विनोद विवश
रुसको क्रान्ति, चिनियाँ क्रान्ति, भारतको तेलंगाना विद्रोह आदि संघर्षहरुको प्रेरणाबाट वि.सं २००६ सालमा पुष्पलाल श्रेष्ठको समूहले नेपाल कम्युनिष्ट पार्टीको स्थापना ग¥यो । विभिन्न चरणहरु पार गर्दै जाँदा गुट, उपगुटहरुको निर्माणले हालसम्म आउँदा नेपालमा कम्युनिष्ट पार्टी फुटेर दजनौँ पार्टीहरु बनिसकेका छन् । जनताहरुको भोट बाँडिदा हाल कुनैपनि पार्टीको स्पष्ट बहुमत पुग्दैन । यद्यपीवि.सं २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचन र पछाडिका चुनावहरुबाट पनि नेपालमा कम्युनिष्टप्रति आस्था राख्नेहरुको कमी नभएको सजिलै आँकलन गर्न सकिन्छ । वाम दलहरुको एकता भएर एउटै कम्युनिष्ट केन्द्र स्थापना हुन सके दुई तिहाइ बहुमत कम्युनिष्टहरुको पक्षमा आउने कुरालाई पनि नकार्न सकिन्न । पछिल्लो समयमा नेपालको राजनीति धेरै कुराहरुले प्रयोगात्मक बनेको छ । यही परिपेक्ष्यमा नेपालमा चुनाबको मुखमा बामदलहरु बीचको तालमेलको समाचारले बजार तताइरहेको छ । गठबन्धन किन ? मिश्रित निर्वाचन प्रणाली भएका देशहरुमा प्रायः कसैको पनि स्पष्ट बहुमत नआउने भएका कारणले गर्दा चुनावी माहोल सिर्जना गरी पार्टीको अवस्था सुधार गर्नको लागि गठबन्धनहरु निर्माण गरिन्छन् ।
चुनावको मुखैमा हतारमा गरिने त्यस्ता गठबन्धनहरु अप्राकृतिक हुने भएकोले देश पछाडि धकिलिने गर्छ । लामो संक्रमणकालीन अवस्थाबाट गुज्रिएर आएका नेपाली जनताले वि.सं. २०६४ सालको संविधानसभा निर्वाचनपछि देश आर्थिक वृद्धितिर जाने अपेक्षा गरेका थिए । महिला, दलित, जनजाति, पिछडिएका वर्ग, मधेसी, मुस्लिम आदि जनसमुदायहरु आफ्नो अधिकार पाउनेमा विश्वस्त थिए । तत्कालीन नेकपा (माओवादी) लाई स्पष्ट बहुमत र वामपार्टीहरुलाई दुई तिहाइभन्दा बढी मत दिएर जिताएका नेपाली जनताहरु अझैपनि राजनीतिक अस्थिरताको कारणले वाक्क दिक्क बनेका छन् । व्याप्त राजनैतिक अस्थिरतालाई चिर्दै दीर्घकालीन सरकार निर्माणको लागि निर्वाचनमा बहुमतको आवश्यकता पर्छ । यसकारण वामगठबन्धनले केही हदसम्म राजनीतिक गतिरोधको अन्त्य गर्नमा भूमिका खेल्न सक्नेछ । अढाइ सय वर्ष पुरानो राजतन्त्रको जरा उखेलेर फालेपछि राजनीतिक स्थिरता र अधिकार सुनिश्चितताको आश गरेका नेपाली जनताहरुले कुनै पनि शक्तिलाई पूर्ण विश्वास गर्न सकेका छैनन् । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनन जिकिँदै गर्दा थे्रसहोल्डको कारणले पनि साना दलहरुलाई आफ्नो अस्तित्व जोगाउनको लागि पनि गठबन्धन गर्नुपर्ने बाध्यता छ । राष्ट्रिय दल हुनको लागि एक सिट प्रत्यक्षमा र तीन प्रतिशत मत समानुपातिकतर्फ ल्याउनुपर्ने आवश्यकता छ ।
