हरिनारायण गौतम-अहिले मुलुक चुनावमय बनेको छ । देशब्यापी नै प्रतिनिधिसभा (संघिय) र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता भई निर्वाचन प्रक्रिया अगाडि बढेका छन । यो निर्वाचनमा खासगरी नेकपा एमालेको नेतृत्वमा बामपन्थी दलहरु एकातर्फ र नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठवन्धन अर्काेतर्फ बाट सिधा चुनावी लडाईमा अगाडि बढिरहेका छन । वामगठवन्धनले देशब्यापी रुपमा उत्साह लिइरहेको समबद्ध राजनैतिक दलले वताइरहेका छन । तर लोकतान्त्रिक गठवन्धन भने बलियो बन्न सकिरहेको छैन् । कहिले राप्रपा त कहिले मधेसीवादी दलहरु लोकतान्त्रिक गठवन्धनमा बाहिरीरहेको समाचार सार्वजानिक भइरहेका छन । यतिवेला खास गरी बामपन्थी गठवन्धन विरुद्ध लोकतान्त्रिक गठवन्धनका दलका नेताहरुले विभिन्न आरो लगाइरहेका छन र बामपन्थी दल विचको एकतालाई अराजनैतिक भनिरहेका छन । सामान्यतय कम्युनिष्ट स्कुलिङ नभएकाहरु र जीवनभर बामपन्थीको विरोध गरेर रमाइरहेकाहरुले लगाइएको आरोपका वारेमा त्यतिधेरै वोलिरहनु त पर्दैन, तैपनि यथार्थलाई वस्तुगत रुपमा पस्किनु पनि सवैको दायित्व हो भन्ने कुरा विर्सिनु हुदैन । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाकालमा अहिले जस्तो कोटेरीमा थिएन । सिंगो पार्टीलाई समाजवादी आन्दोलनमा अगाडि बढाउने उदेश्यले नै कम्युनिष्ट पार्टी स्थापना गरिएको यथार्थता सवैका सामु छर्लङ छ । एउटै पार्टी, एउटै संगठन र एउटै उदेश्य राखेर स्थापना गरिएको कम्युनिष्ट पार्टी विस्तार हुदै जादाँ विभाजित भयो र नेताहरुले आआफ्ना कोटेरी निर्माण गरे । धेरै पार्टी त विचारका नाममा गुटका कारण विभाजित भए । पार्टी सत्ता कब्जा गर्ने वहानामा पनि कम्युनिष्ट पार्टी विभाजित भएको छ तर त्यसलाई राजनैतिक र वैचारिक नामकरण भने गरिएको छ । विगतको कम्युनिष्ट आन्दोलनलाई केलाउदा अहिलेका एमाले र माओवादी केन्द्रको उदगम थलो एउटै हो भने कार्यनीति र तत्कालिन कार्यभार पनि लगभग मिल्दाजुल्दा नै देखिएका छन । टुक्रे पार्टी स्थापना गर्दा पृथक दुई मार्ग अवलम्बन गरे पनि र तत्कालिन कार्यनीतिमा एकले अर्कासँग दुस्मन झैं व्यवहार गरे पनि दुवै पार्टी एमाले र माओवादी केन्द्रले माक्र्सवाद, लेनिनवादलाई मान्दै अगाडि बढेका छन । पार्टी विस्तारका प्रमुख आधार मानिएका विषय मध्ये एमालेले झापा विद्रोहबाट पाठ लिदै अगाडि वढ्यो भने माओवादीले जनविद्रोहलाई अख्तियार गर्दै र त्यसवाट शिक्षा लिदै अगाडि बढ्यो । सैद्धान्तिक रूपमा दुवैले द्वन्द्वात्मक भौतिकवादलाई ग्रहण गर्दै अगाडि बढेका छन । उनीहरुको