बागलुङ, १६ कार्तिक– शिक्षकको लापरबाही, अभिभावकको वेवास्ता र प्रअहरुको राजनीतिक स्वार्थका कारण सामुदायिक विद्यालयको गुणस्तर खस्केको बागलुङमा आयोजित एक कार्यक्रममा बताइएको छ । बागलुङ नगरपालिकाले आयोजना गरेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा देखिएका चुनौती र समाधानका उपाय बिषयक छलफलमा नगरपालिकाको तर्फबाट प्रस्तुत प्रतिवेदनमा यस्तो बताईएको हो । सबैले आफ्नो जिम्मेवारी पुरा गर्न नसक्दा सामुदायिक विद्यालयको गुणस्तर खस्केको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । साथै उचित व्यवस्थापन नभएकै कारण अधिकांस बालबालिकाहरु संस्थागत विद्यालयतर्फ आर्कर्षित भएको देखिएको उनको टिप्पणी छ ।
दिनदिनै घटेको आर्कषणलाई पुनः फर्काउनका लागि अनिवार्य अंग्रेजी शिक्षा लागू गर्नुपर्ने, कक्षा कोठामा राखिएका कालोपाटीलाई विस्थापित गर्ने जस्ता बिषयलाई समावेश गरेर सुधारको योजना बनाउनुपर्ने समेत जोड दिइएको छ । नगरभित्रका ८८ वटा विद्यालयका अध्यक्ष, प्रअ र शिक्षक समेतलाई बोलाएर आगामी शैक्षिक शत्रमै सुधारको संकेत दिने गरी योजना बनाउन लागिएको समेत पोखरेलले बताए । अन्तरक्रियामा आएकाहरुले सामुहिक योजना बनाएपनि फर्केपछि विद्यालय तहमा पनि आफ्नै कार्ययोजना बनाउने योजना समेत छ । उक्त योजनाले विद्यालय क्षेत्रको गुणस्तरमा सुधार हुने पोखरेलले बताए । हाल जिल्लाको सिकाई उपलब्धी ६२ प्रतिशत मात्र भएकोले त्यसलाई बढाएर कम्तिमा ६५ अंकमा पु¥याउने तयारी समेत छ । प्राथमिक तहमा अनिवार्य अंग्रेजी माध्यममा पढाउने, कक्षा ३ सम्मका बालबालिकालाई अनिवार्य रुपमा न्यानो कार्पेट राखेको कक्षा कोठामा पढाउनुपर्ने नगरपालिकाको योजना छ । ‘अधिकांस सामुदायिक विद्यालयमा प्राथमिक तहका बालबालिकाको संख्या घट्दो दरमा जानुमा बसाईको समस्या हो’ पोखरेलले भने, ‘विद्यालय जाउँजाउँ हुनुपर्नेमा गएका बालबालिका डराएर फर्कने जस्ता कोठा बनेको सुधार गर्न लगाउँछौं ।’
हरियाली विद्यालय, सफा र रमाईलो कक्षा तथा खेलेर सिक्ने वातावरण बनाउन सक्ने शिक्षक चाहिएको पनि उनले बताए । ‘सरकारी खाएका शिक्षकले राजनीतिक दलको झोला बोकेर हिड्ने, कक्षा कोठामा तोकिएको समय नबस्ने, बालबालिकाको सिकाई वृद्धि हुने क्रियाकलाप र अध्यापन नगर्ने अनुगमनले देखाएको पोखरेलले टिप्पणी समेत गरे । कार्यक्रममा पोखरेल सहित संस्थागत विद्यालयको तर्फबाट चिल्ड्रेन लाईफ बोर्डिङका प्रिन्सिपल नवराज श्रेष्ठ र सामुदायिक विद्यालयको तर्फबाट गणेश माविका प्रअ चुडामणी शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । उनीहरुले शिक्षक र अभिभावक मिलेमा सामुदायिक वा संस्थागत जुन विद्यालयमा पनि शैक्षिक गुणस्तर सुधार गर्न सकिने बताएका थिए । कार्यक्रममा नगर प्रमुख जनकराज पौडेल लगायत नगर कार्यपालिकाका पदाधिकारी, कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटा लगायतले बोलेका थिए । नगरपालिका सामाजिक विकास शाखाका प्रमुख गणेश थापाको अध्यक्षता, शिक्षा श्रोत व्यक्ति ढकप्रसाद पुनको संचालन र शाखाकी सदस्य कालिका सापकोटाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Articleउपेक्षितको पक्षमा हाम्रा उम्मेदवार मैदानमा छन् : डा.ओम गुरुङ
Next Article छ घण्टामै अव सेराबाट सुनौली