प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारको सुरक्षा चुनौती थपिएको छ । तराईका जिल्ला शान्त देखिए पनि पहाडमा दिनहुँजसो उम्मेदवारलाई लक्षित गर्दै बिस्फोटनका घटना बढ्न थालेका छन् । बिस्फोटन सत्तापक्षका उम्मेदवार भन्दा बाम गठबन्धनका उम्मदेवारतर्फ बढी लक्षित देखिएको छ । माओवादीका नेता वर्षमान पुन, जनार्दन शर्मा, एमाले नेता शेरधन राईमाथि पनि लक्षित गरेर आक्रमणका घटना भएका छन् । दिनहुँजसो उम्मेदवारलाई लक्षित गरेर बम बिस्फोटनका घटना भईरहेका छन् । तर, ति घटना कसले गराईरहेको छ भन्ने बारेमा सरकार अनुत्तरित छ । हाइप्रोफाइल उम्मेदवार लक्षित गरेर माइन विष्फोट मात्रै होइन ढुंगा लडाएर र फायरिङ गरेर चुनाव प्रचार–प्रसार अभियानलाई प्रभावित गर्ने काम भएको छ । उम्मेदवारमाथि बम प्रहारका घटना अहिलेसम्म वाम गठबन्धनतर्फ लक्षित भईरहेका छन् । तर, सत्ता पक्षले घटनामा संलग्नहरुलाई अहिलेसम्म पक्राउ गर्न भने सकेको छैन । विस्फोनका घटना नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पार्टीले गराएको भनिए पनि सो पार्टीले अहिलेसम्म कुनै घटनाको जिम्मेवारी लिएको छैन । उम्मेदवारमाथि बढ्दै गएका आक्रमणका घटनाले सुरक्षामाथि प्रश्न उठेको छभने मतदाताहरु समेत त्रसित बनेका छन् ।
पहाडि जिल्लामा सुरक्षा चुनौती बढ्न थालेपछि निर्वाचन आयोगले समेत सरकारको ध्यानाकर्षण गराइसकेको छ । यदि वाम गठबन्धनका उम्मेदवारमाथि आक्रमण हुन नछाड्ने होभने कुनैपनि बेला भिडन्तको अवस्था सिर्जना नहोला भन्न सकिदैन । चुनावलाई भयरहित र शान्तिपुर्ण रुपमा सम्पन्न गराउनु सरकारको दायित्व हो । सरकारले दिनहुँ चुनावलाई प्रभावित गर्ने खालका घटना रोक्नको लागि सुरक्षा समयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्नुपर्छ । सुरक्षा संयन्त्रलाई राम्रोसंग परिचालन गर्न नसक्दा स्थानिय तहको चुनावमा देशका कतिपय ठाउँमा सर्वसाधारण नागरिकले ज्यान गुमाउनु परेको थियो । अहिले सबै दलहरु चुनाव प्रचार–प्रसार अभियान लिएर जनताका घरदैलोमा पुगेका छन् । उनीहरु कति बेला अप्रिय घटना हुने हुन भेर क्रसित भएका छन् । जबसम्म चुनाव प्रचार गर्ने वातावरण शान्तिपुर्ण बन्दैन तबसम्म उम्मेदवारले आफ्ना एजेण्डा जनता सामु प¥याउन सक्दैनन् भने मतदाताले पनि योग्य उम्मेदवार छान्न पाउँदैनन् । उम्मेदवार लक्षित विष्फोटका घटनाले मतदातामा पनि त्रसित छन् ।
मतदानका दिन यस्ता अप्रिय घटना घट्न सक्ने भएकोले मतदाताहरु केन्द्रसम्म जाने मनस्थिति हुँदैन । उनीहरुलाई मतदान केन्द्रमा जाने वातावरण बनाउने काम पनि सुरक्षा निकायको हो । जिल्ला सुरक्षा संयन्त्रले अति संवेदनशिल क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराउनु पर्छ । विगतका चुनावमा पनि सत्ता, शक्ति र पैसाको आडमा चुनावलाई प्रभावित गराउँदा जनताले चाहेजस्ता जनप्रतिनिधि छनौट गर्न नपाएका उदाहरण थुप्रै छन् । त्यसैले उम्मेदवारलाई शान्तिपुर्ण रुपमा चुनावी कार्यक्रममा सरिक हुने वातावरण सिर्जना गर्नको लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्छ ।
Previous Articleभुई तलामा विराजमान मुखियाहरुको लोकतन्त्र
Next Article २०७४ कार्तिक ३० गते बुधबारको राशिफल