आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले गाउँघर धपक्कै ढाकेको छ । राजनीतिक दलका नेता, कार्यकर्ता र उमेदवारहरुले दैनिक दर्जनबढी कार्यक्रम गरिरहेका छन् । चुनाव प्रचार प्रसारको क्रममा संगठन विस्तार, एक अर्काका मतदातालाई पार्टी प्रवेश गराउने देखि ५ बर्षका लागि आश्वासनका पोका बाड्ने काम भैरहेको छ । तर यतिबेला राजनीतिक दलले प्रतिनिधि सभा, प्रदेश सभा र दुवै सभाका लागि समानुपातिक मतदानमा कसरी छाप लगाउने ? कसरी भोट हाल्ने, अर्थात के गर्दा बदर हुन्छ भन्ने जस्ता बिषय सिकाएका छैनन् । त्यसोत जिल्ला निर्वाचन कार्यालयले अहिले सम्म दलहरुलाई नमूना मतपत्र दिन सकेको छैन । केन्द्रीय रुपमा बिवाद भएपछि ढीला गरी मतपत्र छाप्ने काम भैरहेको छ भने मोडल कस्तो हुने कुरा पनि निकै ढीला मात्र निर्णय भएको थियो । तसर्थ अहिले सम्म जिल्ला तहमा मतपत्रको नमूना आइसकेको छैन । साथै दलहरुले पनि आफ्नो निर्वाचन चिन्ह बारे जानकारी दिएपनि दुइ वटा प्रत्यक्षका मतपत्र हुने, ती मतपत्रलाई छुट्टाछुट्टै बाकसमा खसाल्ने जस्ता बिषयमा कुरा बुझाएका छैनन् । स्थानीय तह निर्वाचनमा एउटै मतपत्रमा ७ वटा छाप लगाएको स्मरणबाट बुढाबुढी, निरक्षर र ग्रामीण बासिन्दाले यो पटक पट िधेरै स्थानमा छाप लगाएर बदर गर्न सक्ने संभावना बढी छ । निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम संचालन गर्नुपर्नेमा अहिले सम्म थालेको छैन । उसले पनि आवस्यक सामाग्री नआएको, नमूना मतपत्र अभाव जस्ता कारण देखाउने गरेकोछ । जसका कारण ढीला गरी आएको सामाग्री ग्रामीण क्षेत्रमा पुग्ने संभावना न्युन भैसकेको छ । यो अवस्थामा धेरै मत बदर हुने खतरा बढेर गएको छ । मतदाता शिक्षा कार्यकर्ता तयार भएपनि काम नदिएपछि उनीहरु गाउँ गएका छैनन् । यो अवस्थामा मत बदर हुनबाट बचाउने एउटै मात्र उपाया राजनीतिक कार्यकर्ताले बढी शिक्षा दिन आवस्यक छ । मत माग्दै गर्दा दुइवटा मतपत्र हुने, ती मतपत्र पट्याउने तरिका र समानुपातिक तर्फ दललाई मत दिने तरिका समेत सिकाउनु पर्छ । समानुपातिक तर्फ एउटै कागजमा दुइ मतपत्र हुने बिषयलाई पनि स्पष्ट पार्न नसकेमा संघ वा प्रदेश मध्ये एक स्थानको मत नहाल्ने वा एकै स्थानमा दोहोरो मत परेर बदर हुने खतरा पनि उत्तिकै छ । यस्ता बिषयमा कार्यकर्ताले घरघरमा प्रचार र प्रशिक्षण दिन सकेको खण्डमा आम जनता प्रशिक्षित हुने मौका पाउनेछन् । नत्र अधिकंस मत बदर हुने, सानो अंकले हार जित हुने खतरा भयो भने दलहरुकै लागि त्यो दुर्भाग्य हुनेछ । यस्ता बिषयमा जानकारी दिने काम संचारकर्मीको पनि हो । तर भाषण, आमसभा जस्ता नेताको प्रचार हुने खालका समाचारमा मात्र संचारकर्मीहरु केन्द्रीत भएका छन् । आम जनतालाई यो निर्वाचनको आवस्यकता र महत्व बुझाएर मतको सदुपयोग गर्न पनि सिकाउनुपर्ने आवस्यकता छ । तर संचारकर्मी पनि दलको कार्यकर्ता भएर एकपक्षिय काम गर्न भने हुँदैन । मतपत्र, मतको महत्व र बदर नहुने गरी शिक्षा दिने जिम्मेवारी भने सबैको हो ।
Previous Articleप्रदेश प्रशासनिक संरचना तयार
Next Article निर्वाचन र कम्युनिष्ट एकताको मर्म