बिनोद बिबश
युवाहरुको परिभाषा तथा उमेरको बारेमा स्रोतअनुसार भिन्न–भिन्न तथ्याङ्क भेटाउन सकिन्छ । राष्ट्रिय युवा नीति नेपाल, २०१० लाई आधार मान्ने हो भने १६ वर्षदेखि ४० वर्ष बीचका महिला, पुरुष र तेस्रो लिङ्गीहरुलाई युवा मान्न सकिन्छ । नेपाली राजनीति र यहाँका नेताहरुको कुरा सुन्ने होभने यो तथ्याङ्क गलत साबित हुन जान्छ । नेपाली राजनीति विगतदेखि नियाल्दै आउने होभने आफूलाई युवा नेता दाबी गर्नेहरुको लहरै पाउन सकिन्छ । यथार्थमा भन्ने होभने नेपालमा ४० वर्षदेखि ७० वर्षसम्म उमेरका नेताहरुले आफूलाई युवानेता दाबी गर्दछन् । वास्तवमा, युवा भनेको जोश, जाँगर, उत्साहको आँधीबेरी हो तर यसमा उमेरले पनि त भूमिका खेलेको हुन्छ भन्ने कुरा बिर्सिनु हुँदैन । पश्चिमी मुलुकहरुमा युवाहरुले नेतृत्व लिइरहँदा नेपाल भने अझैपनि वूढा नेताहरुको चपेटामा फसेको छ । त्यस्ता कुनै पनि युद्धहरु छैनन्, जुन युवाबिना जितिएको होस् अनि त्यस्ता कुनैपनि आन्दोलन छैनन्, जुन युवाहरु बिना सफल भएका हुन् ।
अक्टुबर क्रान्ति होस् वा औधोगिक क्रान्ति, विश्वयुद्ध होस् या जनयुद्ध सबै मोर्चाहरुमा युवाहरुको सहभागिता उल्लेख्य छ । देशमा सम्भावना बोकेका थुप्रै युवा नेताहरु छन् । छोटो समयमा धेरै नै चर्चा बटुल्न सफल नेपाली कांग्रेसमा गगन थापा, एमालेमा योगेश भट्टराई र माओवादीमा हिमाल शर्माजस्ता चर्चित युवा नेताहरु छन् । नेताहरु भने युवाहरुको काँधमा देश सुम्पन अझै हिच्किचाइरहेका छन् ।राजनीतिमा युवापुस्ताको नैराश्यता नेपालमा वि.सं. २००७ सालमा जहानियाँ राणाशासन विरुद्ध सशस्त्र संघर्ष, वि.सं २०२८ सालमा झापा विद्रोह, वि.सं. २०३६ सालको जनमतसंग्रह, वि.सं २०४६ सालको जनआन्दोलन, वि.सं. २०५२ देखि शुरु जनयुद्ध तथा वि.सं २०६२÷६३ सालको जनआन्दोलन देशले सम्झन लायक परिघटनाहरु हुन् । फरकफरक पृष्ठभूमि बोकेका यी आन्दोलनले देशमा चल्दै आइरहेको नेतृत्व प्रणालीलाई नै कमजोर साबित गरिदिए । अग्रगामी सोच तथा आधुनिकीकरणलाई परम्परावादी सोचले दबाउन सकेन । निरङ्कुश शासनप्रणली, प्रतिक्रियावादी, दक्षिणपन्थी, दलाल पूँजीपतिवर्ग, सामन्तवादी सोचका विरुद्ध भएका जनआन्दोलनहरुले सार्थकता त पाए तर युवाहरुले जुन जोश तथा सक्रियताका साथ आन्दोलनमा सरिक भएका थिए, त्यसको उपलव्धि भेटाउन सकेनन् ।
पछिल्लो समय नेकपा माओवादीले जनयुद्धको नाममा व्यवस्था परिवर्तनको सपना देखाएर हजारौँ युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न त रोक्यो तर जनयुद्ध र जनआन्दोलनबाट प्राप्त भएका उपलब्धिहरु संस्थागत गर्न नसक्दा हजारौँ युवाहरु सहिद बनेको देशका नागरिकहरु नै विदेशिन बाध्य भए । जति आन्दोलनहरु र युद्धहरु भएपनि मात्र पात्रहरु परिवर्तन भए, प्रवृत्ति जस्ताको तस्तै रह्यो । न त बेरोजगारी समस्या हल भयो न त गरिबी, अशिक्षा र असमानताको जड नै उखेलियो । त्यसकारण युवाहरुलाई प्रयोग गरेर गरिएका सम्पूर्ण राजनैतिक आन्दोलनहरुबाट उपलव्धि नदेखिनु र राजनीतिमा ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखान सिद्ध हुनुले युवापुस्ताको राजनीतिप्रति नैराश्यता उत्पन्न भएको हो ।