मंसीरमा हुने संघ तथा प्रदेशसभा निवार्चनको चर्चाले यतिबेला बागलुङको माहौल तताएको छ । कार्तिक ५ गते सम्पन्न मनोनयन दर्तासँगै जिल्लामा राजनीतिक तथा चुनावी गतिबिधिहरुले गति लिन थालेका छन् । समान्य समयमा भन्दा चुनावको बेला बढि तात्ने गरेको जिल्लाको राजनीतिक गतिबिधिले यस पालाको चुनावमा पनि उत्तिकै महत्व पाएको छ । जिल्लाबाट संघिय सभाको लागि २ जना र प्रदेश सभाको लागि ४ जना प्रतिनिधिको छनौट गर्नका लागि हुन लागेको चुनावमा बिभिन्न पार्टि, संगठन र स्वतन्त्र व्यक्तिहरुले समेत उम्मेदवारी दिएका छन् । जिल्लाभरका सबै उम्मेद्वारहरुको संख्यालाई नियाल्दा १० राजनीतिक दलका २६ जना आकांक्षीले उम्मेदवारी दिएका छन् । ४ जनाले दिएको स्वतन्त्र उम्मेदवारी भने बुधबार फिर्ता भएको छ ।
देशभर चलिरहेको बाम गठबन्धनको लहर र त्यसमा सामेल राजनीतिक दलहरुले मनोनयन दर्ता गराएका प्रतिनिधिहरुबाट जिल्लाका बाम दलका केही नेताहरुले भने चित्त बुझाउन नसकेको देखियो मनोनयका लागि उम्मेदवार छनौटमा चित्त दुखाएका नेताहरुले आफ्नो स्वतन्त्र उम्मेद्वारी दर्ता गराए । त्यसको उदाहरण हुन बागलुङ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी दिएका गंगा थापा, पूर्णबहादुर पौडेल क्षेत्री र क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका धनबहादुर वि.क. ‘बाबुराम’ र प्रदेशसभा (ख)मा उम्मेदवारी दर्ता गराएका दधिराम शर्मा । योभन्दा पहिला बाम गठबन्धनमा सामेल भएका कुनै न कुनै दलमा जिल्ला तहको नेतृत्वमा रहेका उनीहरुले बिमति जनाउदै दिएको उम्मेदवारीले एकपटक पार्टि पंक्तिलाई झस्काएको छ । उनीहरुको उम्मेदवारीले लामो आयु त लिन सकेन तर यो खालको उपस्थितीले जिल्लामा सबैखालका बिचारहरुलाई बाम शक्तिहरुले मिलाएर लैजानुपर्ने वैचारिक दबाव भने सिर्जना गरेको छ । बुधबार उम्मेदवारी फिर्तासँगै बाम दलहरुमा नयाँ उत्साह थपिएको छ । यसको अर्थ यो होइन कि उनीहरु चुनावी परिणामको नजिक पुगी सके ।
जिल्लामा बिशेष गरेर संघिय सभाका लागि उम्मेदवार बनेकाहरु बीचको चुनावी रस्साकस्सी निकै कसिलो हुने देखिएको छ । बागी उम्मेदवारहरुको उम्मेदवारी फिर्तासँगै देखिएको उत्साहलाई परिणामा परिणत गर्न अंक गणितिय हिसावमा अगाडि रहेका बाम दलहरुले पनि निकै मेहेनत गर्नुपर्ने देखिन्छ । जिल्लाको १ नं क्षेत्रमा राज्य मन्त्रि समेत रहेकी नेपाली कांग्रेसकी नेतृ चुनावी मैदानमा बाम गठबन्धनका सुर्य पाठकसँग भिड्दै छिन् । कुनै न कुनै रुपमा उनले मतदाताहरुलाई प्रभाव पार्न सकिन र बाम पार्टीका मत काटिए भने बाम तालमेल गरेर पनि चुनावी परिणाम आफ्नो पोल्टामा पार्न कम्युनिष्टहरुलाई सकस हुनेछ भने बागलुङको क्षेत्र नं २ मा पुर्वसांसद समेत रहेका कांग्रेसका नरबहादुर पुनसँग माओवादीका प्रभावसाली नेता देवेन्द्र पौडेल चुनावी मैदानमा छन् । उनीहरु दुबै जनाको प्रतिष्ठाको लडाईको थलो हुने कुरामा शंका छैन् । संघ तथा प्रदेश सभाका लागि बागलुङबाट उम्मेदवारी दिएका सबै उम्मेदवारहरु कुनै न कुनै रुपमा जनताको माझमा लोकप्रिय रहेकाले यो निर्वाचनमा बागी बिना नै मैदानमा उत्रिदा पनि दल तथा उसका उम्मेद्वारहरुको लडाई प्रतिष्ठाको लडाई बन्ने छ । मतदातालाई स्वतन्त्र तरिकाबाट आफ्नो मतको प्रयोग गर्ने वातावरण मिल्यो भने यसपालको बागलुङको निर्वाचनले शक्तिकेन्द्र कुन पक्षमा छ भन्ने कुराको प्रतिविम्व देखाउने छ । निर्वाचनलाई भय रहित र जनपक्षिय बनाउनका लागी सक्दो प्रयास गर्ने दल वा उम्मेद्वारको पक्षमा मत हुनेछ ।
Previous Article२०७४ कार्तिक ९ गते बिहिबारको राशिफल
Next Article महिला संघको बैठक सम्पन्न