चाहेको समाजवादी समाजको निर्माण नै प्रमुख कुरा हो । हालसम्म नेपाली कम्युनिष्टहरुले गरेको आन्दोलनबाट प्राप्त अधिकतम उपलब्धिले समाजवाद उम्मुख अर्थतन्त्रलाई स्विकार गर्ने विन्दुसम्म आईपुगेको छ । शान्तिपूर्ण रुपमा संविधानसभाबाट निर्माण गरिएको संविधानमा समाजवादलाई प्रष्ट राख्न सक्नुले अव कम्युनिष्टहरु एकतावद्ध भएर अगाडि वढे भने कसैले रोक्न सक्दैनन् भन्ने पनि प्रष्ट भएको छ । माक्र्सवाद, लेनिनवादका महत्वपूर्ण आधारवाट समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य लिएका कम्युनिष्ट पार्टीको एकतालाई यहाँका गैरकम्युनिष्टहरुले स्वभाविक रुपमा पचाउने त कुरा भएन । त्यसैले पनि दिलोज्यान लगाएर यसको विरोधमा जेहाद नै छेडेका छन । त्यसैलाई आधार मानेर कतिपयले दुई ठूला कम्युनिष्ट पार्टीका विचमा पार्टी एकिकरण नै गर्ने गरी भएको चुनावी तालमेललाई विरोध गरिरहेका छन । केही कम्युनिष्ट कार्यकर्ताले पनि आफ्नो ब्यक्तिगत स्वार्थलाई मुल्यांकन गर्दै विरोध गरेका स्वरहरु झिनो रुपमा सुनिएको छ । एउटा विशाल उदेश्य लिएर गरिएको एमाले र माओवादी केन्द्रविचको चुनावी तालमेलले धेरैका आँखा पनि खुलेका छन । खाइपल्केहरुबाट सचेत हुदै एकता पक्रियासम्म अगाडि वढ्दा नेपाली कम्युनिष्ट आन्दोलनले निर्वाचनपछि एउटा निर्णायक मोड लिने निश्चित प्राय छ । यसलाई सफल बनाउन सवै कम्युनिष्ट कार्यकर्ताहरु एकढिक्का भएर अगाडि बढ्नुका विकल्प अहिले देखिएको छैन । अझ वामपन्थीहरुको वहुमतसहितको सरकार निर्माण गर्ने र त्यसले दुई तिहाई पुराउदै समाजवादी समाज निर्माणको आधार तय गर्ने कुरा त चानचुने विषय होईन । यस सुन्दर उदेश्य राखेर गरिएको वामपन्थी गठवन्धनबाट विरोधीहरु डराउनु पनि स्वाभाविक रुपमा लिनु पर्दछ र आफ्नो गन्तब्यलाई सुदृढ गर्दै अगाडि बढ्नु पर्दछ । वास्तवमा जनता र कार्यकर्ताका विचमा दशैंको रंग भरिएको वेला र आफुहरुले नै एक–आपसमा अस्वीकारको तहमा पुगेका दुवै कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्व तहबाटै चुनावी तालमेलमात्र हैन, कम्युनिस्ट एकता अभियानकै घोषणा भएपछि कार्यकर्तामा दुविधा उठ्नु स्वाभाविक थियो । प्रधानमन्त्री बन्ने, राष्ट्रपति बन्ने वा ठूलो पार्टीको ठूलो नेता बन्ने चाहनाले मात्र यो एकता प्रक्रियालाई निर्देशित गरेको भए पनि कम्युनिष्ट इतिहासमा यो महत्वपूर्ण काम भएको हो । विरोधीले भनिएजस्तै शीर्ष तहबाट भएको यो एकता प्रक्रियाको थालनी सत्ता स्वार्थले प्रेरित गरेको होस् या समाजवाद निर्माणको पवित्र उदेश्यले प्रेरित गरेको किन नहोस यो नेपाली