डिल्लीप्रसाद गौतम
कात्तिक महिनाको आगमनसंगै मौसममा अनपेक्षित परिवर्तन भएको छ । तिहारको पुर्वसन्ध्यासम्म अन्यन्तै गर्मी महशुश गरिएकोमा दिपावली अर्थात् तिहारको अन्त्यसंगै आकस्मिक रुपमा मौसममा परिवर्तन भएको छ । क्रमिक रुपमा चिसोपना महशुश हुनुपर्नेमा यसपटक एकाएक मौसममा परिवर्तन भै कात्तिक महिनाको पहिलो सातामा नै अत्याधिक चिसोपनाको महशुश गरिएको छ । देशभर मौसम परिवर्तन भै एकाएक चिसोपना महशुश गरिएतापनि राजनीतिमा भने एकाएक वातवरण तातिएको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभामा हुन गैरहेको ३२ जिल्लाको लागि पहिलो चरण अन्र्तगत मंसीर १० को चुनावको गतिविधिले राजनीतिक क्षेत्र भने एकाएक तातेको छ । यसै क्रममा हाम्रो बागलुङ जिल्लाको राजनीति पनि चिसो मौसमका वावजुद उष्णविन्दुमा पुगेको छ । उसो त देशको राजनीति नेपालीहरुको महान् चार्ड विजया दशमीको अन्त्यसंगै एकाएक परिवर्तन भएको थियो । खासगरी देशका प्रमुख वामघटक प्रमुख प्रतिपक्षी नेकपा एमाले तथा सत्ता पक्ष नेकपा माओवादी केन्द्र बीचको चुनावी तालमेल तथा गठबन्धले देश विदेशमा समेत ठूलै हलचल पैदा गराईदियो । यसको सेरोफेरोमा रहेर अन्य स–साना वापन्थी दलहरु समेत यही गठबन्धनमा छिरेर चुनावी तालमेल गर्ने पक्कापक्की गरेपश्चात नेपालको राजनीतिमा ठुलै तरङ्ग पैदा गराईदियो । एमाले तथा माओवादी केन्द्र तथा अन्य वामघटक बीचको चुनावी तालमेलसंगै प्रजातान्त्रिक गठबन्धनको पनि अभ्यास हुनु सामान्य थियो ।
तर जसरी वाम गठबन्धन सशक्त रुपमा चुनावी तयारीमा उत्रियो त्यसको तुलनामा प्रजातान्त्रिक गठबन्धनको मुर्तरुप तयार हुन सकेन । खासगरी कांग्रेस र राप्रपाबीच ठाउँ अनुसार स्थानिय स्तरमा चुनावी तलमेल भएपनि सांगगनिक रुपमा प्रजातान्त्रिक गठबन्धन तयार हुन सकेन । खासगरी स्थानिय चुनाव पश्चात तराईका जिल्ला र मधेसमा सशक्त रुपमा उपस्थिति देखाएका राजपा तथा संघीय समाजवादी फोरमबीच चुनावी भागवण्डा नमिल्दा यो लेख तयार पार्ने बेलासम्म प्रजातान्त्रिक गठबन्धनले मुर्तरुप पाउन सकिरहेको छैन । यसरी वाम गठबन्धनले आफ्नो रणनीति अनुसार चुनावी तालमेल गरी आ–आफ्ना उम्मेदवार तयार गरी प्रचार प्रसारमा पनि सशक्त रुपमा लागिरहँदा प्रजातान्त्रिक गठबन्धन अझैपनि कुहिरो भित्रको काग जस्तै बनिरहेको छ । एकातिर गठबन्धनले हौसिएको वामगठबन्धन त अर्काेतर्फ स्थानिय चुनावमा घातप्रतिघातले पिल्सिएको कांग्रेसको चुनावी कार्यक्रम हाम्रो जिल्ला बागलुङमा त्यति उत्साहपूर्ण देखा परिरहेको छैन । एकातिर स्थानिय चुनावको राग अझै कायमै रहेकोले अर्काेतर्फ उम्मेदवारका आकांक्षी बढि भएका कारण संघ तथा प्रदेशको चुनावमा समेत आफ्नो नाम समावेश नभएका कारण कतिपय कांग्रेसका नेता तथा तिनका कार्यकर्ताहरु स्वतः स्फुर्त चुनावी प्रचार–प्रसारमा लाग्नु पर्नेमा अझै काठमाडौंका गल्ली–गल्ली चाहार्दै नेताहरुको ढोका ढक्ढक्याउन व्यस्त रहेका कारण बागलुङ कांग्रेसको चुनाव प्रचार–प्रसारले गति लिईरहेको पाईदैन । उसो त जिल्ला भित्रै रहेका नेता तथा कार्यकर्तासंग पनि पार्टीले सरसल्लाह तथा खटनपटन र सूचना आदानप्रदानमा कमजोरी रहेको समेत कांग्रेस नेता कार्यकर्तामा गुनासो रहेको पाइन्छ ।
