कृष्ण प्रसाद शर्मा
नेपालको औषत आयु पहिलेको भन्दा बढ्दो छ । जापान अहिले विश्वकै सबैभन्दा बढी आयु रहेको देशमा पर्छ । मानिसहरू अहिले निकै व्यस्त छन् ,जस्तो मेशिन व्यस्त छन् । वैज्ञानिक होप्किन्सले भने झै कुनै जमाना आउने छ की अहिले संसारका मान्छेले गरेका सबै काम मेशिनले लिने छन् । आशा गरौ, बच्चा मेशिनले नजन्माई देला । टेष्टुयुब बेबीको चलन त आईसकेको छ । सोरोगेसी आमाको बढ्दो क्रम छ । अहिले नेपालको वृद्धवृद्धाको संख्या बढ्दो छ । करीब ३० लाखको संख्या छन् भनिन्छ । अहिले बिदेश गएका हुन वा स्वदेश रहेका हुन बाबुआमाका लागी समय दिन छोराछोरीहरू सँग समय छैन । एमालेको पहिलो नौ महिने सरकारको वृद्ध भत्ताले गर्दा वृद्धवृद्धाहरूको ठोस संख्या एकिन र उनिहरू प्रति सम्मान जगाएको हो तर अहिले मासिक रुपमा दिएको वृद्ध भत्ताले उनिहरूको जीवन सहज भएको होला तर पनि पैसाले उनिहरूको खुशी किन्न सक्ने कुरा भएन ।
समाजसेवामा पहिल्लोपटक वृद्धाश्रम बनाउने एक किसिमको फेशन चलेको छ । मैले फेशन शब्द राखेर वृद्धवृद्धा बाबा आमाको मनमा ठेस पुर्याउन खोजेको होईन । विदेशमा रहेका एनआरएन देखी विदेशीले पनि वृद्धाश्रम बनाउन लागेको देखिन्छ तर एउटा उदाहरण दिऊ कि म्याग्दी जिल्लामा एउटा वृद्धाश्रम बनाए तर त्यो आश्रममा वृद्धवृद्धा बस्छन् भनेर भन्दा पनि बिदेशमा रहेका कुनै नेपालीले आफ्नो गाउँमा गरेको देखाउनैका लागी गरेका हुन । त्यसैले त्यो आश्रमको हालत गएर हेर्नु होला । समाजसेवी उपेन्द्र महतोको फुलकुमारी ट्रष्टले चितवनको देवघाटमा बनाएको वृद्धाश्रममा बस्ने एक जना वृद्ध आमाले त्यहाँ बसेको भाडाको पैसा कपासको बाती कातेर बेचेको पैसाले तिर्ने गरेको समाचार पढेको थिँए । परोपकारलाई देखाएर यसरी बाती कातेर जीवन निर्वाह गर्नुपर्ने गरी आश्रममा राख्नु कत्तिको जायज होला । मलाई त मन परेन अरू के गर्यो त्यो म के भनौं । जो जतिका बाबु आमा घरमा छन् तिमध्ये अधिकांशका नातिर नातिना भेट्न होस्टल जानु पर्छ अनि हजुरबा हजुर आमा बीच तिनिहरूको संम्बन्ध कस्तो होला । एकल परिवार भन्दा सामुहिक परिवारमा बसेका सन्तान बढी खुशी हुने बैज्ञानिक बताउँछन् तर छुट्टिएर बस्नका लागी हाम्रा गाउँघरमा झैझगडा भएका घटना सामान्य बन्दै गएका छन् । वृद्धाश्रममा बाबुआमालाई राखेर अमेरिकामा बस्दै आएका डाक्टर छोरा र ईन्जिनियर बुहारीले आमाको मुख हेर्ने दिन आश्रममा फोन कल गरेको पनि सहजै लाग्ने समाज विकशित गरिरहेका छौं । जो–जसका बाबुआमा छोरा बुहारीसंग बस्छन् कैयौं त उनिहरूले दकस मानेर बस्नु पर्ने अवस्था छ । कतिपयले बाबु आमा हामीसँग बस्छन् वा हामीले पालेका छौ भन्ने सुनिन्छ तर बाबु आमासँग हामी बस्न पाएका छौं कति भाग्यमानी रहेछौ भनेर बाबु आमा प्रति गर्व गर्नुपर्ने होईन र ? मान्छे जन्मको केही बर्ष बच्चा रहन्छ तर वृद्ध अवस्था भए पछि बच्चापन रहन्छ भन्ने भनाई छ । यदि बच्चा अर्थात नातिनातिनाले बच्चापन भएका हजुरबा हजुरआमासँगै भएर जीवन बिताए उनिहरू आयु पनि पक्कै बढ्छ भने बच्चाले पनि नयाँ कुरा सिक्छन् ।
