हरेक निर्वाचनका वेला घोषणा गरिने चुनावी घोषणापत्रलाई धेरैले दलहरूका औपचारिक प्रतिबद्धताका रूपमा मात्रै बुझ्ने गरेका छन् । तर, यसपटकको वाम गठबन्धनको घोषणापत्रले नेपालमा वाम गठबन्धनको बहुमतको सरकार बन्ने र त्यसपछि मुलुक शान्ति र स्थिरताको दिशामा अग्रसर भई समृद्ध हुने सन्देश दिएको छ । यसको सबैभन्दा महत्वपूर्ण केन्द्रीय राजनीतिक विषय निर्वाचन सकिएलगत्तै दुई ठूला वामपन्थी दल एमाले र माओवादी केन्द्रबीच एकीकरण प्रक्रिया पूरा गर्ने घोषणा हो । यसलाई मूर्त रूप दिने आधारशिला साझा उम्मेदवार र संयुक्त घोषणापत्रले खडा गरेको छ र एउटै कम्युनिस्ट पार्टी निर्माण हुने आधार तय भएको छ । वाम घोषणापत्रको अर्काे महत्वपूर्ण पाटो राजनीतिक क्रान्तिपछि आर्थिक समृद्धि हासिल गर्न नेपाली मोडलको समाजवाद निर्माण गर्ने प्रतिबद्धता हो । घोषणापत्रले दुई वर्ष, पाँच वर्ष, १० वर्ष र २५ वर्षमा सम्पन्न गर्ने कार्यक्रम र लक्ष्य स्पष्ट रूपमा अघि सारेको छ ।
सन् २०९९ सम्म नेपाललाई विकसित राष्ट्र बनाउने संकल्प गरिएको छ । हिजोका घोषणा पूरा भए या भएनन् त्यो समीक्षाको अर्कै पाटो हो । तर, कम्तीमा अव स्थिर सरकार बन्ने परिस्थितिमा घोषित कार्यक्रम र लक्ष्य पूरा भए या भएनन् वस्तुगत धरातलमा उभिएर समीक्षा गर्न सकिनेछ । मुलुकलाई समाजवादतर्फ अघि बढाउने घोषणापत्रको प्रतिबद्धता संविधान कार्यान्वयनसँग जोडिएको विषय हो । किनभने, संविधानमै मुलुकलाई समाजवादतर्फ उन्मूख गराउने प्रतिबद्धता गरिएको छ । अहिले मुलुक संविधान संशोधन होइन, कार्यान्वयनको दिशामा अघि बढिरहेको छ । वाम गठबन्धनको घोषणापत्रले संशोधन होइन, संविधान कार्यान्वयनलाई नै मुख्य मुद्दाका रूपमा अघि सारेको छ । स्थानीय तहको निर्वाचनबाट स्थानीय सरकार बनिसकेको र अबको निर्वाचनबाट केन्द्र तथा प्रदेश सरकार बनी संविधान पूर्ण रूपमा कार्यान्वयन हुनेछ ।
लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, समावेशी लोकतन्त्र, संघीयता लागू गर्नेजस्ता काम पनि अघि बढ्नेछन् । वाम गठबन्धनले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाको बाटोबाट विधिको शासन, मौलिक अधिकार, शक्ति पृथकीकरण, प्रेस स्वतन्त्रता, आवधिक निर्वाचनलगायत लोकतन्त्रका मान्यतालाई संविधानले नै अंगीकार गरेअनुसार कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्ध जनाएको छ । यसैका आधारमा सामाजिक आर्थिक रूपान्तरण गर्दै मुलुकलाई समाजवादको बाटोमा अघि बढाउन चाहिरहेको छ । लोकतन्त्रलाई आत्मसात् गर्दै सामाजिक आर्थिक रूपान्तरण गरीे नेपाली समाजवादको मोडल विकास गर्ने जनाएको छ । अव देशमा नेपालीलाई माया गर्ने स्थिर सरकार बन्यो भने देश द्रुतगतिमा विकास पथमा अघि बढ्ने सम्भावना छ । सरकारले आत्मविश्वाससाथ विकास निर्माणको काम अघि बढाउने हो भने नेपाल समृद्धिको नयाँ युगमा प्रवेश गर्नेछ र विकासको नयाँ ढोका खुल्नेछ । वाम गठबन्धनको घोषणापत्रबाट विकासका सम्भावनाको दरिलो आधार खडा गरेको छ ।
Previous Article समृद्धिको यात्रामा सचेत सहभागीता
Next Article २०७४ कार्तिक २६ गते आईतबारको राशिफल