यस्तो अवस्थामा चुनावी गठबन्धन अनिवार्य छ ।राजनीतिक तरङ्ग र विदेशी चासो वि.सं २००६ सालदेखि वर्तमान अवस्थासम्म आइपुग्दा विभिन्न राजनीतिक उतारचढावहरु भए । यसैबीच तीन वटा वामपार्टीले असोज १७ गते चुनावी तालमेलको घोषणा गरेर छिट्टै नै पार्टी एकता गर्ने बताए । अकस्मात आएको यो निर्णयले नेपालमा राजनीतिक हलचल पैदा मात्रै गरेन, अन्तराष्ट्रिय कित्तामा पनि तहल्का पिटिदियो । स–साना दलहरु र राजनीतिक विश्लेषकहरु पनि दुई धारमा विभाजन जस्तै भएर मिश्रित प्रतिक्रियाहरु दिइरहेका छन् । विशेषगरी बामविष्लेषकहरु गठबन्धनको पक्षमा देखिएका छन्भने अरुले यो अप्राकृतिक र अल्पकालीन बताइरहेका छन् । यो गठबन्धनले काँग्रेस लगायतका प्रजातान्त्रिक शक्तिहरु बीच पनि गठबन्धन निर्माण गर्न दबाब सिर्जना गरेको छ । नजिकका छिमेकी मुलुकहरु भारत र चीनले यसलाई विशेष रुपमा हेर्नु पनि स्वभाविक नै हो । कम्युनिष्ट शक्तिहरुसँग चीन नजिकिँदै गइरहँदा भारत भने डराइरहेको छ । चिनको समर्थनमा नेपालमा बामशक्तिहरुको एकीकरण हुन लागिरहेको शंका भारतको छ र भारत यो गठबन्धन तोड्ने वा विफल पार्ने पक्षमा छ । नेपालका कम्युनिष्टहरु चिनतर्फ बढी झुकाव राख्ने हुनाले बामगठबन्धन सफल भएमा आफ्ना कार्ययोजना नेपालमा कार्यान्वयन गर्न गाह्रो पर्ने बुझाइ भारतको छ । भौगोलिक हिसाबमा दुई ठूला देशहरुको बीचमा रहेको सानो देश नेपालमा दुइवटै राष्ट्रहरुले आफ्नो अधिपत्य जमाउन चाहान्छन् । चुनाबको माहोलमा यस्ता गठबन्धनहरु हुनु सामान्य कुरा हो । तर एक दुइदिन अगाडिसम्म जानी दुश्मन रहेका ठूला शक्तिहरु नै एक हुने कुराले आन्तरिक राजनीतिमा तरङ्ग पैदा गरिदियो र विदेशी चासोको विषय बन्यो ।अल्पकालीन रणनीतिवादीर्घकालीन सम्झौता दशैँको माहोल तातिरहेका बेला वामगठबन्धनको घोषणा गर्दा सारा नेपाली जनताहरु अचम्मित बने । नेपालमा कम्युनिष्टहरु फुट्छन्, जुट्दैनन् भन्ने कुरालाई वामगठबन्धन मध्यको एउटा दल नयाँशक्तिले प्रमाणित गरिदियो । माओवादीहरु शान्ति प्रक्रियामा आएपछि दलहरुले संसद र सडकबाट धेरै कुराहरुको प्रयोग गरिसकेका छन् । वाम गठबन्धनको कुरा पनि एउटा प्रयोग नै हो । साँचो कुरा त के हो भने नेपालमा सच्चा कम्युनिष्ट हामी हौँ भनेर हिँड्नेहरुका धेरै नै जमातहरु भेटिन्छन् । हालको अवस्थामा दलहरुको यो सहकार्य चुनाबको लागि हो भनेर सजिलै अनुमान लगाउन सकिन्छ । चुनावमा अपेक्षाअनुसारको भोट नआइसकेपछि राजनीतिमा आफ्नो प्रभाव घट्दै गइरहेकोले आफू पहिलो स्थानको लागि नेकपा माओवादी केन्द्रले पुनः कसरत गर्दैछ । नयाँ शक्तिपार्टी पनि