तारानाथ आचार्य/बागलुङ, ६ कात्तिक–आगामी मंसीरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनको लागि आइतबार बागलुङका ८ राजनीतिक दलहरुले धुमधामका साथ उम्मेदवारहरुको मनोनयन दर्ता गराएका छन् । जिल्ला समन्वय समितीको भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर दलहरुले मनोनयन दर्ता गराएका हुन् । पार्टीका झण्डा बोकेर कार्यकर्ताहरुको उल्लासमय उपस्थितीमा बजागाजासहति निर्वाचन अधिकृतको कार्यालय पुगेका दलहरुले शान्तिपुर्ण रुपमा उम्मेदवारको मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नेकपा एमाले, माओबाद्री केन्द्र र राष्ट्रिय जनमोर्चा सहितको बाम गठबन्धन, नेपाली कांग्रेस, राट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादी, संघीय समाजवादी फोरम, नेकपा माले र नयाँ शक्ति नेपाल लगायतका दलहरुले मनोनयन दर्ता गराएका हुन् । दलहरुसहित बागलुङका दुबै क्षेत्रमा १–१ जना संघीय संसदको लागि र बागलुङको क्षेत्र नं. २ को २ मा प्रदेश सभाको लागि १ जना गरी ३ जनाले स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार, आइतबार बिहान १० बजेदेखी सुरु भएको मनोनयन दर्ताको क्रममा सबैभन्दा पहिले राट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीले मनोनयन दर्ता गराएको थियो । आइतबार बिहान दश तीस बजेको समयमा कार्यालय पुगेको राट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीले पहिलो मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीको तर्फबाट बागलुङको क्षेत्र नं १ मा समनजंग राजभण्डारीको उम्मेद्वारी दर्ता भएको छ । त्यस्तै प्रदेश सभातर्फ बागलुङ क्षेत्र नं. १ को १ मा जयलाल सापकोटाको उम्मेदवारी दर्ता भएको छ । बागलुङ १ को २ र क्षेत्र नं २ मा भने राट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीले उम्मेदवारी दिएको छैन । त्यस्तै, उम्मेदवारी दर्ता गर्न अधिकृतको कार्यालयमा दोस्रोमा संघिय समाजवादी फोरम पुगेको थियो । फोरमको तर्फबाट बागलुङको क्षेत्र नं १ मा महेन्द्र जिसी र बागलुङको क्षेत्र नं १ को १ मा बद्रीकुमार श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ । बागलुङको क्षेत्र नं २ मा यम घर्ति मगर र क्षेत्र नं २ को १ मा बिरबहादुर दर्जी र क्षेत्र नं २ को २ मा यमकुमार पुनको उम्मेदवारी दर्ता भएको छ ।
तीन पार्टीको बाम गठबन्धनले पनि आइतवार मध्यन्न मनोनयन दर्ता गराएको छ । गठबन्धनको तर्फबाट बागलुङको क्षेत्र नं १ मा नेकपा एमालेका डा. सुर्य पाठक र बागलुङको क्षेत्र नं २ मा माओबादी केन्द्रका देबेन्द्र पौडेलको उम्मेद्वारी दर्ता भएको छ । क्षेत्र नं १ को १ मा नेकपा एमालेका इन्द्रलाल सापकोटाको उम्मेदवारी दर्ता भएको छभने क्षेत्र नं १ को २ मा राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नं २ को १ मा माओबादी केन्द्रका चन्द्रबहादुर बुढा र क्षेत्र नं २ को २ मा जनमोर्चाकै टेकबहादुर घर्तिको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेपाली कांग्रेसले पनि आइतबार मध्यान्न नै मनोनयन दर्ता गराएको छ । कांग्रेसको तर्फबाट बागलुङको क्षेत्र नं १ मा चम्पादेवी खड्का र बागलुङको क्षेत्र नं २ मा नरबहादुर पुनको उम्मेद्वारी दर्ता भएको छ । क्षेत्र नं १ को १ मा दिपेन्द्र थापाको उम्मेदवारी दर्ता भएको छभने क्षेत्र नं १ को २ मा प्रकाश शर्मा पौडेलको उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नं २ को १ मा मञ्जेस बम मल्ल र क्षेत्र नं २ को २ मा जितबहादुर शेरचनको उम्मेद्वारी दर्ता भएको छ ।