समाजको माग थियो भन्ने कुरा विर्सिनु हदैन । नेपाली जनता एउटा कम्युनिस्ट पार्टीविरुद्ध अर्को कम्युनिस्टलाई आफ्नो स्वार्थमा स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिले प्रयोग गरेबाट भोगिरहेको हैरानीले आजित थिए । यति धेरै वामपन्थी रुझानको लोकप्रिय मत हुँदाहुँदै पनि नेपाल भने सधैं राजनीतिक अस्थिरता र टकरावमा परेको कुराले सवैलाई पिरोलिइरहेको थियो । संविधानले परिकल्पना गरेको समाजवाद कस्तो र कसले भनेजस्तो हो त ? यस्तै अप्ठेरोले उनीहरूलाई अचेटिरहेको अवस्थामा भएको बामगठवन्धन र पार्टी एकता घोषणाले जनतामा ठूलो आशा छरेको छ । कम्युनिस्ट एक हुनुपर्छ भन्ने मनोविज्ञानलाई पछिल्लोपटक राजनीतिक सतहमा निकै बलियो गरी प्रकट गर्दै प्रक्रिया आरम्भ भएको छ । अब यो प्रक्रिया केवल सत्ता स्वार्थको क्षणिक लाभहानिमा सीमित रहनु हुदैन भन्ने आवाज वलियो वन्दै गएको छ । यसले नेपाली समाज, एमाले–माओवादी भित्रको संगठन र नेता–कार्यकर्तालाई आफूतिर सिंहावलोकन गर्नसमेत उत्प्रेरित गरेको छ । यो घटनाले यात यी पार्टीहरू साँच्चिकै परिवर्तन हुन्छन, एकीकृत हुन्छन् या यिनैहरूकै बीचबाट नयाँ दलहरू जन्मिन्छन्, समयले वताउने विषय बनेका छन । यो घटनासँगै दलहरूको गठन, पुनर्गठन सुरु भएको छ । वास्तवमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दोस्रो चरणको उम्मेदवारी दर्तासम्म आइपुग्दा यी दुई पार्टी विचका असमञ्जस्यता पनि सहज बन्दै गएको छ । तर यो एकतालाई सार्थक बन्न नदिने बाधाहरू पनि बलशाली रूपमा उपस्थित हुदैछन् । त्यसतर्फ भने सवैले ध्यान दिनै पर्दछ । राम्रो काम पनि खराब नियतसाथ गरियो भने अपेक्षित नतिजा नमिल्ने खतरा हुन्छ । अहिलेको कम्युनिस्ट एकतामा यो ‘खराब नियत’ एक चुनौती हो । यो खराब नियतको दायरा गुट, पार्टी वा राष्ट्रको घेरोमा मात्र सीमित छैन । यसका प्रारम्भिक संकेतकै रूपमा बाबुराम भट्टराई एक सातामै एकता प्रक्रियाबाट अलग हुने परिस्थिति आयो । भोलि अरू अलग हुने चुनौती पनि जीवितै छ । यसमा पार्टीका नेतृत्वकर्ताहरूको आपसी सम्मान, विश्वास र उदारपना तथा कार्यकर्ता पंक्तिको अन्तरघुलनको मात्रा र सैद्धान्तिक स्पष्टताले धेरै अर्थ राख्दछ । सवै प्रक्रियाको आरम्भ ठिक हुँदैमा परिणाम ठीक नआउन पनि सक्छ । के भुल्नु हँदैन भने कम्युनिष्ट आन्दोलनमा लागेका कार्यकर्ताले आफ्नै दलप्रति आलोचनात्मक दृष्टिचेत राखे एकता सार्थक बन्छ । यो कार्यकर्ता तहमा हुने कार्यशैलीगत कुरासंग पनि समबन्धित छ । विश्लेषण गर्यौ भने सुरुमा कार्यकर्तामा एकता प्रक्रियाको घोषणालाई स्वागत