बागलुङ जिल्लाको रायडाँडामा जन्मिएर २०३३ सालको बिद्यार्थी राजनीतिदेखी हालसम्म जिल्लाको राजनीतिमा होमिएका नेपाली कांग्रेस बागलुङका जिल्ला सभापति दिपेन्द्र थापा आगामी मंसीर १० गते हुन लागिरहेको प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ बागलुङको क्षेत्र नं १ को १ बाट चुनावी मैदानमा उत्रिएका छन् । कांग्रेसको राजनीतीमा लामो समय बिताएका थापाको उम्मेदवारी र भावी योजनाका बारेमा जनमञ्चकर्मी तारानाथ आचार्यले गरेको संक्षिप्त कुराकानी ।
प्रदेश सभामा यहाँको उम्मेदवारी के–का लागि ?
वास्तवमा भन्नु पर्दा यतिबेला देशमा लोकतन्त्र धरापमा छ । लोकतन्त्रको रक्षाको लागि पार्टिको तर्फबाट मेरो उम्मेदवारी हो । बाम एकताका कारण लोकतन्त्र खतरामा परेको बेला बहुदलीय व्यवस्थालाई जोगानु मुख्य कुरा हो । एकदलिय ब्यवस्थाको खतरा रहेकाले बहुदल र बहुलबादलाई जोगाउनको लागि कांग्रेसले प्रदेश सभामा मेरो उम्मेदवारी प्रस्तुत गरेको छ । राज्य एकदलिय व्यवस्थामा जानबाट जोगाउनको लागि मलाई मतदान गर्न आग्रह गर्दछु ।
तपाईलाई जनताले भोट दिने आधार के छन् ?
मलाई भोट दिने आधार धेरै छन् । म लोकतन्त्रवादी हुँ । विद्यार्थी जीवनदेखि निरन्तर लोकतन्त्रको लागि लडिरहेको छु । लोकतन्त्रको स्थापनाका लागि विद्यार्थी जीवनबाट मैले राजनीति सुरु गरें । जनताको सेवा र देश विकासको लागि राजनीति गर्दा मैले खाईपाई आएको शिक्षकको जागिर पनि छोडेको छु । बहुदलीय व्यवस्थामा २०४८ सालमा भएको निर्वाचनमा जिल्लाको रायडाँडा गाविसमा मैले तत्कालिन गाविस अध्यक्ष जितें । त्यस पछाडि मैले सिमित स्रोत साधनको प्रयोग गरेर पनि जनतालाई सेवा दिएको छु । विकट गाउँहरुमा बिद्युतको बिस्तार गर्न होस या सडक सञ्जाल बिस्तार गर्न मैले काँध थापेर काम गरेको छु । जनताले मुल्याङ्कन गर्ने गरी मैले ब्यक्तिगत लगानीमा पनि धेरै कामहरु गर्दै आएको छु । यि र यस्ता कामहरुनै जनताले मलाई भेट दिने आधार हुन् ।
प्रदेश सभा सदस्यमा बिजय भए तपाईका प्राथमिकता के छन् ?
संविधानले देशमा ३ वटा शासन व्यवस्था कायम गरेको छ । तिन तहमा हुने संरचना अनुसार प्रदेशको लागि संबिधानले ब्यवस्था गरेअनुसारका नीति नियम बनाउनु पहिलो काम हुनेछ । नीतिगत रुपमा प्रदेशलाई बलियो बनाएर उतपादन र विकासको क्रमलाई गति दिने काम मेरो पहिलो हुनेछ । संबिधानले व्यवस्था गरेका ७ वटा प्रदेशमध्यको ४ नम्वर प्रदेशको संभावना तथा चुनौतीहरुको अध्ययन गरी समस्याको पहिचान गरेर काम गर्नेछौं । दैनिक एक हजार पाँच सय जना युवा देशबाट पलायन भैरहेका छन् । रोजगारीको सिर्जना गरेर ती युवालाई रोक्ने वातावरण बनाउने काम पनि प्राथमिकतामा राख्ने छु ।
जनताले सम्झन लायक कुनै सामाजिक काम गर्नु भएको छ ?
मैले सम्झेरै नसकिने गरी सामाजिक काममा समय बिताएको छु । गाविस अध्यक्ष हुँदा महिनौसम्म तत्कालिन माओवादीले भत्काएका संरचनाहरु बनाउन जनता सँग–सँगै काम गरेको छु । रायडाँडामा सडक बिस्तार गर्दा होस या बिद्युत बिस्तार गर्दा मैले जनतासँगै श्रमदान गरेको याद छ मलाई । सरकारको मात्रै भर पर्ने प्रथाको अन्त्य गर्दै श्रमदानमा विकास निर्माणका काम गर्नुपर्छ भनेर मैले जनतासँग काँधमा काँध मिलाएर काम गरेको सायद उनीहरुले पनि सम्झिंदै छन् होला ।
रायडाँडा बाहिर केही गर्नु भएन ?