यस्तै, नेकपा मालेले पनि जिल्लाबाट आगामी चुनावमा सहभागी जनाउने भएको छ । बागलुङको क्षेत्र नं १ मा नेकपा मालेको तर्फबाट निरबहादुर क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं २ र प्रदेश सभाका लागि भने कुनैपनि क्षेत्रमा मालेको उम्मेदवारी परेको छैन् । नयाँ शक्ति नेपालले पनि बागलुङका २ क्षेत्र र एक प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएको छ । बागलुङको क्षेत्र नं १ मा कृष्णप्रसाद शर्मा र बागलुङको क्षेत्र नं २ मा टेकबहादुर कुँबरको उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभातर्फ क्षेत्र नं १ को १ मा कृष्ण शर्मा र २ मा युनिस मियाँको उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नं २ को प्रदेश सभातर्फ भने नयाँ शक्तिका उम्मेदवार छैनन् ।
त्यस्तै देशभक्त जनगणतान्त्रिक मोर्चाले बागलुङको क्षेत्र नं २ मा निलबहादुर पुनको उम्मेदवारी दर्ता गराएको छ । आमुल परिवर्तन मसिहा पार्टीले पनि बागलुङको क्षेत्र नं २ मा बाबुरामा पाण्डे र क्षेत्र नं २ को २ मा दिलबहादुर बिकको उम्मेदवारी मनोनयन दर्ता गराएको जनाइएको छ । बागलुङको क्षेत्र नं. १ मा गंगाबहादुर थापा र पुर्णबहादुर क्षेत्री तथा बागलुङको क्षेत्र नं २ मा धनबहादुर बिकले स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । त्यस्तै बागलुङको क्षेत्र नं २ को २ मा ददीराम शर्माले उम्मेद्वारी दर्ता गराएको जिल्ला निर्बाचन अधिकृत विकासचन्द्र शर्माले जनकारी दिए । निर्वाचन कार्यतालिका अनुसार, आइतवार नै उम्मेदवारहरुको सुची प्रकाशन भएको छ । सोमबार उम्मेदवारहरुका बिरुद्ध उजुरी गर्ने समय तालिका छभने उम्मेदवारका बिरुद्ध परेका उजुरीहरुको जाँचपछि सूची प्रकाशनको कार्यक्रम रहेको शर्माले जानकारी दिए । तालिका अनुसार कार्तिक ८ गते उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन हुनेछ भने ८ गते साँझ सम्ममा सबै उम्मेदवारहरुलाई निर्वाचन चिन्ह उपलव्ध गराउने कार्यतालिका रहेको शर्माले बताएका छन् ।
म्याग्दीमा १९ जनाको उम्मेदवारी
आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि आईतबार म्याग्दीमा विभिन्न राजनीतिक दलका १९ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँझ ५ बजेसम्म १८ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी खेमराज पाठकले जानकारी दिए । सूचना अधिकारी पाठकले दिएको जानकारी अनुसार एक मात्र निर्वाचन क्षेत्रहरुको प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट पार्टी सभापति खमवहादुर गर्वुजा,नेकपा एमालेको तर्फबाट भुपेन्द्रवहादुर थापा,नयाँ शक्तीबाट नारायण शर्मा, राप्रपा (प्रजातान्त्रिक)बाट रुपनारायण श्रेष्ठ, मंगोलियन नेशनल अर्गनाइजेशनबाट रनवहादुर फगामी, एकिकृत राप्रपाबाट रामवहादुर शाही, राष्टिय जनमुक्ति पार्टीबाट तिलकवहादुर थापामगर, राष्टिय जनमोर्चाबाट फौजवहादुर दर्जीले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी प्रदेशसभा क्षेत्र नं १ मा माओवादी (केन्द्र)वाट विनोद केसी,राष्टिय प्रजातन्त्र पार्टीबाट भीमप्रसाद गौचन, राप्रपा(प्रजातान्त्रिक)बाट बलवहादुर सुनार र स्वतन्त्रबाट नेत्रवहादुर महत, केपी अधिकारी र कर्णवहादुर भण्डारी (के.वी)ले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभा क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट अमलाल फगामी पुन,नेकपा एमाले बाट नरदेवी पुन र राप्रपा प्रजातान्त्रिकबाट तुलाराम दमाई,राष्टिय जनमुक्ति पार्टीवाट खमवहादुर रोका र राष्टिय जनमोर्चावाट रमेशकुमार
पुनलेले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
१० दलका २६ र ४ स्वतन्त्र उम्मेदवारी दर्ता(नामावली सहित)
Previous Articleकराँचीमा आठ लडाकूको मृत्यु
Next Article चुनावी मैदानमा उत्रनुस्ः तिमिल्सीना