म्याग्दी, २२ कार्तिक-रघुगंगा गाउँपालिका– ६ ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालय निजी स्रोतका शिक्षकको तलब सुविधा जुटाउन नसकेर संकटमा परेको हो । प्रावि तहका तीन जनाको दरबन्दी रहेको विद्यालयमा चार निजी स्रोतका शिक्षक कार्यरत छन् । कक्षा ८ सम्म पठनपाठन हुने सो विद्यालयमा ८० बालबालिका अध्ययनरत छन् । दुर्गम बस्ती भएकाले विद्यालय सेवा क्षेत्रका अधिकांश अभिभावकको आर्थिक अवस्था कमजोर रहेको र विद्यालयले चार शिक्षकको नियमित रुपमा तलबभत्ता जुटाउनुपर्दा आर्थिक समस्या भएको प्रअ खिममाया छन्त्यालले बताए । “चन्दा संकलन र देउसीभैलोबाट विद्यालय चलाएका छाँै, अर्थ अभावले भौतिक पूर्वाधार समेत निर्माण हुनसकेको छैन्” प्रअ छन्त्यालले भने । विसं २०७२ को भूकम्पबाट पूर्णरुपमा प्रभावित भएको सो विद्यालयमा अहिले पनि बालबालिका अस्थायी टहरामा बसेर अध्ययन गर्न बाध्य छन् । विभिन्न संघसंस्था तथा सहयोगदाताबाट अर्थ संकलन गरी निर्माण गरिएको टिनको अस्थायी टहरामा बसेर अध्ययन गर्नुपर्दा विद्यार्थीलाई कष्टकर भएको छ । पानी पर्दा हिलो हुने, घाम लाग्दा पोल्ने, कापीकिताब भिज्ने, चिसो हुने र होहल्ला बढी हुने समस्या रहेको कक्षा ८ की छात्रा पुनम छन्त्याल बताउँछिन् । पूर्वाधार अभावका कारण विद्यार्थीको सिकाइ र पढाइमा असर परेको छ । जिल्ला शिक्षा कार्यालयको रु १९ लाख ५० हजार अनुदान र स्थानीय बासिन्दाको रु पाँच लाख बराबरको श्रमदानमा तीनकोठे तथा अमेरिकाको ग्लोबल न्युट्रेशन एण्ड इमपावरमेन्ट संस्थाको सहयोग र समुदायको रु एक लाख बराबरको श्रमदानमा अर्को दुईकोठे भवन निर्माण भएपछि विद्यालयलाई केही राहत मिलेको छ । पाँच कक्षाका विद्यार्थीलाई नयाँ भवनमा राखेर अध्यापन गर्न थालिए पनि अझै तीन कक्षाका विद्यार्थीलाई टिनको टहरामै राखेर अध्यापन गराउने गरिएको प्रअ छन्त्यालले बताउनुभयो । अहिले पनि कक्षाकोठा भवन निर्माणधीन रहे पनि विद्यालयका कार्यालय, पुस्तकालय, प्रयोगशालालगायतको प्रयोजनका लागि पूर्वाधार अभाव हुने विद्यालयका शिक्षक उमेश पौडेलले बताए । साना बालबालिकालाई घण्टाँै हिँडेर स्कूल जानुपर्ने बाध्यता हटाउन २०६९ सालदेखि विद्यालयमा ६ देखि ८ कक्षासम्मको थप पठनपाठन शुरु गरिएको थियो तर समुदायले चालेको पहलमा सरोकार भएका निकाय र सरकारी तवरबाट सहयोग नहुँदा संकटमा परेको हो ।
Previous Articleजाडोमा यसरी राखौं बच्चाको ख्याल
Next Article २०७४ कार्तिक २२ गते बुधबारको राशिफल