आसन्न निर्वाचनको तयारी गर्ने क्रममा जिल्ला र क्षेत्रका उच्च सुरक्षा प्रमुखहरुले धमाधम मतदान केन्द्रको भ्रमण गर्न थालेका छन् । उनीहरुले निर्वाचनको समयमा जटिलता आउन सक्ने स्थान, तिनको व्यवस्थापन र सुरक्षा बारेमा बढी चासो राखेको भेटियो । हुनपनि निर्वाचनको समयमा हुन सक्ने जोखिम र अन्य समयको जोखिमलाई तुलना गरेर हेर्न मिल्दैन । अन्य क्रियाकलापमा सहज मनिएका स्थान र मानिस पनि चुनावको बेला चुनौती बन्ने गर्छन् । तसर्थ सुरक्षा प्रमुखहरुले यस्तो काम थालेको हुन सक्छ । बागलुङ भौगोलिक रुपमा जटिल स्थान पनि हो । सबै स्थानमा सहज यातायातको पहुँच छैन । त्यस्तै कतिपय स्थानमा हिउँ पर्ने, उच्च पहाडी भूभाग छ भने कुनै घटना, हुल्दंगा भएमा भाग्ने र तत्काल सुरक्षा पु¥याउन कठिन छन् । तसर्थ चुनावको पहिलो घेरामा नेपाल प्रहरी, दोश्रो घेरमामा सशष्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना रहने व्यवस्था छ । त्यसमा पनि थप सुरक्षा बल चाहिने अवस्थामा मोटरबाट पुग्ने र केही स्थानमा हेलिकोप्टरको व्यवस्था गरेको छ । सके सम्म अप्रिय घटना हुन नदिने र आम जनतालाई सुरक्षाको अनुभूति दिने गरी चुनावी तयारी गर्न जरुरी छ । मतपत्र देखि चुनावका सामाग्री ढुवानी पनि उत्तिकै चुनौतीपूर्ण छ । त्यो सहज व्यवस्थापनको बाटो हुन सक्छ । तर आकस्मिक रुपमा हुने घटना प्रति सुरक्षा निकाय सचेत हुनुपर्छ । केही स्थानमा सुरक्षा निकाय पुगेको खवर छ तर सामान्य स्थानमा पुगेर भोली आइपर्न सक्ने जटिलता बारे भने केही थाहा हुँदैन ।
त्यस्तै यस अघिका हरेक निर्वाचनमा राजनीतिक दलहरुकै बीचमा झडप हुने, हिंसात्मक घटनाले प्रसय पाउने अवस्था थियो । त्यो अवस्था निस्तेज बनाएर आम जनताले स्वतन्त्र र निर्भयपूर्वक मतदान गर्न पाउने, मतदान गर्ने दिन भन्दा अगाडि र पछाडिका दिनमा पनि सुरक्षा अनुभूति पाउने व्यवस्था मिलाउन जरुरी छ । किनकी निर्वाचन भाँड्ने शक्ति, निर्वाचनलाई कब्जामा लिन सक्ने अवस्था र यही मौका छोपेर अपराधिक क्रियाकलाप हुन सक्ने स्थानको पनि खोजी हुन जरुरी छ । सुरक्षा भनेको जनताले चाहेको स्थानमा भोट हाल्न पाउने अवस्था पनि हो । साम, दाम र दण्डको आधारमा मत बटुल्ने संस्कृतिको अन्त्य गर्न जरुरी छ ।
त्यस्तै भोज भतेर लगाउने प्रवृत्तिको अन्त्य, फरक आस्था प्रति गरिने दुव्र्यवहारको अन्त्य पनि आवस्यक छ । कतिपय स्थानमा राजनीतिक आस्थाको आधारमा बिभेद हुने भएपछि जनताले मत जाहेर नगर्ने, मतदान प्रकृयामा भाग नलिने अवस्था पनि छ । स्वतन्त्र रुपमा मत जाहेर गर्ने अधिकारलाई सबै दलले सम्मान गर्ने वातावरण बनाउने र व्यक्तिगत रुपमा कसैबाट अवरोध भएमा अपराधको रुपमा लिने गरी सबै दलले स्विकृति दिने हो भने त्यसले पनि जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण सिर्जना गर्छ । सुरक्षा निकायले घुमेका स्थान र मतदान केन्द्रबाट कुशल व्यवस्थापनमा पनि चासो र चिन्तन बढोस् । आगामी निर्वाचन स्वचछ, भयरहित र भातृत्वको रुपमा देख्न पाईयोस् ।
Previous Articleआफ्नो थाल आफै माझ्न साम्यवाद कुर्नु पर्दैन
Next Article २०७४ कार्तिक २१ गते मंगलबारको राशिफल