बागलुङ, १७ कार्तिक-राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङले आसन्न निर्वाचनमा कांग्रेसका उमेदवारलाई सहयोग गर्ने उद्घोष गरेका छन् । राप्रपाका केन्द्रीय उपाध्यक्ष दिलविकास राजभण्डारी र जिल्ला अध्यक्ष सुरेन्द्र खड्का सहितले पत्रकार सम्मेलन गरेर लोकतान्त्रिक गठबन्धन बनाउने अभियानमा सहयोग गर्ने राष्ट्रिय नीति अनुसार कांग्रेसलाई सहयोग गर्न लागेको बताएका हुन् । केन्द्रीय अध्यक्ष कमल थापालाई प्रत्यक्ष उमेदवारमा सहयोग गरेकोले जिल्ला तहमा राप्रपाले सहयोग गर्ने नीति बनाएको अध्यक्ष सुरेन्द्र खड्काले बताए । समानुपातिक तर्फ आफ्नो गाई चिन्हमै मतदान गर्न आग्रह गर्ने र प्रत्यक्ष तर्फ प्रतिनिधिसभा र प्रदेश सभामा कांग्रेसको रुख चिन्हमा मतदान गर्न कार्यकर्तालाई आग्रह गर्ने निर्णय भएको उलने जानकारी दिए । पत्रकार सम्मेलनमा चुनाव प्रचारका लागि राप्रपाले विभिन्न समिति समेत गठन गरेको जानकारी दिइएको थियो । पार्टी सचिव बिष्णु सापकोटाको संयोजकत्वमा ५ सय १ सदस्य प्रचार समिति गठन गरिएको बताइएको हो । त्यस्तै सम्मर बहदुर कार्कीको संयोजकत्वमा २ सय १ सदस्य युवा परिचालन समिति, कृष्णकुमारी शेरचनको संयोजकत्वमा १ सय ५१ सदस्य महिला, क्षेत्रीय अध्यक्षहरु सुदर्शन पन्त हेमराज, लक्ष्मी सापकोटा र चक्रबहादुर मल्लको संयोजकत्वमा छुट्टाछुट्टै तीनवटा समिति गठन भएको पनि जानकारी गराइयो । कार्यक्रम सुरेन्द्र खड्काको अध्यक्षता र सचिव बिष्णु सापकोटाको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष राजभण्डारीले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र स्थापनाका लागि पार्टी चुनावमा होमिएको लगायतका संगठनको बिषयमा प्रस्तुतीकरण गरेका थिए ।