दुध डेरीले दिन्छ भन्ने सोच भएका आजकालका केटाकेटीलाई गाई भैंसी साँच्चै देखाउन चाडबाड कुर्नुपर्छ । निबन्धमा पढेका गाई भैंसीभन्दा हजुरबा हजुरआमाले सुनाएका चौपयाका कथा पक्कै रोचक हुन्थे होला । अहिलेका बच्चाहरूलाई खाना खुवाउँदा, रोएको फुलाउन वा शान्त पार्न घर परिवारका सदस्य होईन फोन र आईप्याड दिने चलन छ भनौ त्यो भए पुग्छ । यो आईप्याडमा रमाउने बच्चा र एक्ला हजुरबा हजुरआमा सँगको यो फरकपन भविश्यमा झनै बढ्दै जाने देखिन्छ । हरेक देशमा पुस्ता अन्तरले सामाजिक विचलन ल्याउँछ भने सामाजिक संरचनामै फरक पनि पार्दछ । समाज हामीले चाहे पनि नचाहे पनि यसले समय अनुसार कोल्टे फेरेको हुन्छ तर कोल्टे पेर्नु संधै सकरात्मक परिवर्तन नै हो भन्ने नसोचौं । जस्तो प्राकतिक श्रोतको उपयोग गर्दा अहिलेको पुस्ताले भरपुर उपयोग गर्दै भविष्यका सन्ततिलाई समेत असर नपर्ने गरी गर्नुपर्छ भनेझै पुस्ता फेरिंदा तिनीहरूमा रहेको सीप र कौशल अझ परिस्कृत हुँदै पुस्तामा हस्तान्तरण हुँदै जानु पर्ने हो । तर यहाँ पुस्तान्तरको खाडलमा सीपको त कुरा छोडौ भाषा, रहनसहन र संस्कारमै ठुलो चुनौती छ ।
यसमा केवल देशमा विध्यमान् अव्यवहारिक शिक्षाको मात्रै दोष छैन कि हाम्रो परिवारिक संस्थाको पछिल्लो संरचनाले समेत यो परिस्थिति सृजना गरेको छ । परिवार पहिलो पाठशाला हो भन्ने उक्ति केवल कागजका माछा बनेका छन् । हजुरबा हजुरआमा पुस्ता र नातिनातिना पुस्ताको परिवारिक सामिप्यता लगभग सकिएको छ । तपाई हामीले गत बर्ष देखेका थियौं कि लामो समय वृद्धवृद्धाले आफ्नो माग राखेर सडकमै सुतेर आन्दोलन गरेका थिए तर कहीकतैं नातिनातिना पुस्ताले साथ दिएनन् किन कि त्यो पुस्ता अहिले होस्टेलमा एक किसिमले बन्दि नै बनेको छन् । होस्टेल पुर्ण रुपमा खराब हो त नभनौ तर चार बर्षको उमेरदेखी होस्टेल हालेर राखेका बच्चाले वृद्धाश्रममा भेट्न जान समेत समय छैन भनौ कि बाबु आमाले त्यो गराउन आवश्यकता ठान्दैनन् । अहिले जसरी यो अन्तर फराकिलो हुँदै गएको छ पछि झन सामाजिक विचलनको स्थिति बढाउँदै जानेछ र भविष्यमा वंशको लागी भन्दा बढी अशंको लागी लडाई हुनेछ र समाजले भन्दा पनि अब डिएनएले मात्रै पुस्ता छुट्टाउने दिन आउने छ । जतिसुकै व्यस्त भएपनि हजुरबा हजुरआमा र नातिनातिना बीचको सामिप्यता गराउने काम बाबुआमाको हो । यो कुरा नभुलौं । पश्चिमा संस्कृति कति ठीक कति बेठीक सोचौ र मात्रै अंगालौं । आफ्नोपन कायम राखौं। वृद्धाश्रमको संख्या घट्नु पर्छ अनि पुस्ता बीचको माया बढ्नु पर्छ । परिवारमा राख्ने परिस्थित बन्नु पर्छ ।