कृष्णप्रसाद शर्मा
गत हप्ता एउटा स्टाटस हालेको थिँए की प्रत्येक कार्यालयका हाकिमले आफ्नो चिया आँफै बनाएर खाए के हुन्छ भनेर । खरदारदेखी सचिवसम्म चिया खुवाउनैका लागी बीसौं हजार कर्मचारी किन राख्ने । चिया पकाएर खाने हिम्मत गर ठुला कुरा किन गर्नु भनेको थिंए । यसको प्रतिक्रियामा एक जनाले लेखें यो कुरा समाजबादमा हुन्छ । नेपालमा समाजबाद कसले कति बुझेका छन् थाहा छैन । काँग्रेसले बाम गठबन्धनको यसरी विरोध गरेको छ कि मान्नुस् नेपालमा कम्युनिष्ट शासन अब आउनै लाग्यो जसरी । अधिनायकबादको खतरा छ पनि भन्छ काँग्रेसले । गत साझा सवालमा पहिला भन्दा यसपटक गगन थापा पनि अलि बढी नै आक्रामक देखिन्थे उनी पनि कम्युनिष्ट शासन आएपछि देश बिग्रन्छ कि जस्तै गरी प्रस्तुत भए । कम्युनिष्टले भन्दा बढी माक्र्सबादमा बहस र दख्खल राख्ने मान्छे प्रदिप गिरिले समेत कम्युनिष्ट शासन भएका देश कंगाल छन् भने । नदेखेको बाँधको वर्णन धेरै नै भएको छ ।
शेर बहादुर देउवाले कम्युनिष्टले जिते रुन नपाईने समेत भने । अहिले बजारमा समाजबादको खुब हल्ला छ । धेरै हल्ला हुने कुरा कम साँचा हुन्छन् । अस्ति एउटा अनलाईनमा समेत कम्युनिष्ट शासनको सय बर्ष भन्ने एउटा अनुवादिक लेख आएको थियो त्यहाँ त्रासपुर्ण व्याख्या थियो यो बुझ्न जरुरी छ की प्रजातन्त्रको उत्कृष्ट नमुना मानिएको बेलायतमा काला जातीलाई कसरी दास बनाएर बेलायत ल्याएर रेलवे लिक खनाए । समय कुन थियो त्यसमा भर पर्छ । अहिले मधुशमा सामान राख्ने अलि अलि मात्र चलन छ किन की दराजका जमना आईसके । समाजबादको सिद्धान्त तिर नजाँऊ, केवल आचारण तिर मात्रै जाउँ पहिला । कुनै बेला थियो नेपालमा भन्थे कम्युनिष्टको शासन आयो भने आठ घण्टा काम गर्नुपर्छ उनीहरूले दिएको खानु पर्छ । निकै कष्ट हुन्छ भनेर । समाजबाद कुनै त्यस्तो रुख होईन की फल दिने । व्यवस्था जे भए पनि संस्कार र आचरण फरक नपरे जुनै बादले पनि विकास हुँदैन ।
सामन्ती चरित्र भएको भनेर काँग्रेसलाई निकै गाली गरेको सुन्छौं कम्युनिष्टले तर सामन्ती चरित्र हरेक मान्छे भित्र छ त्यसैले यहाँ पार्टिलाई मात्रै दोष नदिउँ । कुनै बेला झापामा कोकाकोला खाएकोमा पार्टिलाई स्पष्टिकरण बुझाएका प्रकाश ज्वाला के आज कुनै पार्टि कम्युनिष्ट पार्टिमा यस्तै कुरामा स्पष्टिकरण मागिन्छ त ? हाम्रो चरित्र पहिला हेरौं । आजका दिनमा आँफुले खाएको थालमै चुठेर आमा वा श्रीमतीले धुन्छन् भनेर हिड्ने कति छन् । के आफुले खाएको थाल हामी आँफै माझ्न सक्दैनौं । अस्वस्थताका कारण बाहेक आफ्नो थाल आँफै माझ्न के अब समाजबाद नै चाहिने हो त ? हामीले नभोगे पनि अब कुनै समय समाजबाद आईहाले पनि पुँजीबादी समाजबाद नै हो । सिद्धान्तका कुरा गर्ने होभने चीनलाई बेलायतले कार्पेट ओछ्याएर स्वागत गर्नुपर्ने हो त होईन तर किन गरि राखेको छभने अब चीनलाई चिडाएर होईन रिझाएर काम लिनुपर्छ भनेर हो । अहिले बिदेशमा रहेका ४० लाख युवा युवती घण्टाको आधारमा त काम गर्छन । समयमा अधिकांशले पैसा पाएका छन् । यही काम नेपालमा कसैले दिन्छ भने जुन पार्टिको समाजबाद आए पनि फरक केही छ र ? अहिले हामीले समाजबाद भनेको गाउँका मान्छेलाई जराबाट फलेको फल होस् वा हाँगामा फलेको फल होस् यसको मतलब छैन केवल आफ्नै सीप श्रमले आफ्नै आँगनमा रमाउन पाउनु पर्यो । यदि यो हुने हो भने काँग्रेसमा भोट हाले पनि फरक पर्दैन ।
