आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभाको चुनावमा प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारले पूर्वाधार, जलस्रोत र पर्यटन क्षेत्रको विकास गर्ने मुद्दालाई प्राथमिकता दिएका छन् । एमाले–माओवादीको वाम र काँग्रेस–राप्रपाको लोकतान्त्रिक गठबन्धनको राजनीतिक मुद्दा फरक भए पनि स्थानीय प्राथमिकताका विषय समान छन् । दुवै गठबन्धनका उम्मेदवारले सडक, खानेपानी, विद्युत्, सञ्चार सेवाको विस्तार, जलस्रोत, पर्यटन र कृषिको विकास, शिक्षा, स्वास्थ्य सेवाको गुणस्तर सुधारका विषयलाई चुनावी मुद्दा बनाएका बनाएका छन् ।
दलहरुले मतदातालाई आफ्नो नजिकमा तान्नको लागि जति प्रयास गरिरहेका छन् त्यसको लागि देखाउने दाँत भनेको बिकासे सपना मात्रै हुन् । विकास र बिस्तारका जतिसुकै नारा घन्काए पनि उम्मेदवारहरुको बिजय पछिको बाटो भने त्यो अनुसारको नबन्न सक्छ । संघिय सभा र प्रदेश सभामा उम्मेदबार बनेका सबै उम्मेदवारको मुख्य नारा भनेको विकासे नारा छन् । यतिसम्म की संघिय सभामा जाने प्रतिनिधिको काम कर्तव्य र अधिकार तथा प्रदेश सभामा जाने प्रतिनिधिको काम कर्तव्य र अधिकारको समेत हेक्का नराखी उम्मेदवारहरुले मतदाताको दैलोमा बाँडेका विकासे सपना मतदातालाई आर्कषण गर्न देखाउने दाँत मात्रै हुन् । संघिय सभा र प्रदेश सभाको काम कुनैपनि हालतमा एकै किसिमको हुँदैन । संघिय सभाले राष्ट्रका सम्पुर्ण पक्षको अध्ययन गरी नीति निर्माणको तहमा काम गर्छ भने प्रदेश सभाले स्थानिय निकाय सँग सम्वन्ध राखेर एक्लो प्रदेशको बिषयमा मात्रै नीति निर्माण तथा विकासका योजनाहरुमा काम गर्न पाउने छ । यद्यपि प्रदेश सभाको कानुन भने नबनिसकेकाले आगामी प्रदेश सभाले बनाउने कानुनले त्यसको क्षेत्राधिकार निर्धारण गर्ला । राष्ट्रिय गौरवका योजनाहरु तथा बिभिन्न खालका राज्य सञ्चालनका नीति बनाउने संघिय सभाले हाम्रो गाउँको धारोपंधेरो, बिद्यालय र बाटाहरु बनाउने काम गर्न सक्दैन । अर्कोतर्फ प्रदेश भित्रका स्थानिय निकायसँग समन्वय गरेर प्रदेशको क्षेत्राधिकार भित्रको काम मात्रै गर्ने प्रदेश सभाबाट पनि ति कामहरु सम्भव छैन् ।
वास्तवमा हाम्रो प्रत्यक्ष जीवनसँग सरोकार राख्ने खालका विकासका काम गर्ने भनेको स्थानिय सरकारले हो । यो कुरा कुनै पनि दल वा उम्मेदवारले मतदाताका सामु लुकाउन आवस्यक छैन् । जे कुरा गर्न सकिने होे त्यो कुरा मात्रै जनतालाई आस्वासन दिने र निर्वाचित भएपछि मतदाताको बीचमा गरेका बाचालाई पुरा गर्ने प्रबृत्तिको विकास गर्न जरुरी छ । निर्वाचनको बेला हात जोडेर असम्भव कुरालाई समेत सम्भव बनाउने र निर्वाचनपछि सम्भव भएका कुरामा समेत बेवास्ता गर्ने परिपाठिले ‘हात्तीको देखाउने दाँत र चबाउने बंगारा फरक छ’ भन्ने कुरालाई चरितार्थ गरेको छ । उम्मेदवार तथा दलहरुलाई मतदाता चाहिने भनेको एक दिन वा एकपटक मात्रै होईन पटक–पटक हुने निर्वाचनको लागि दलहरु मतदाताको सामु जानुपर्छ भन्ने कुरामा हेक्का राख्न जरुरी छ । मतदाता पनि त्यस्ता खालका अवसरवादी चिन्तन भएका उम्मेदवार तथा दलहरुबाट सचेत र सजग बनौं । आफ्नो मतको सहि सदुपयोगको लागि मतदाता सचेत बन्न जरुरी छ । देखाउने दाँत हैन चवाउने बंगारोसम्म पुगेर मात्रै निर्णय गरौं ।
Previous Articleचुनावको गलत प्रचार शैली
Next Article २०७४ कार्तिक २८ गते मंगबारको राशिफल