बागलुङ, ७ कार्तिक–आगामी मंसिरमा हुने संघ तथा प्रदेश सभाको निर्वाचनको लागी बागलुङका दुइ वटै क्षेत्रमा प्रत्यक्ष तर्फका उम्मेदवार जिल्लाको अमलाचौरले पाएको छ । निर्वाचन अन्र्तगत संघीय सभाको प्रत्यक्ष तर्फका दुबै उम्मेदवार साविकको अमलाचौर गाविसले पाएको हो ।
जिल्लाका सबै बामपन्थी दलहरु एकबद्ध भएर होमिन लागेको चुनावमा बागलुङको क्षेत्र नं १ मा अमलाचौरका डा.सुर्य पाठक र क्षेत्र नं २ मा अमलाचौरकै देबेन्द्र पौडेलको उम्मेदवारी परेको हो ।
नेकपा एमालेको तर्फबाट टिकट पाएका पाठक र माओवादी केन्द्रको तर्फबाट टिकट पाएका पौडेल दुबै जना साविकको अमलाचौर गाबिसका स्थायी बासिन्दा हुन् । लामो समयसम्म माओवादी आन्दोलनमा रहेका पौडेलले पहिलोपटक गृह जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका हुन् । पहिलो संबिधान सभामा समानुपातिक सभासद बनेका पौडेल र दोस्रो संबिधान सभामा भने सभासद बन्ने मौका पाएका थिएनन् ।
उता जापानमा रहेर नेकपा एमाले जापान सम्पर्क समितीको तीन कार्यकाल अध्यक्ष बनेका पाठक २०७० सालको दोस्रो संबिधान सभामा बागलुङ क्षेत्र नं. २ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार थिए । तीन हजार ४ सय ४ मत प्रप्त गरेका पाठक तत्कालिन संबिधान सभा सदस्यमा बिजयी हुन भने सकेनन् ।
२०५५ सालमा काठमाण्डौको त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुको तर्फबाट गगन थापासँग स्ववियुको सभापतिमा प्रतिष्पर्धा गरेका पाठक उच्च शिक्षाको लागी जापान पुगेपछि नेकपा एमालेको राजनीति सुरु गरेका थिए । २०७० सालको दोस्रो संबिधानसभा निर्वाचनमा पराजित भएपछि जनताको घरदैलोमा पुगेर गरेका बाचा पुरा गर्न भन्दै जिल्लाको राजनीतिमा निरन्तर सकृय रहेको एमाले जिल्ला उपाध्यक्ष कृष्ण पाठकले बताए । हारजित जे भएपनि जनताको बिचमा गरेका बाचा पुरा गर्नुपर्ने भन्दै जापानको रोजगारी र त्यहाँको रानीतीलाई त्याग गरी गाउँमा नै बसेको पाठक बताउँछन् ।