छन् । हरेक चुनावमा बदलिने राजनैतिक दलका घोषणा पत्र, भाषण र आश्वासन तीप्रति औंलो उठाउने शाहस भन्दा तिनको बचाउने गर्ने संस्कृतिले नेपाली राजनीतिलाई व्यापारीकरण गरिरहेको छ, र यसको ठेक्का गाउँ–गाउँ र टोल टोलमा विराजमान मुखियाहरुले लिईरहेका छन्, ती सत्यलाई भ्रष्टिकरण गरी लोकतन्त्रको लोरी गाएर लोकतन्त्रको तेजोबध गरिरहेका छन् । उम्मेदवारी छनौटमा अथाह अर्थको लेनादेनादेखि चुनावमा मतदाताहरुलाई खरिद विक्री गर्ने संस्कृतिले लोकतन्त्रको जरा मजुवुत हैन ढुसीले आक्रान्त बनाउँछ नेताले कहिल्यै सोचिरहेको छैन, उसलाई हरेक वैध अवैध कर्मद्वारा चुनावमा विजयको माला पहिरिनु छ बस् ।
यही कुरुप सोचलाई पूर्ण बनाउन उ अथाह पैसाको खेल खेलिरहेको हुन्छ, बाहुबलीहरु हावामा मुठ्ठी उठाएर नीति, थिति र विचारको विरुद्व आवेगपूर्ण नारा उरालीरहेका छन् । बेरोजगार युवा आप्mनो जिन्दगीको जुवा खेलीरहेको छ । भोटर लिष्टमा नाम नभएकाहरु रौसी, मासु र चुरोटसँग दिनचर्या ब्यतित गरिरहेका छन् । समाज रुपान्तरण गरेर उन्नत र सुसंस्कृत समाजको स्थापना गर्ने घोषणा पत्र र निर्वाचन आचार संहितालाई फुटवल खेल्दै नेता घरघर, टोलटोल, बस्तिबस्ति उत्ताल लोकतन्त्रको दमाहा बजाईरहेको छ र झोले कार्यकर्ता बेजोड थपडी बजाउँदै चटके नाच नाचिरहेको छ । लोकतन्त्रको यो भन्दा उपहास अरु के हुन सक्छ । दर्शन र आदर्शले समाजको रुपान्तरण खोजिरहेको नागरिक प्रश्न गरिरहेको छ । नेता अचेत छ उ हिंडिरहेको बाटो, उसले आदर्श मानेको व्यवस्थाको बर्खिलाप छ र त्यसले लोकतन्त्रप्रतिको आम सर्वसाधारणको प्रेममा गहिरो खाडल बनाउने छ समयको कुनै मोड या घुम्तिमा लोकतन्त्र दुर्घटनाग्रस्त बन्ने छ, बाल मतलव जसरी पनि चुनाव जित्नुपर्छ र मन्त्री खानुपर्छ एकवारको जुनीमा बस्, नेता सुगा रटानमा मग्न छ गोपी कृष्ण कहु, गोपी कृष्ण कहु । यो मुलुकमा सबैभन्दा बढ्ता लोकतन्त्रको लोरी गाएर को भद्दा र अलोकतान्त्रिक नृत्य गरिरहेको छ ? कसले मुलुकको गरिमा, अखण्डता र सार्वभौमिकतालाई विदेशीसँग विनिमय गरेर सुख, सयल र विलाशिताको जीवन व्यतित गरिरहेको छ ? राष्ट्रका हातमा रहेका कलकारखाना कमिशनमा व्यक्तिलाई बेचेर कसले देशलाई हरिकङ्गाल तुल्यायो ? देशका पौरखी युवालाई सस्तोमा विदेशी मालिकलाई बेचेर गाउँ घर रित्तो कसले बनायो ? देशका उत्पादशील फाँटहरु दलाललाई बेचेर कसले नागरिकलाई विदेशी वेसाहामा निर्भर बनायो ? कसले यो देशका नदिनालामाथी विदेशी प्रभुत्ववादीलाई बाँध थाप्न लगाएर नेपाली वस्तीलाई हरेक वर्ष पीडामा डुबायो ? बहस हुनु जरुरी छ । बहस हुनु जरुरी छ कसले नेपाली नागरिकलाई नेपाली बनेर शीर उठाएर बाँच्न सिकायो ? कसले दलितलाई एकवारको जुनीमा मुन्छे भएर बाँच्ने काइदा सिकायो ? महिला, आदिवासी जनजाती, अल्पसङ्ख्यक, मुश्लिम, मधेशी र सीमान्तकृतलाई कसले राष्ट्रको मुलधारमा उभ्याउन संघर्ष, त्याग र बलिदानी दियो ? धर्म निरपेक्षता, समावेशी समानुपातिक राजनैतिक पद्धतीको विकास कसले ग¥यो ? चुनावको असली नारा, मतदानका आधार यी पो बन्नु पर्छ ।