राजनीतिमा युवा किन ? युवा वर्गमा जोश, जाँगर, उत्साह र प्रतिभाको भकारी हुन्छ । कुनैपनि कुरालाई व्याख्या, विश्लेषण गरेर तत्काल निर्णय दिन सक्ने क्षमता हुन्छ । उम्लिरहेको तातो रगत शरीरमा दौडिरहने हुनाले युवाहरु कुनै पनि कुरामा जोखिम उठाउन डराउँदैनन् र तुरुन्तै ‘बोल्ड डिसिजन’ दिने सामथ्र्य राख्छन् । देशमा व्याप्त समस्याहरु जस्तै गरिबी, बेरोजगारी, अशिक्षा आदि सम्पूर्ण समस्याहरु युवा केन्द्रीत समस्याहरु हुन् । देशका तमाम युवा वर्गहरुले बिहान चिया पसलमा र साँझ भट्टी पसलमा राजनीतिका गफ गरेर समय खेर फालिरहेका छन् । दैनिक रुपमा आम जनताले भोग्नु परेका समस्याहरु युवा वर्गले प्रत्यक्ष भोगिरहेको हुन्छ । बेरोजगारीका समस्याले दिनहुँ नेपालबाट भइरहेको युवा पलायन रोक्नको लागि र सीपमूलक तालिम प्रवाह गरेर स्वदेशी उत्पादनमा वृद्धि गर्नका लागि राजनीतिमा युवा सहभागिता आवश्यक छ । युवाहरुमा जोखिम मोल्न सक्ने क्षमता, दुरदर्शीता, छिटो निर्णय दिन सक्ने सामथ्र्य हुनुका साथै देशले काँचुली फेर्न सक्ने अग्रगामी योजना हुन्छन् ।
राजनीतिमा युवाहरुको सहभागीता हुनुपर्छ भन्ने कुरा सबैले महशुश गरेकै कुरा हो तर पार्टीमा आबद्ध बूढा नेताहरुले युवाहरुलाई आन्दोलनहरुमा र बल आवश्यक पर्ने ठाउँमा मात्र प्रयोग गर्ने गरेका छन् । कार्यमा जुझारुपना तथा भ्रष्ट्राचारको अन्त्य गर्दै समुन्नत नेपालको निर्माण गर्नको लागि युवावर्ग राजनीतिमा होमिनु जरुरी छ ।किन पछि पर्छन् युवा ? नेपाली राजनीतिमा पहिलेदेखि नै सामन्तवादी सोच हाबी छ । एउटा मात्र व्यक्तिलाई केन्द्रमा राखेर राजनीतिक पार्टीहरु गठन हुनु र उसकै नेतृत्वलाई सहर्ष स्वीकार गरिनुले जीवनकालसम्म एउटै व्यक्ति मात्र हावी भएको कुरा देख्न सकिन्छ । युवा वर्गमा नेतृत्वको चाहना भएपनि अनुभवको कमी हुनु र वरिष्ठताको दबाबले गर्दा नीति कार्यान्वयन तहसम्मको युवा पहुँच नभएको हो । नेपालका धेरैजसो पार्टीहरु अध्यक्ष केन्द्रीत छन् । अध्यक्ष र उनीहरुका नातेदारहरुको चाकरी गर्ने कार्यकर्ताहरुको मात्र पार्टीमा पदोन्नती हुने तथा सरकारमा पार्टी सहभागी हुँदा मन्त्री बन्ने सम्भावना हुन्छन् । त्यसकारण पार्टीमा तथा राष्ट्रिय राजनीतिमा नै युवावर्ग नीति निर्माण तहसम्म पुग्न नसकेको यथार्थ हामी सामु छ । देशका अग्रज भनिएका नेताहरुको संकीर्ण तथा परम्परावादी सोचका कारण युवाहरुलाई राजनीतिमा