गर्ने कि विरोध गर्ने भन्ने बेचैनी छायो । एमालेको लोकप्रियता देखेर एमाले सिध्याउन प्रचण्डको डिजाइन चल्योदेखि प्रचण्डले क्रान्तिकारिता छाडेर पार्टी विसर्जन गरेको आरोप खुब चल्यो । विचारधारात्मक तहबाट एमाले माओवादीको दस्तावेजका नीति तथा कार्यक्रमलाई आधार देखाउदै विरोधमा गरेका टिप्पणी भने कम भेटिए । दुवै पार्टीहरूको दस्ताबेजमा समाजवाद निर्माणका लागि बृहत् कम्युनिस्ट एकताका लागि पहल गर्ने कुरा उल्लेख छ । तर त्यसको आधारमा कसैको पनि प्रतिक्रिया आएनन् । अधिकांशले यसमा षड्यन्त्र मात्रै देखे । एउटा गुटले अर्को गुट सिध्याउन गरिएको षड्यन्त्रको विषय वढि चर्चामा आयो । फरक गुटका प्रतिस्पर्धी नेतृत्वलाई ‘देखाइदिन’ गरिएको षडयन्त्र पनि भनिए । एमाले सक्न गरिएको षड्यन्त्र, माओवादी सक्न गरिएको षड्यन्त्र । षड्यन्त्रको सिद्धान्तका आधारमा भूराजनीतिक पाटो पनि चर्चामा आयो । कतिपयले त भारत विरुद्धको चिनियाँ षड्यन्त्र देखे, कतिपयले भारतकै षड्यन्त्र देखे । अनि त्यस्तै–त्यस्तै लेखे । एकताकै पक्षमा लाग्नेहरूलाई पनि यो एकताको झ्वाट्ट विश्वास लागेन । किनकि कम्युनिस्ट पार्टीहरूलाई नेतृत्व गरिरहेका अहिलेका प्रमुख नेताहरू कोही त्यागी देखिँदैन थिए । उनीहरू एक–आपसलाई आफूभन्दा नीचा, अयोग्य, असक्षम, कम बुझेको, गलत ढंगले लागेको, दृष्टिकोणको कमी भएको, परम्परावादी भएको, दक्षिणपन्थी भएको, उग्रवादी भएको र यस्तै–यस्तै अनेक देख्थे । त्यति मात्रै होईन, पार्टीहरूभित्र विचारधारात्मक कामचाहिँ न्यून तर चुनाव जित्ने सत्तामा पुग्ने चाहना भने व्यापक थियो । यसले कम्युनिस्टहरूले चुनाव पनि जित्ने, सत्तामा पनि पुग्ने, तर उनीहरूभित्र ‘कम्युनिस्ट तत्व’ भने अलप हुने खतरा थियो । हुन त अहिले पनि त्यो खतरा टरेको छैन । जसले कम्युनिस्ट एकताका लागि केही फोरम बनाउँदै थिए, उनीहरू पार्टीका दोस्रो पंक्तिका नेताहरू थिए । दोस्रो पंक्तिकै पनि सबै त्यहाँ थिएनन् । पार्टीहरू भित्रको भयानक गुटबन्दीले उनीहरूलाई एक ठाउँमा ल्याउन दिँदैनथ्यो । यस्तो अवस्थामा कम्युनिस्ट एकता सुदूरकै कुरा थियो । यी परिदृश्यबाट भएको चुनावी तालमेल र पार्टी एकतालाई मूर्तरुप दिन पनि आगामी मंसिरमा हुने निर्वाचनमा वामगठवन्धनलाई विजयमा परिणत गराउन सवै लाग्नै पर्दछ । यसको साँचो कडी कम्युनिष्ट एकताको मर्मभित्र मात्रै देख्न सकिन्छ । वाटाहरुमा आईलाग्ने सवै चुनौती सामना गर्ने मजवुुद शक्तिले मात्रै कम्युनिस्ट आन्दोलनको सार्थक एकता र सफलतालाई निष्कर्षमा पुराउन सकिनेछ । त्यसैले सवै जुटौं, लागांै र परिणाम हात पारौं ।