राजीतिको ग्राउण्ड लेभलबाट माथि उठ्न सकिरहेको छैन । यसैले सबै दलहरु आफ्नो राजनीतिक प्रभुत्व कायम राख्नको लागि चुनावी तालमेलमा सहमत भएका हुन् । चुनावी तालमेल र चुनाव लगत्तै पार्टी एकीकरणको लक्ष्य बोकेर हिँडेका दलहरुको यो दीर्घकालीन सम्झौता जस्तो देखिए पनि यो अल्पकालीन रणनीति हो भन्ने कुरा डा. बाबुराम भट्टराईको कदमले सावित गरिदिएको छ । नेकपा माओवादी केन्द्र पनि तत्कालको लागि पर्ख र हेरको रणनीतिमा छ ।
कम्युनिष्टहरु बीच पार्टी एकता हुन नसके पनि वामगठबन्धनले आगामी चुनावमा राम्रो नतिजा ल्याउन सक्षम हुनेछ भन्ने कुरा जनतालाई विश्वस्त बनाउन दलहरु सफल भएका छन् । मोहनविक्रम सिंह, मोहन वैद्य, नेत्रविक्रम चन्द, बाबुरामभट्टराइ जस्ता बामपन्थी नेताहरु गठबन्धनबाट बाहिर छन् । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा भने बामगठबन्धनमा सहभागी भइसकेको छ । एउटा कुरा त के प्रष्ट छ भने हालसम्म जनताको हितलाई सर्वाेपरी ठानेर काम गर्ने कुनै पनि पार्टी देखिएको छैन । जुनसुकै नेता पनि आसन्न निर्वाचनमा कसरी बढी सिट जित्ने भन्ने ध्यानमा मात्र लागिरहेको देखिन्छ । यसकारण दुई वा तीन पार्टीको निर्णय र बाँकी कम्युनिष्ट नेताहरुकै विरोध रहेकाले यो गठबन्धन धेरै लामो समयसम्म नटिक्ने धेरैको ठम्याइ छ । चुनावसम्म यो गठबन्धन सहजै अगाडि बढ्ने र चुनावमा आएको नतिजाअनुसार आगामी रणनीति तयार हुने र बामगठबन्धनको भविष्य पनि थाहा हुने कुरा स्पष्ट अनुमान लगाउन सकिन्छ ।अन्त्यमा, देशको आन्तरिक राजनीति फितलो हुँदा प्रतिक्रियाबादीहरु सल्बलाउने तथा विदेशी चलखेल धेरै हुने परिघटनाहरु हाम्रा सामु प्रष्ट छन् । स्रोत र साधनहरु अधिकतम हुँदाहुँदै पनि राजनैतिक अस्थिरता र नेतृत्व वर्गको लाचारीपनको कारणले देशले गति लिन नसकिरहेको तथ्य हामीसामु प्रष्ट छ । देश र जनताको पक्षमा कुनै निर्णय गर्दा राजनीतिक गतिरोधको अन्त्य भई स्थिरता कायम गरेर देशलाई अग्रगमनको बाटोमा लैजान सकिन्छ भने कुनैपनि पार्टीले बोल्ड निर्णय लिन चुक्नु हुँदैन । हाल गरिएको बामगठबन्धनको सहमति पनि यही हो । तत्कालका लागि सबै पार्टीहरुले स्वार्थ पूर्तिका लागि सहमति गरेपनि देशका लागि गठबन्धन आवश्यकता हो । त्यसकारण, सबै कम्युनिष्ट पार्टीहरुलाई मिलाएर एउटा दस्ता निर्माण गरी पार्टी एकीकरण गरेर जनताको हितलाई सर्वाेपरी ठान्दै देश विकासमा जुट्नु वामगठबन्धनको उद्देश्य हुनुपर्छ । (लेखक विवश जैमिनी–१ निवासी हुन् ।)
Previous Articleबाजेबज्यै आश्रममा नाति–नातिना होस्टेलमा
Next Article गर्भावस्थामा सौन्दर्य सामग्री प्रयोग नगरौं