बिभिन्न प्रकारका जनआन्दोलन मार्फत राजननीतिक परिवर्तनहरु भएतापनि सामाजिक र चेतनाको हिसावमा नेपाल र नेपाली समुदाय शताब्दीऔं पछाडी छ । पर्याप्त शिक्षा र चेतनाको अभावमा हाम्रो समुदायले देखाउने व्यवहार यसका उदाहरण हुन् । हाम्रो समुदायमा साङ्ग नागरीकहरु मात्रै छैनन् यहि समुदायको एक हिस्सा ओगटेका अपांगता भएका नागरिक पनि छन् । जति साङ्ग नागरीकले आफ्नो अधिकार सहज रुपमा पाउन सक्छन्, त्यो अवसर अपांगता भएकाहरुले पाउन सकेका छैनन् । अपांगतालाई सधै दयाको पात्र बनाउने हाम्रो समाजको चलन छ । तर उनीहरुलाई दया मायाले नभएर अवसर दिएर अगाडि बढाउन जरुरी छ । अपांगहरुले पनि यो समाजको परिवर्तन र बिकासमा सहभागीता जनाउन सक्छन् भन्ने मान्यता साङगहरुमा स्थापित गर्न जरुरी छ । त्यो मात्रै नभइ समाजको बिकासमा उनिहरुले महत्वपुर्ण भूमिका खेल्न सक्छन भन्ने हेक्का हामीले सधैं राख्न जरुरी छ । सामान्य व्यक्तिको तुलनामा अपांगले गर्नै नसक्ने भनेको भौतिक रुपमा देखिने कामहरु हुन् । अर्थात हिड्ने, डुल्ने जस्ता काममा समान सहभागिता हुन नसकेपनि बौद्धिक उपस्थितिमा उनीहरु झनै अब्बल छन् । राज्यको उदाशिनता, समाजको उपेक्षाका कारण पछाडि परेकलाई उच्च मनोवल दिलाउन हामीले अगुवाई गर्न सक्नुपर्छ । अपांगता भएका ब्यक्तिहरुको सामाजिक तथा शैक्षिक उथ्थानका लागि अगुवाहरुले भूमिका खेल्नुपर्छ । उनीहरुलाई अवसर दिलाउन कन्ज्युस्याई गर्न हुँदैन । अपांग भएर पनि अबसर पाएमा जस्तो सुकै काम गर्न सक्ने कुरा हामीले धेरै देखेभोगेकै कुरा हो । अपांगता भएकाहरुलाई दयाको पात्र बनाउनु हाम्रो समुदायको कमजोरी हो । नेपालको सन्दर्भमा झमक घिमिरेको संघर्ष र उनले पाएको सफलतालाइ उदारहणका रुपमा प्रस्तुत गर्ने हो भने मात्रै पनि धेरै कुरा स्पष्ट हुन्छ ।
अपांगलाइ राज्यले दिएका अधिकारको ग्यारेन्टी गरिनु पर्दछ यो बिषयमा हाम्रो समुदाय पटक पटक चुक्ने गरेको छ । उनिहरुलाइ जीवन जीउने सीप र पूजिको ग्यारेन्टी गर्न सके एकजना सांगले भन्दा राम्रो उन्नती गरेर समाजलाइ योगदान गर्न सक्छन् । राजनीतिक, सामाजिक र सास्कृतिक क्षेत्रमा पनि अपांगता भएकाहरुलाई अवसर दिंदै उनिहरुको मनोवल उचो राख्न समुदाय स्तरबाट पहल थालौं । अपांगहरुको पहिचाहन र सेवा सुबिधाका लागि राज्यले परिचय पत्रको ब्यवस्था गरेको छ । त्यो मात्रै उनिहरुको लागि पर्याप्त बिषय होइन । राज्यले परिचयपत्र वितरण गरेको आधारमा अपांगहरुलाइ सेवा सुविधा पाउने वातावरण तयार गर्नु आवस्यक छ ।
राजनीतिकरुपमा उपस्थितिको लागी राज्यले तोकेको कोटामा उनिहरुको सहभागीता गराउन राजनीतिकदलहरु जिम्मेबार बन्ने, कानूनले तोके अनुसार सवारी साधनमा सहुलियत, सरकारी तथा सार्वजनिक महत्वका क्रियाकलापमा अपांग मैत्री व्यवहार र हिलचियर जाने भवन बनाउने, परिचयपत्रको आधारमा राज्यको सेवा सुविधा पाउने कामलाई अधिकारको रुपमा स्थापित गर्न सके उनिहरु समान हैसियतमा आउन सक्छन् । कानुनले तोके बमोजिमको सेवा दिन सरकारी तथा गैह्र सरकारी निकाय नचुकौं । सामाजिक उपेक्षाबाट पिडित अपांगहरुको लागि समान ब्यबहारको वातावरण सिर्जना गरौं । देशले सवल र बिबेकशिल नागरीकको खोजी गरिरहेको छ त्यसैले आफ्नो बिबेकको प्रयोग गर्दै समान सहभागीतामुलक समाज निर्माणमा हातेमालो गरौं ।