बागलुङ, ८ कार्तिक–बिद्यालयलाई संस्थागत रुपमा सञ्चालन गर्न भन्दै जिल्लाको एक बिद्यालयले यसबर्षको तिहारमा देउसी भैलो खेलेर रकम संकलन गरेको छ । ‘संस्कृतिको संरक्षण र सम्बद्र्धनकसंगै नविनताको खोज शिक्षामा सबैको पहुँच गुणस्तरीयता अभिबृद्विमा जोड’ भन्ने नाराका देउसी भैलोमार्फत आर्थिक संकलन गरेको हो ।
शिवालय आधारभूत बिद्यालय भिमपोखरा बिद्यालय ब्यबस्थापन समितिले तिहारमा देउसी भैलो खेलेर ९ लाख ९ हजार रूपैयाँ संकलन गरेको हो । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका भिमपोखरा वडा नम्बर २ मा २०३८ सालमा स्थापना भएको शिवालय आधारभूत बिद्यालयलाई ब्यबस्थित रूपमा चलाउन समुदायमा पुगी देउसी भैलो खेलेर ९ लाख ९ हजार रूपैयाँ संकलन गरेको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रेम केसीले बताए । कक्षा १ देखि ८ सम्म अङ्ग्रेजी माध्यमबाट पढाई हुँदै आएको बिद्यालयमा जिल्ला शिक्षा कार्यालयबाट ४ जना शिक्षकको दरबन्दी रहेकोे र बाँकी ८ जना शिक्षकलाई निजी स्रोतबाट तलब भत्ता खुवाउनका लागि पनि आर्थिक स्रोत आबश्यक परेकाले देउसी भैलो खेलेर रकम संकलन गरेको अध्यक्ष केसीले बताए ।
अभिभावकहरुले आफ्नो बाल बच्चाले पढ्ने बिद्यालयलाई माया गरेर ५ सय देखि ५१ हजारसम्म सहयोग प्रदान गरेको अध्यक्ष केसीले बताए । अहिले निजी बिद्यालयतर्फ अभिभावक बिद्यार्थी आर्कषित भैरहेको समयमा अङ्ग्रेजी माध्यमबाटै पढाइ संचालन गरेपछि सामुदायिक बिद्यालयमा पढाउने अभिभावकको चाहना बढेर गएको उनको बुझाई छ । हाल उक्त बिद्यालयमा १७७ जना गरिब बिपन्न परिवारका बालबालिकाले अङ्ग्रेजी माध्यमबाट सर्बसुलभ रूपमा गाउँमा बसेर पढ्ने अबसर पाएका छन् । २०३८ सालमा स्थानीय शिक्षाप्रेमी समाजसेवीले संचालन गरेको शिवालय आधारभूत बिद्यालयमा अभिभावक र बिद्यार्थी चाहना बमोजिम २०६५ सालदेखि अङ्ग्रेजी माध्यमबाट पढाई संचालन गरेपछि अहिले बिद्यालय भिमपोखराको नमुना बन्न पुगेको केसीले बताए ।
Previous Article८ कार्तिक २०७४, ढोरपाटन दैनिक
Next Article शान्ति उच्च माविमा शिक्षक अभिभावक संघ गठन