एकातिर वापन्थी दलहरु गठबन्धन गरेर चुनावी अभियानमा जोशजाँगरका साथ लागिरहँदा कांग्रेस भने आपसी झिनामसिना विषयमा अल्झिरहँदा यसको असर आम मतादातासंग पर्ने कुरामा कांग्रेस नेता तथा कार्यकर्ता सजग हुनपर्ने देखिन्छ । अहिलेको समय आपसी सामान्य कुरामा अल्झिने न भै समग्र कांग्रेस देशभर एक भएर चुनाव प्रचार प्रसारमा लाग्नु पर्ने बेला हो । कुनै नेता तथा उम्मेदवारप्रतिको असन्तुष्टिले र आपसी तालमेल नमिल्दा अधिकांश आफ्नो पकड रहेका ठाउँ गुमाउनु परेको कटु यथार्थता कांग्रेसमा ताजै छ । त्यसैले अहिलेको परिप्रेक्ष्यमा समग्र वामपन्थीको विरुद्व प्रजातान्त्रिक गठबन्धन र खासगरी कांग्रेस आफैमा रणनीतिक ढंगले आफ्ना उम्मेदवार जिताउन र वामगठबन्धनलाई पराजित गर्नको लागि खरो उत्रनु पर्ने आवश्यकता हो । उसो त जिल्लामा कांग्रेसको चुनावी अभियान नभएका भने हैनन् । उम्मेदवारहरु आ–आफ्नो टोली बनाएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । खासगरी वामगठबन्धनले लगभग बानपाका प्रायः वडामा आफ्नो उपस्थिति देखाईसकेको छभने कांग्रेसका उम्मेदवारहरु समेत चुनावी अभियानलाई तीव्र पारिरहेका छन् । घरदैलोको क्रममा मतदाताहरु निकै उत्साहित रहेको घरदैलो गर्ने टोलीहरु बताउँछन् ।
तरपनि मतदाताहरु कांग्रेस नेताहरु नै स्वतःस्फुर्त रुपमा प्रचार–प्रसारमा नलागेको र यही अवस्था रहेमा कांग्रेसले चुनावको परिणाम आफ्नो पोल्टामा पार्न ग्राहो पर्ने हुनाले सम्पूर्ण नेता कार्यकर्ता एकमतले चुनावी अभियानमा लाग्नुपर्ने सुल्झाई रहेका छन् । आसन्न संघ तथा प्रदेशको निर्वाचन कांग्रेसको लागि जीवन मरणको सवालसंग गाँसिएको छ । त्यसैगरी बागलुङ जिल्लाको संघ तथा प्रदेशको चुनावलाई पनि रुपमा हेरिएको छ । सम्पूर्ण वामपन्थी दलहरुविरुद्व कांग्रेस एकाध ठाउँबाहेक एक्लै नै सामना गर्दैछ । यदि यसपटकको चुनावमा सम्पुर्ण पार्टीपंक्ति एक भएर वामपन्थीहरुलाई पराजित गर्न सकेमा कांग्रेसले यस जिल्ला आफ्नो पुरानो साख जोगाउन सफल हुनेछभने कम्युनिष्टहरुको लालकिल्ला बनाउने योजना अधुरो रहने छ । तर कांग्रेसमा आपसी मेलमिलापको अभाव देखिएको छ । वास्तावमा कांग्रेसमा आन्तरिक शुद्विकरणको पनि आवश्यक छ । एकथरि राजनीतिक व्यक्तिहरु आफ्नो स्वार्थपुर्तिका लागि कांग्रेस बन्ने र आफ्नो अनुकुल नभएमा पार्टी भित्र रहेर धमिराको काम गर्ने गरेको इमान्दार नेता कार्यकर्ता तथा मतदाताहरुको बुझाई छ । तसर्थ आसन्न निर्वाचन पश्चात कांग्रेसले आन्तरिक शुद्विकरण पनि गर्नुपर्दछ । पार्टीमा अहिले अस्मिताको विषय जोडिएको छ । कांग्रेस वास्तवमा नै इतिहासकै गंभीर मोडमा उभिएको छ । सम्पूर्ण कम्युनिष्ट शक्ति एक भएर निर्वाचनमा होमिदा कांग्रेस अझै आन्तरिक झमेलामा अल्झिरहेको आम कांग्रेसजनको बुझाई छ ।
मुलुक अहिले वाम र प्रजातान्त्रिक गरी दुई फरक विचार गन्तव्य भएका शक्ति बीचको चुनावी मैदानमा होमिएको छ । संघीय संरचना पश्चात हुन लागिरहेको यो निर्वाचन आफैमा महत्वपुर्ण छ । त्यसैमा पनि कैयन दलको उपस्थितिमा कुनै पनि दलको बहुमत प्राप्त नहुँदा देशको राजनीतिक निकास र मुलुकको विकास हुन नसकिरहेको अवस्थामा दलहरुको गठबन्धनले राजनीतिक निकाश निष्कर्ष संभावना बढेको छ । यस्तो गठबन्धन कुनै दलप्रति लक्षित नभै देश र जनताको पक्षमा हुनपर्दछ । यस्तो भएमा कुनै दल कसैको गठबन्धनले आत्तिनु पर्ने अवस्था छैन । वामपन्थी गठबन्धनको चुनावी रणनीतिविरुद्व लड्न कांग्रेस एक्लै पनि सक्षम छ तर सम्पुर्ण नेता तथा कार्यकर्तामा एकताको भावना साथ एकवद्व भएर मतदाता समक्ष पुग्नु प¥यो ।
Previous Articleभकुण्डेमा एकिकृत व्यवस्थापन तालिम सम्पन्न ।
Next Article बदर नहोस् जनताको अभिमत (सम्पादकीय)