बन्देज लागेजस्तैे अवस्था छ । युवाहरुको प्रयोग गरेर झोले कार्यकर्ता बनाउनेभन्दा अरु सोच विद्यमान नेताहरुमा नभएको प्रष्टै देखिएको छ । केही हदसम्म युवाहरु आँफै नै बाधक हुन् । पार्टीका प्रशिक्षण, अन्तक्र्रिया तथा अन्य कार्यक्रमहरुमा युवाहरुले त्यति चासो देखाउँदैनन् र आफैँ पछि पर्ने गर्छन् । जुन ठाउँमा बलको तथा युवाहरुको आवश्यकता पर्छ, त्यो ठाउँमा सम्पूर्ण राजनीतिक पार्टीहरुले युवाहरुको धरातल बनाएका छन् ।
जस्तैः प्रत्येक पार्टीहरुले आफ्ना जनवर्गीय संगठनहरुमा युवाहरु खटाएका छन् तर पार्टी नेतृत्वको लागि उनीहरुको क्षमताले नभ्याउने मान्यता राख्ने गरिन्छ । आफ्नै चासो तथा अनुभवको कमी तथा पार्टी नेतृत्वको सामन्तवादी शैलीको कारणले युवा नेतृत्व केन्द्रीय राजनीतिमा आउन सकेको छैन । धेरैजसो ठाउँहरुमा भने नेपालको भ्रष्ट राजनीतिक प्रणाली, गलत नेतृत्व तथा संस्कार र व्यक्तिवादी प्रवृत्तिका कारण युवावर्ग राष्ट्रिय राजनीतिमा पछाडि परेका छन् । अन्त्यमा, नेपाली समाज परिवर्तनको बाटोमा छ । युवाहरुको सहभागीतामा विश्वमा र नेपालमा पनि ठूलाठूला क्रान्तिहरु भए । भर्खरै स्थानीय निर्वाचन सम्पन्न भएपछि केन्द्रीकृत शासनशत्ता विकेन्द्रीकरणको प्रक्रियामा छ । हामीले भन्ने गरिएको नयाँ नेपाल निर्माण हुने प्रक्रियामा छ । यस्तो अवस्थामा युवावर्ग निरीह नबसीकन प्रत्यक्ष राजनीतिमा उत्रिनु जरुरी छ र आवश्यक छ ती कपाल फूलेका वृद्ध नेताहरुको अवकाश पनि । देशलाई आधुनीकीकरण र वैज्ञानिक विचारधाराबाट अगाडि बढाउनको लागि भिजन भएका फ्रेस युवाहरुको आवश्यकता नेपाली राजनीतिमा छ । विगतमा लगाएका नाराहरु नारामा मात्रै सीमित छन् । ती नाराहरुलाई यथार्थमा परिवर्तन गरेर समुन्नत नेपालको परिकल्पना र निर्माणको लागि युवावर्ग प्रत्यक्ष राजनीतिमा सहभागी भई नेतृत्व लिनु आवश्यक छ । पछिल्लो समयमा धेरथोर राजनीतिमा युवाहरुको सक्रियता बढ्दै गइरहेको छ । राजनीतिमा अपराधीहरु हाबी हुनु, सत्ता केन्द्रीत राजनीति गरिनु, रोक्नै नसक्ने गरी भ्रष्ट्राचार हुनु इत्यादि समस्याहरुले देशमा युवाहरुको नेतृत्वको माग गरिरहेको छ ।
सम्पूर्ण समस्याहरुको वैज्ञानिक तरिकाले हल निकाली देशलाई अग्रगमनको बाटोमा डो¥याउन पनि राष्ट्रिय राजनीतिमा युवाहरुको खाँचो छ । विदेश पलायन भएका युवाहरुलाई देशमै स्वरोजगारको अवसर देखाइ उपलब्ध स्रोत तथा साधनहरुको अधिकतम उपयोग गरेर देशलाई समृद्ध बनाउने जिम्मा युवाहरुले लिनैपर्छ । अहिलेको नेतृत्वले देशको जिम्मा युवाहरुको काँधमा राखेर आफूहरुले अभिभावकीय भूमिका खेली युवापुस्तालाई बाटो खुला गरिदिए ‘नयाँ नेपाल’ अवश्य सम्भव छ ।
Previous Articleआर्थिक संकटमा खड्ग जयन्ती विद्यालय, सहयोगको याचना
Next Article पर्वतमा ७४ मतदान केन्द्र