नवीन अर्याल
काठमाडौं, २९ कात्तिक – सञ्चालनमा रहेका २८ वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ८८ करोड ५५ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा चार प्रतिशत बढी हो । गत वर्षको साउनदेखि असोजसम्म वाणिज्य बैंकले नौ अर्ब ५२ करोड ७७ लाख नाफा कमाएका थिए ।
यो वर्ष धेरैजसो बैंकको नाफाको वृद्धिदर घटेको छ । १२ वटा बैंकको नाफा गत वर्षभन्दा पनि कम छ । बैंकको खर्च बढेपछि नाफा प्रभावित भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन् । बैंकको एकातिर पुँजी बढेको छ, अर्कोतिर खर्च पनि बढेको छ । तर, खर्च बढ्दा ऋणको ब्याजदर बढाउनुपर्नेमा उल्टै घटाउन दबाब पर्दा नाफा घटेको उनको तर्क छ । बैंकले अस्वस्थ प्रतिस्पर्धामा उत्रिएर आधार दरभन्दा पनि तल झरेर ऋण लगानी गरिरहेका छन् । राष्ट्र बैंकको आधार दर नीतिमा खर्च बढ्दा ब्याज पनि बढाउने र खर्च घट्दा घटाउने स्पष्ट छ ।
पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनमा नेपाल इन्भेस्टमेन्ट बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, प्राइम बैंक, जनता बैंक, लक्ष्मी बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, सिभिल बैंक, सेञ्चुरी बैंक, माछापुच्छ्रे बैंक र एनसीसी बैंकको नाफामा वृद्धि भएको देखिन्छ ।
हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स् बैंक, बैंक अफ काठमाडौं, सिद्धार्थ बैंक, सनराइज बैंक, मेगा बैंक, प्रभु बैंक, कुमारी बैंक, एनबी बैंक, कृषि विकास बैंक र नेपाल बैंकको नाफा घटेको छ । पहिलो त्रैमासमा सबैभन्दा बढी नेपाल बैंकले ९७ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । तर, नेपाल बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा भने कम हो । गत वर्षको पहिलो त्रैमासमा नेपाल बैंकले एक अर्ब १६ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । नेपाल बैंक सरकारी स्वामित्वमा सञ्चालित बैंक हो ।
नबिल बैंकलाई उछिन्दै नेपाल इन्भेस्टमेन्ट बैंक सबैभन्दा बढी नाफा कमाउने बैंकमा दोस्रो बन्न सफल भएको छ । तीन महिनामा इन्भेस्टमेन्ट बैंकले ८९ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत त्रैमासको तुलनामा २०.८९ प्रतिशतले बढी हो । नबिल बैंकले ८५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ । एभरेस्ट बैंकको नाफा ३.५२ प्रतिशतले बढेर ५३ करोड १४ लाख पुगेको छ ।
अन्नपूर्ण
तीन महिनामा नै २८ वैंकले कमाए ९ अर्ब ८८ करोड
Previous Articleलठ्ठी टेकेरै सिसाखानी पुगे वामपन्थी उमेद्वार पौडेल
Next Article कांग्रेसको प्रचार टोलीलाई लक्षित गर्दै बम विष्फोट