म्याग्दी, २१ कार्तिक– आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभाको चुनावमा प्रतिस्पर्धामा उत्रिएका म्याग्दीका उम्मेदवारले पूर्वाधार, जलस्रोत र पर्यटन क्षेत्रको विकास गर्ने मुद्दालाई प्राथमिकता दिएका छन् । एमाले–माओवादीको वाम र काँग्रेस–राप्रपाको लोकतान्त्रिक गठबन्धनको राजनीतिक मुद्दा फरक भए पनि स्थानीय प्राथमिकताका विषय समान छन् । दुवै गठबन्धनका उम्मेदवारले सडक, खानेपानी, विद्युत्, सञ्चार सेवाको विस्तार, जलस्रोत, पर्यटन र कृषिको विकास, शिक्षा, स्वास्थ्य सेवाको गुणस्तर सुधारका विषयलाई चुनावी मुद्दा बनाएका हुन् । एमाले माओवादीको वाम गठबन्धन राजनीतिक स्थिरता कायम गरी चुनावी तालमेल र पार्टी एकता भएको सन्देशसहित जिल्लास्तरमा साझा प्रतिबद्धतापत्र तयार पारेर मतदाता सामु पुगेको छ । लोकतान्त्रिक गठबन्धनले भने जिल्लास्तरमा प्रतिबद्धतापत्र तयार पार्ने काम भइरहेको जनाएको छ ।
वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापाले म्याग्दीको विकासका लागि निर्माण भएका सडकको स्तरवृद्धि, सडक नपुगेका बस्तीमा सडक पु¥याउने, मोटरेबल पुल निर्माण गर्न प्राथमिकता दिने बताए । म्याग्दी, कालीगण्डकी र रघुगंगा नदीको किनारमा रहेका तातोपानीका कुण्डलाई व्यवस्थित गरी प्राकृतिक उपचार केन्द्र बनाउने र म्याग्दी हुँदै कोरला नाका जोड्ने कालीगण्डकी करिडोर आयोजना निर्माण सम्पन्न भएपछि जिल्लालाई पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिने उम्मेदवारथापाले उल्लेख गरे । बिम मराङ मल्कवाङ हुँदै पाखापानी जोड्ने सडकलाई पूर्णता दिई चक्रपथका रूपमा विकास गर्ने पनि उनले जोड दिए । नेपाली काँग्रेसका जिल्ला सभापतिसमेत रहेका प्रतिनिधिसभाका उम्मेदवार खम्बिर गर्बुजाले कच्ची सडकलाई सुधार गरी यातायात सेवालाई व्यवस्थित बनाउन प्राथमिकता दिने बताए ।
यसैगरी यस क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न पूर्वाधार निर्माण र जलविद्युत् आयोजना निर्माणका लागि लगानी भित्र्याउने वातावरण बनाउनेमा जोड दिंदै उनले खानेपानी र विद्युत् विस्तार गर्ने तथा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न प्राथमिकतामा राखिने बताए । प्रदेशसभा क्षेत्र (क)मा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता विनोद केसीले रोजगारी सिर्जना गरी जीविकोपार्जनका लागि विदेशिनुपर्ने युवाको समस्या कम गर्न प्राथमिकता दिने बताए । पर्यटन, जलविद्युत्, कृषि, जडीबुटी क्षेत्रमा रहेको सम्भावनाको पहिचान र व्यवस्थापन गरी रोजगारीको अवसर सिर्जना गर्न सकिने केसीको भनाइ छ । प्रदेशसभा क्षेत्र (क)का राप्रपाका उम्मेदवार भीमप्रसाद गौचनले पाँच वर्षभित्रमा म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक चार लेनको बनाउने, सबै वडा कार्यालय जोड्ने सडकलाई ग्राभेल गर्ने, घरघरमा खानेपानी र निःशुल्क इन्टरनेट सेवा पु¥याउने घोषणा गर्नुभएको छ । उम्मेदवार गौचनले आफ्नो जन्मथलो पाखापानीमा क्याम्पस खोल्ने, पर्यटकीयस्थलमा सडक पु¥याउने, झोलामा कब्जा गरेर राखिएका खोला खोसेर जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिने बताए । प्रदेशसभा क्षेत्र (ख)मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी एमालेका नेता नरदेवी पुनले संविधानमा महिलाको हक अधिकारका लागि भएका व्यवस्थाको कार्यान्वयनमा नेतृत्व गर्नु प्रमुख प्राथमिकता भएको बताए । उनले राज्यमन्त्री हुँदा आफूले डिपिआर तयार पार्न लगाएको उल्लेख गर्दै बेनी–दरवाङ सडक आयोजनालाई प्रभावकारी बनाउने, दरवाङ–ताकम–ढोरपाटनसम्म सडक पु¥याउने र धौलागिरि पदमार्गलाई व्यवस्थित बनाउन प्राथमिकता दिने बताए । यसैगरी तातोपानी–पखेर, बाबियाचौर–अर्मन र भारवाङ–ताकम जोड्ने मोटरेबल पुलका लागि पहल गरेको उल्लेख गर्दै उनले उक्त पुल निर्माण गर्ने र स्थानीय स्रोत साधनमा आधारित उद्यम व्यवसायको प्रवद्र्धन गरी रोजगारी सिर्जना गराउने वातावरण बनाउने बताए । प्रदेशसभा क्षेत्र (ख) मा काँग्रेसका उम्मेदवार अमलाल फगामीले पश्चिम म्याग्दीको गुणात्मक विकास गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए । सडकलाई व्यवस्थित गर्ने, खानेपानी र विद्युत् सुविधा विस्तार गरी जनताको दैनिकीमा सुधार ल्याउने फगामीले घोषणा पनि गरे । फगामीले दुर्गम ग्रामीण क्षेत्रका बासिन्दालाई राहत पुग्ने गरी सडक निर्माण, स्तरवृद्धि, शिक्षाको गुणस्तर सुधार, घरघरमा खानेपानी र विद्युतीकरण विस्तार योजनालाई प्राथमिकता दिने बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न दल सम्बद्ध १३ जनाले उम्मेदवारी दर्ता गराए पनि वाम र लोकतान्त्रिक गठबन्धन प्रमुख प्रतिस्पर्धीका रूपमा रहेका छन् । एक नगरपालिका, पाँच गाउँपालिका, ४५ वटा वडा, ७२ मतदानस्थल र १०६ मतदान केन्द्र रहेको म्याग्दीमा ७५ हजार ५३८ मतदाता छन् ।
Previous Articleतामा र फलामखानी बाट रोजगारीःबिष्ट
Next Article कांग्रेस चुनावी अभियानमा ब्यस्त