बागलुङ, १९ कार्तिक-राज्यले नेपाली भाषालाई पटक पटक कस्तो प्रयोग गर्ने भन्ने प्रयोग गर्दा भाषा विज्ञहरुमा अलमल भएको एक कार्यक्रमका सहभागिले टिप्पणी गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान र धवलागिरी बहुमुखी क्याम्पस नेपाली विभागको आयोजनामा भएको नेपाली भाषा र शिक्षणका चुनौती र समाधान बिषयक गोष्ठी एवं अन्तरक्रियामा सहभागिले भाषालाई महासागर झै बग्न दिनुपर्नेमा कुवा जस्तो बनाउन खोजिएको आरोप पनि लगाए । तत्कालिन शिक्षा मन्त्री दिननाथ शर्माको पालामा विशेषगरी विद्यालयलाई विद्यालय जस्ता पदावली प्रयोग गर्ने गरी फेरिएका मान्यताहरुमा धनिराम पौडेलको पालामा पुन उल्याईएको केही सहभागिले आरोप लगाए । केहीले भने पुरानो लेख्य भाषानै सहज र आवस्यक भएकोमा पनि धारणा राखेका थिए । कार्यक्रममा प्राज्ञ हेमाङ्ग राज अधिकारीले भाषा शिक्षणका लागि रचनामुखी ब्याकरणको खोजी बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले व्यवकरणबाट भाषा सिक्ने कुरा प्रौढको कुरा हो, तर भाषा सिकाई स्वभाविक प्रकृया वा सुनेर तथा बोलेरै सिकिने बताए । उनले भाष्कि व्यवहारबाट सिक्ने धारणा राख्नै लेखाईमा जटिल बनाइएको आरोप लगाएका थिए । उनले भाषा सिकाउने प्रयास भन्दा व्याकरण मात्र सिकाउने र भाषालाई आफ्नै गतिमा हिड्न दिनुपर्ने बताए । कार्यक्रममा पूर्व प्राज्ञ प्रेम छोटाले शब्दको भाषामा अलमलिनु भन्दा भाषाको उत्पती र बिकासबारे यथार्थता बाहिर ल्याउनु आवस्यक भएको बताए । उनले कुन उद्धेश्यले भाषा आएको हो भन्ने कुरा थाहा पाउन त्यसको वास्तविक ईतिहासमा पुग्नुपर्नेमा जोड दिए । परिवर्तनशिलतामा अन्यौल भएमा समाधान खोजेर अगाडि बढ्नुपर्ने भन्दै सह प्राध्यापक षडानन्द पौडेलले भानुभक्तकालीन भाषामा परिमार्जन आवस्यक भएकोमा जोड दिए । कार्यपत्र माथि टिप्पणी गर्नेहरुले भाषामा पटक पटक विभाजन ल्याएर अध्यापनमा समस्या पर्ने र नेपाली भाषाप्रति नकारात्मक टिप्पणी बढ्नेमा चिन्ता पनि व्यक्त गरे । जनगणनामा नेपाली भाषा बोल्नेको संख्या थोरै देखाएर डोटेली, अछामी, जुम्ली जस्ता भाषा देखाएर कम छन् भन्न खोज्नुपनि औचित्य नभएको केहीले टिप्पणी गरेका थिए भने केहीले घटेको संख्यालाई मनन् गर्नुपर्ने बताए । प्रज्ञाप्रतिष्ठान र विश्वविद्यालयहरुले भाषा संरक्षणका लागि गर्नुपर्ने काम गरेर सरकारलाई पनि सोही अनुसारको निष्कर्षमा पुग्ने तथा पढाइलेखाइमा लागू गराउन पहल गर्नुपर्नेमा सरोकारवालाको जोड थियो । धवलागिरी बहुमुखी क्याम्पस नेपाली विभागका प्रमुख डा. दिनबहादुर थापाको अध्यक्षता, हरिप्रसाद गौतमको स्वागत, हरिप्रसाद पाण्डेयको संचालनमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख रामप्रसाद उपाध्याय, पर्वत साहित्य संगमका अध्यक्ष ईन्द्रकुमार विकल्प, सामुदायिक क्याम्पस तर्पबाट सर्वोदय क्याम्पसकी प्रमुख फुलकुमारी केसी लगायतले बालेका थिए ।