पर्वत, १ असोज – सदरमुकाम कुश्माबजारमा बढ्दै गएको चोरी डकैती, लुटपाट र दुर्घटना न्यूनीकरण गर्नका लागि सौर्य बत्ती जडान गरिएको छ । बजारवासीको सहकार्यमा बजारका चोकचोकमा सौर्य बत्ती जडान गरिएको हो ।
विद्युत्भार कटौतीका बेला पनि सडकमा पैदलयात्रा गर्नेलाई सहज र चोरी डकैतीका घटना नहोउन् भन्ने उद्देश्यले कुश्मा नगरपालिकाको कार्यालय र कुश्मा बजारका बासिन्दाको संयुक्त लगानीमा सडक वत्ती जडान गरिएको छ । सौर्य बत्ती जडान भएपछि विद्युत्भार कटौतीका बेला पनि उज्यालो हुने भएको छ ।
बजारवासीको १५ प्रतिशत र नगरपालिकाको ८५ प्रतिशतको लागतमा पहिलो चरणमा बजारका २० स्थानमा बत्ती जडान गरिएको हो । एक स्थानमा सौर्य बत्ती जडान गर्नका लागि रु. एक लाख लागत लागेको छ । एउटा बत्तीले ३० मिटर वरपर उज्यालो दिने बताइएको छ । कुश्माबजारको पुरानोबजारदेखि लोकतान्त्रिक चोक, मैत्रीचोक, शिवालयचोक, प्रगति चोकलगायतका क्षेत्रमा बत्ती विस्तार गरिएको कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत चण्डिका पौडेलले जानकारी दिए ।
स्थानीयवासीको सहभागिता गराउँदा उक्त सौर्य बत्तीको रेखदेख पनि हुने र दिगो रुपमा सञ्चालन हुने भएकाले स्थानीयवासीको सहभागिता गराइएको हो । बजारवासीले घरधुरीअनुसार आ–आफ्नो टोलमा बत्ती जडान गर्न न्यूनतम रु. एक हजारदेखि रु दुई हजारसम्म तिरेको कार्यकारी अधिकृत पौडेलले जानकारी दिए ।
अहिले १७ वटा पोलमा जडान गरिसकिएको र बाँकी रहेका ठाउँमा विस्तारै जडान गर्दै लगिने बताइएको छ । सदरमुकामको बडागाउँ क्षेत्र, मुलुककै अग्ला तीनवटा पुल, यान्त्रिक पुल क्षेत्रमा पनि सौर्य बत्ती जडानको तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।
यसअघि विद्युत्बाट केही ठाउँमा सडक बत्ती जडान भए पनि विद्युत्भार कटौतीका बेला प्रभावकारी नभएपछि र अँध्यारो भएका बेला बजारमा आपराधिक घटना बढ्दै जान थालेपछि सौर्य बत्ती जडानको अवधारणा ल्याइएको हो । अहिले विद्युत्भार कटौतीको समयमा पनि सडक भने झलमल्ल हुने गरेको छ ।
Previous Article३१ भदौ २०७३, ढोरपाटन दैनिक
Next Article संविधान दिवस तीन दिनसम्म मनाईने