म्याग्दी, २९ कात्तिक – जिल्लाको बेनी नगरपालिका– १ अर्जममा मंगलबार दिउँसो नेपाली कांग्रेसको चुनावी प्रचार प्रसार टोलीलाई लक्षित गरी माइन बम बिस्फोट गराइएको छ । मंगलबार बिहान रत्नेचौरमा चुनावी सभा सम्पन्न गरेर अर्जम क्षेत्रमा घरदैलोका लागि जाँदै गरेको कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा नेतृत्वको टोलीलाई लक्षित गरी बम बिस्फोट गराइएको हो ।
बम बिस्फोट हुँदा गाडीमा सामान्य क्षति पुगेको र विस्फोटबाट कुनै पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बम विस्फोटले सवारी साधनका सिसा फुटेको प्रचार टोलीमा सहभागी तरुण दलका सदस्य सुमन श्रेष्ठले जानकारी दिए । एक मिनेट ढिला बिस्फोट भएको भए ठुलो मानवीय क्षति हुने जानकारी दिदै श्रेष्ठले संयोगबस बाँच्न सफल भएको र निकै माथिबाट तार ल्याएर विस्फोट गराइएको बताए ।
प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले घटनामा कुनै किसिमको क्षति नभएको जानकारी दिइन् । रत्नेचौरमा प्रहरी युनिट र भकुण्डेमा सशस्त्र प्रहरी क्याम्प रहेको र घटना लगत्तै सुरक्षा जनशक्ति बढाएको उल्लेख गर्दै खड्काले कुन समूहले बिस्फोट गरायो भन्ने विषय नखुलेको बताइन् ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको प्रभाव क्षेत्र मानिने म्याग्दीमा सोही समूहले नै विस्फोट गराएको प्रहरीको अनुमान छ । प्रहरीले चारदिन अघि सो समूहका तीन कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । चुनाव प्रचार टोलीमा गर्बुजा सहित लोकतान्त्रिक मोर्चाबाट प्रदेश ‘क’ का उम्मेदवार भीमप्रसाद गौचन, बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ र उपमेयर सञ्जु बरुवाल लगायत नेता कार्यकर्ता रहेको काँग्रेस म्याग्दीले जनाएको छ ।
Previous Articleतीन महिनामा नै २८ वैंकले कमाए ९ अर्ब ८८ करोड
Next Article अमेरिकाले आणविक युद्धको खतरा बढायो-उत्तर कोरिया