बिहान उठेर चौतारामा गफ ठोक्यो गयो श्रीमान् यता श्रीमतीले खाना कुरेर बसेकी हुन्छिन् आयो खायो अनि थाल फाल्यो अनि हिड्यो । हामीले श्रीमती र आमालाई घरायसी काममा सर–सहयोग गर्न कुनै बाद सिकाउनु पर्ने होईन । घरदेखी अफीस सम्म, गाउँदेखी शहरसम्म हामी आफैले गलत संस्कार स्वीकारेका छौं । हामी राजमार्गमा बालबालिकाको श्रम शोषणका कुरा गरिरहेका छौं तर काठमाण्डौका ठुला बढाका घरमा विकट गाउँबाट ल्याएर काम गर्न राखेका कयौं बालबालिकाहरू छन् । अब सोच्नुस् की के यो आचरण सुधार गर्न समाजबाद कुर्नुपर्छ ? संसारको नेपाल मात्रै देश होला की ट्राफिक लाईट भएको ठाउँमा समेत प्रहरी बसेर लाईटको सिग्नल अनुसार गाडी पठाउने तर त्यही मान्छेहरू विकशित मुलुकमा गए पछि ट्राफिक नियम पुरै पालना गर्छौं । हामीले सक्ने समेत गर्दैनौं तर बादको पछि कुदी रहेका छौं । एक जोर जुत्ता किन्दा सोचेर किन्छौं तर आफ्नो जीवन नै परिवर्तन हुने सम्भावना बोकेको न पार्टि न नेता चुन्दछौं । हामीले आफ्नो हैसियत अनुसारको नेता पाएका छौं अब समाजबादको आशा गरेर काम छैन । समाजबाद भनेको हुने नहुने बीच सम–व्यवहार हो अर्थात सबैलाई काम सबैलाई माम तर अहिले हामी जो सगँ केही छ दिन सक्ने छौ त्यो केही दिएर सहयोगी बन्न चाहेका छैनौ अतः तिनिहरूलाई समाजबाद आए पछि आफ्नो सम्पत्ति घट्ने पो हो की भन्ने डर होला । २१ औं शताब्दीको समाजबाद भनेको कसैको सम्पत्ति कब्जा हुने समाजबाद होईन जस्तो लाग्छ । चीनमा जस्तो शासनले त्यहाँ विकास भएकै छ ।
एक निश्चित हद सम्म सम्पति राख्न पाईन्छ । हामी कहाँ पनि जग्गा राख्ने निश्चित सीमा त छ नै तर हामीले त्यसलाई बेवास्ता गरेका छौं । अब समाजबाद आए कुकुर बिरालाको नाममा सम्पत्ति राख्न नपाईने पीर होला तर अधिकांशलाई यसको पीर छैन यो एक छाकका लागी खाडीमा छन् । हामीलाई एक किसिमको रोग लागेको छ । कसैलाई पश्चिमाको पुरै बिरोध कसैलाई पश्चिमाको पुरै समर्थन । हामीले आँफैले गरेर गाउँ समाजमा परिवर्तन हुन सक्ने आचारणगत कुरामा समेत बादको चिरफारमा छौं । अहिले पनि कतिपय उच्च नैतिक चरित्र भएका मान्छेहरू सामान्य जीवन शैलीमा बाँचेका छन् । हामीले के सोचेका छौं भने व्यवस्थाले सब ल्याउँछ त्यो गलत हो । राणा, पंचायत, बहुदलदेखी गणतन्त्रसम्म कतिपयको जीवन आदर्शवान छ जसले कुनै बाद कुरेनन् । व्यवहारमा परिवर्तन गरौं । भोली समाजबाद आउँदा तपाईको थाल चुठेल्नामा आँफै जानी होईन । तपाई आँफैले लाने हो धुने हो । सोचमा परिवर्तन ल्याउँ ।