पैसा, जागीर, रौसी, मासु जस्ता हल्का विषयलाई राजनीतिको केन्द्रविन्दु बनाएर लोकतन्त्रको दुन्दुभि मच्चाउनु लोकतन्त्रको कुन सुन्दरता भित्र पर्छ होला ख्यामित ? मुलुक कछुवा गतिमा विकासको बाटोमा सवार छ तर भूईँमा विराजमान मुखियामाथीका बडे मुखिायाहरुको निर्देशनमा विकासे राजनीतिका कर्कश ध्वनीले टोलको कान सेकीरहेको छ । नियति जस्तो यो नियमितता माथी नागरिकले प्रश्न गर्न सकिरहेको छैन, किन हरेक चुनावमा मात्र गाउँमा नेताहरु आउँछन् र विकासका तिलस्मी सपना बाँड्छन् ? घोषणा पत्र किन लेखिन्छन् र किन नागरिकले पढ्छ तर नेताले पढ्नु जरुरी ठान्दैन ? हरेक निर्वाचनमा अघिल्ला घोषणा पत्रको समिक्षा किन गरिन्न र नयाँ–नयाँ घोषणा पत्र लेखिन्छन् ? उल्लेख गर्न सकिने गरी गाउँमा न मोटर बाटो बन्न सक्छन्, न हस्पिटल, विद्यालय, क्याम्पस, स्वास्थ्यचौकी, सिंचाई, हाइड्रोपावर, पशुपालनतथा कृषि र फलफुल पकेट क्षेत्र निर्माण हुन सकेका छन् बनेका छन् त केवल गाउँ विकासलाई आएको अनुदानबाट कठिन घोडेटाहरु मोटर बाटोमा रुपान्तरण भएका छन् र राजनीतिज्ञले आप्mनो झोले कार्यकर्तालाई गाउँको विकासको ठेकेदार बनाएर राजनीतिको साख बचाउने प्रपञ्च गरिरहेको छ । जसले गाउँमा हरेक चुनावमा नेताको नुनको सोझो गरिरहेको छ र गाउँलाई धोका दिइरहेको छ । चुनावको दिन मतदान केन्द्रको गेटमा बाहुबली खडा गरेर आम सर्वसाधारणको मताधिकारलाई अपहरण गरेर मतदान गर्ने गाउँको मुखिया मुलुकको राजनीतिलाई कुरुप तुल्याउने सबै भन्दा खतरनाक अपराधी हो ।
भोट बेच्ने ती जीवनको दुःखद यात्रामा छन् तिनको जीवनको कठिनाईलाई मुल्य गरेर तिनको आत्मालाई दाश बनाउनेहरु ती भूईँ तहमै विराजमान छन् । बेरोजगार र समस्याले ग्रस्त युवालाई हुलहुज्जत र विचार चिन्तनबाट विमुख बनाई पैसा, रौसी, मासु र हातमा लाठा थमाउने धुर्तहरु पनि भूईँ तहमै विराजमान छन् । महिला, दलित, अपाङ्गता भएका र सीमान्तकृत नागरिकलाई विचार हैन हातमा आश्वासन, प्रलोभन र डर धाकधम्की देखाएर बेचिन बाध्य बनाउने मुखियाहरुलाई लोकतन्त्रका यी उत्पादनहरु ती पनि भुईँमै विराजमान छन् । चुनावको अर्थशास्त्र यति विकराल, भीमकाय र थामिनसक्नु बनाउनु भ्रष्टाचार बढाउनु हो । भ्रष्टाचार बढाउनु भनेको सुशासनको अन्त, महङ्गी र वेरोजगारी जन्माउनु हो र सबै खालका अस्थिरता, युद्ध, संघर्ष, लुटपाट र व्यभिचारको उत्पादन गर्नु हो चेतना भया !
Previous Articleलेखानी र गलकोटमा वाम गठबन्धनको चुनावी अभियान
Next Article उम्मेदवारलाई सुरक्षा