गरेको छु । बाहिरको मुख्य सम्झन लायक काम भनेको बागलुङ–कुश्मीशेरा एडिबिले खनेको बाटोको अबरोध हटाएको हो । तत्कालिन समयमा बाटो खन्नका लागि निकै ठुलो अवरोध भएको थियो । मैले लामो समय लगाएर त्यो अवरोधलाई हटाउन पहल गरेको थिएँ । सफल पनि भएँ । अहिले त्यो बाटोमा निर्वाध गाडी गुड्छन् । त्योबाहेक धेरै काम मैले गरेको छु ।बागलुङका समस्या कसरी पहिचान गर्नु हुन्छ ? बागलुङमा धरै समस्या छन् । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोरले छोएका क्षेत्रबाहेक बागलुङका अन्य क्षेत्र अहिले पनि १८ औं शताव्दीको अवस्थामा छन् । बेरोजगारी, ढल निकासको समस्या, विद्युत, बन्द एयरपोर्ट, धार्मिक सम्पदाको प्रचार–प्रसार हुन नसक्नु, पर्यटकीय स्थलहरु ढोरपाटन, घुम्टे, भकुण्डे जस्ता क्षेत्रको प्रचार–प्रसार हुन नसक्नु । जडिबुटी भएर पनि प्रशोधन र बजारीकरण हुन नसक्नु बागलुङका समस्या हुन् । यि सबै खालका समस्याको समाधानका लागि योजना बनाएर काम गर्ने पक्षमा छु ।
प्रदेश सभा सदस्य जिते के काम गर्नु हुन्छ ?
प्रदेश सभा सात प्रदेश मध्यको एक इकाई हो । प्रदेश सभामा प्रदेश भित्रका जिल्ला र स्थानिय निकाय सञ्चालन गर्न आवस्यक ऐन नियमहरु बन्छन् । प्रदेश सभा स्थानिय सरकार र संघिय सरकारको बीचमा सम्बन्ध बनाउने निकाय पनि हो । हुनतः स्थानिय निकाय पनि स्वायक्त रहन्छ भने संघले आफ्नै हिसाबमा काम गर्छ तर स्थानिय निकाय र संघिय संसदकोे बिचमा सम्बन्ध तथा समन्वय गर्नै प्रदेदेश सभाले भुमिका खेल्न सक्छ । यो विकास निर्माण गर्ने र समस्याको पहिचाहन गर्ने थलो भएकाले सोही अनुसारको काममा लागिने छ ।
संघ, प्रदेश र स्थानिय सरकारको बीचमा प्रदेश सभाको कस्तो भुमिका रहन्छ ?
नेपालको संबिधानको धारा ८ मा स्थानिय तहको लागि छुट्टै व्यवस्था गरिएको छभने धारा ९ मा प्रदेश सभा तथा संघिय संसदको सञ्चालनको बिषयमा उल्लेख गरिएको छ । प्रदेश सभा समन्वयकारी भुमिकामा रहन्छ । प्रदेश सभामा संबिधानमा भएको व्यवस्था र बाँकी बन्न लागेका ऐनहरुले व्यवस्था गरेअनुसारको काम हुन्छ । बिधि र बिधानमा रहेर जनताको हितमा गर्न सकिने सबैखाले विकास निर्माणका काम मैले प्रदेश सभामा रहेर गर्ने प्रण गरेको छु ।
हजुरको पार्टीले तपाईंको उम्मेदवारीलाई कसरी लिएको छ ?
म पहिलो कुरा त पार्टिलाई धन्यवाद दिन चाहन्छु । लामो राजनीतिक यात्राको पार्टीले मुल्याङकन गरेको छ । लोकतन्त्रको स्थापना र रक्षामा मैले गरेको योगदानलाई पार्टिले सहि मुल्याङकन मात्रै गरेको छैन् । चुनावी प्रचारमा पार्टीले गरेको सहयोगलाई मैले कहिलै भुल्ने छैन् । म जिल्लाको पार्टी सभापति भएकाले संस्थागत रुपमा पार्टीपंक्ति स्वतः मलाई सघाउनमा लाग्नु स्वभाविक हो । अहिलेको परिस्थितीमा बाम एकताका कारण बागलुङमा अलग–अलग खालका आँकडाहरु आएका छन् यो आँकडालाई मैले बिश्वास गर्दिन र यसलाइ जनस्तरबाट चिर्न पार्टिले राम्रो सहयोग गरेको छ । म पार्टिलाई फेरी पनि धन्यवाद दिन चाहन्छु ।
अन्तमा बागलुङ विकासको लागि चुनाव जितेपछि केही योजना बनाउनु भएको छ की ?
राष्ट्रिय गौरवका योजनाको काम केन्द्र सरकारले गर्छ । प्रदेश सरकारमा योजना बनाएर जिल्लाको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिकाहुँदै बानपा–१४ नारायण स्थानमा रहेको एयरपोर्टसम्म रिङरोड बनाउने योजना बनाएको छु । जिल्लामा उपलव्ध जडिबुटीको प्रशोधन तथा प्रबर्धन, कालिका भगवती, बलेवाका कालभैरव र पञ्चासे क्षेत्रको प्रचार–प्रसार रोजगारीको सिर्जना गर्ने, हाईड्रो पावरहरुको सञ्चालन, कृषि प्रणालीमा बैज्ञानिक पद्धति लागु गर्ने स्थानिय खानीहरुको उत्खनन् गर्ने र बागलुङको डिपिआर तयार गरी बागलुङ विकासमा लाग्ने योजना छ । हिजो जे भए ति सबै कुरालाई भुलेर बर्तमान बैज्ञानिक युग अनुसारको योजना बनाएर बागलुङको समुन्नतिमा लाग्ने प्रण गरेको छु ।