बागलुङ, १६ कार्तिक–देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सल्लाहकार एवं प्राध्यापक डा. ओम गुरुङले बाम गठबन्धन र अन्य राजनीतिक दलको भन्दा भिन्न बिचार मार्फत नीति निर्माणमा पुग्ने बताएका छन् । समानुपातिक उमेदवार बनेका गुरुङले अति विपन्न, सामाजिक रुपमा पछाडि पारिएका, जनजाती र दलितको पक्षमा कानून बनाउनका लागि आँफूले उमेदवारी दिएको बताए । बुधवार मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा पहिचान र सामथ्र्यको आधारमा देश विकास गर्ने आधार आँफूसँग भएको पनि बताए । संविधान निर्माण तथा संघियता कार्यान्वयनको चरणको समयमा पनि गुरुङले विज्ञ समूहको रुपमा नेपालमा ९ देखि ११ वटा प्रदेश बनाउनुपर्ने सुझाव दिएका थिए ।
उनको सुझावलाई वेवास्ता गरिएकोले कानून बनाउने स्थानमा पुगेर जनताको भावनालाई सम्बोधन गर्नका लागि मोर्चा चुनावमा लागेको र आँफू देशभरका जनताको मतबाट संसद बन्न चाहेकोले समानुपातिकमा बसेको पनि बताए । उनले आँफूलाई लागेको आरोप चिर्नका लागि यो निर्वाचनमा होमिएको समेत टिप्पणी गरे । उनलाई अधिकांसले आदिवासी जनजातीको एजेण्डामा मात्र हिडेको केहीले आरोप लगाउने गरेका छन् । उक्त आरोप खण्डन गर्दै गुरुङले भने, ‘मैले सबै उत्पीडितको पक्षमा बोलेको हो, तर मलाई जातीगत भयो भने ।’ उनले जातीगत राजनीति नगर्ने पनि स्पष्ट पारेका थिए । त्रिभुवन विश्व विद्यालयको समाजशाष्त्र मानवशाष्त्र विभागको लामो समय प्रमुख भएर बसेका गुरुङले प्राध्यापनको समयमा पनि जनजातीकै बिषयमा बढी प्राध्यापन गर्थे । उनले पत्रकार सम्मेलन मार्फत देशभर डुल्ने र अहिले सम्म पुगेका स्थानमा सकारात्मक प्रतिक्रिया पाएको पनि बताए । उनले आँफू विरामी भएर उपचारमा लाग्दा सहयोग गर्ने आम नेपालीलाई धन्यवाद दिएका थिए ।