बागलुङ, २१ कार्तिक –जिल्लाको ताराखोला गाउँपालिका–१ स्थित ‘गाईघाट झरना’ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । प्राकृतिक सुन्दरतायुक्त झरना अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या दैनिक बढ्दो छ । वर्षौंदेखि ओझेलमा परेको झरना प्रचारप्रसार र पर्यटकीय पूर्वाधार निर्माणले चर्चामा आएको हो । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले तीन वर्षअघि झरनालाई पर्यटकीय गन्तव्य बनाउन योजनाबद्धरूपमा काम थालेको थियो । सरकारी सहयोग र जनश्रमदानबाट अहिले झरनाले नयाँ स्वरूप पाएको छ । झरना छेउ पौडी पोखरी, वनभोजस्थल, विश्रामस्थल, पदमार्गलगायतका संरचना निर्माण गरिएको छ । महत्व भएर पनि पछाडि परेको झरनामा पूर्वाधार बनेपछि वर्षायामबाहेकका सबै महिनामा आगन्तुकको भीड लाग्ने गरेको छ ।
पर्यटकीय याममा दैनिक सयौँ आन्तरिक पर्यटक झरनाको अवलोकनका लागि पुग्ने गरेको केन्द्रका उपाध्यक्ष राज थापाले बताए । पूर्वाधार निर्माणकै क्रममा झरनाको भित्रपट्टि फेला परेको गुफाले पनि पर्यटकीय आकर्षण थपेको छ । चालीस जनाजति अट्ने गुफालाई धार्मिक आस्थासँग जोडेर पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । गाईघाटदेखि नजिकै रहेको भूताह गल्छीसम्म पुग्न पदमार्ग बनाउने योजनामा केन्द्र छ । “पचास मिटर अग्लो झरनामा क्यानोनिङभस् सञ्चालन गर्ने योजना छ”, सचिव थापाले भने । गाईघाट झरनासँगै भूताह गल्छीको पर्यटकीय विकास गर्ने उद्देश्यले काम अघि बढाइएको उनले बताए । गर्मी याममा झरना अवलोकनसँगै प्राकृतिक तलाउमा स्नान र पौडीका लागिसमेत पर्यटक आउने गरेका छन् । पछिल्लो समय झरना क्षेत्र वनभोज जानेको रोजाइमा पर्ने गरेको छ । बाहिरी जिल्लाबाट समेत आन्तरिक पर्यटक झरना अवलोकनका लागि आउने गरेका छन् ।
विद्यार्थी शैक्षिक अवलोकन भ्रमणका लागि जाने गरेका छन् । दरमखोला किनारमा अवस्थित झरना माछा मार्न रुचाउने पर्यटकको समेत रोजाइमा पर्छ । गाईघाट झरनालाई ताराखोला गाउँपालिका छिर्ने प्रवेशद्वारका रूपमा समेत लिने गरिन्छ । सदरमुकामदेखि १० कोष पश्चिममा अवस्थित झरनालाई पर्यटकीय गन्तव्य बनाइने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीमगरले बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि गाउँपालिकाले बजेटमा प्राथमिकता दिएको उल्लेख गरे । पर्यटनसँग सम्बन्धित संस्थासँग मिलेर योजनाबद्ध रूपमा काम गर्ने उनि बताउँछन् ।
Previous Articleबागलुङ महोत्सवको तयारी सुरु
Next Article २१ कार्तिक २०७४, धौलागिरी स्टार साप्ताहिक