बागलुङ,१ कार्तीक –पहिरोले बिस्थापित भएकाहरु घर फर्केर सामान्य जीवन विताउनुपर्ने, चाडपर्व मनाउनुपर्नेमा अझै घर फर्कनै नसकेको गुनासो गरिरहेका छन् । गत साउनमा खसेको पहिरोले विस्थापित भएकाहरु उनीहरु गाउँ छाडेर व्याङग्री, जुग्जाखोला र अन्य सुरक्षित स्थानमा गएका थिए । केही स्थानमा पहिरो रोकिएपनि अधिकांस स्थानमा बग्ने क्रम नरोकिएकोले उनीहरु फर्कन नसकेका हुन् । निसीखोला–२ बाहुनगाउँमा गएको पहिरोले जोखिममा परेका १ सयबढी घरका बासिन्दा अहिले पनि घर फर्कन नसकेका हुन् ।
जोखिम भएपनि केहीले घरैमा गएर दशै मनाए भने अधिकांस त्रासमै बस्न बाध्य छन् । पहिरोले घरका ४ जनाको मृत्यु भएपछि मनिराम छन्त्यालका छोराहरुले सधैंका लागि गाउँ छाडिसके । भएको जमिन सबै पुरिएपछि उनीहरु रोजगारीको खोजीमा बिदेशिएको स्थानीय उदीमान घर्तीले बताए । उदीमानका परिवार पनि दशै मान्न मात्र घर आएका हुन् । उनका दाई हुमबहादुर, डिलबहादुर लगायतका धेरैले गएको बर्षात दमपाटा भन्ने स्थानमा गएर बस्न बाध्य भए । ‘बारीमा लगाएको धान पाक्नै लागेको छ, कोदो टिप्ने बेला भैसक्यो’ कुँवरले भने, ‘तीन महिनादेखि भाडाको घरमा बसेका छौं, कसरी गएर खेती थन्क्याउने ?’ पहिरोले अधिकांसको खेत र बारी पुरेको छ । बचेखुचेको बारीमा अन्न पाकेर बसेको छ । घर बस्न नमिल्ने गरी भत्केकोले पिडित परिवारहरु फर्केर जान नसकेका हुन् । पहिरोले यस अघिको देविस्थान गाविसको अधिकांस भू–भागमा पहिरो खसेको छ ।
कतै मानिस तर्न नसकिने खाडल परेका छन्भने अधिकांसले गाईभैसी हिडाउनै नसक्ने भएको छ । ‘गोठका जनावर अझै फुकाएर अन्यत्र लैजान नसकिने भयो’ घर्तीले भने, ‘पानी पर्ने संभावना देखिनासाथ सबै गाउँले पोको बोकेर सुरक्षित ठाउँ खोज्न हिड्छन् ।’ सुख्खा दिनमा पनि आनन्दले निदाउन सकिने अवस्था नभएको उनले गुनासो गरे । जुग्जाखोलादेखि बाहुनगाउँ लगिएको कृषि सडकमा खसेको पहिरोले ३ वटा खानेपानीको मुहान र पाईपलाईन बगाएको छ । खानेपानी नभएपछि फर्केर पनि बस्न नसकिने अवस्था भएको अर्की पिडित लिला परियारले बताईन् । सडक मर्मतका लागि काम थाल्ने वित्तिकै दर्जनबढी घर हिउँदमै बग्ने खतरा भएको उनले गुनासो गरिन् । बैसाख अघिनै सुरक्षित बासस्थानको खोजी गर्न नसके अकल्पनीय घटना हुने उनले बताईन् । पहिरोकै कारण यहाूको ज्योती बाल विकास केन्द्र बन्द भएको छ । बालबालिका आउने जाने बाटै नभएपछि केन्द्र संचालन हुन नसकेको हो । सहयोगी कार्यकर्ता बेलमती सापकोटाले बेलाबेलामा सुरक्षित स्थानमा राखेर बालबालिालाई सामान्य सिकाउने काम गरेपनि केन्द्र खोलेर संचालन गर्न नसकेको गुनासो गरिन् । घर पछाडि भ्वाङ परेको र पिढी र छानो खसेपछि अर्जेलटोलाका प्रेमबहादुर खत्रीको परिवार पनि घर फर्कन सकेन । दिउँसो पुगेर हेरबिचार गरेपछि साँझ नपर्दै खत्री परिवार निसीखोला पारीको सुरक्षित बस्तीमा बस्न पुग्ने गरेका छन् । यहाँ एकै परिवारका ४ जना गुमाएका छन्त्याल परिवार र मृत्यु भएका अन्य परिवारले मात्र सरकारी राहत र क्षतिपूर्ति पाएका छन् । जोखिममा परेका, पहिरोले विस्थापितहरुलाई विभिन्न संस्थाले पाल, खाद्यान्न जस्ता सामान्य राहत दिएका थिए ।
अहिले उनीहरुको जीवन कष्टकर छ । पहिरोका कारण बिस्थापितका बालबालिका हिमालय प्राविमा पढ्न जान पनि सकेका छैनन् । ‘उक्त घटनापछि बालबालिका घट्ने क्रम शुरु भएको छ’ प्रअ टेकबहादुर छन्त्यालले भने, ‘विद्यालयकै मैदान पनि जोखिममा परेको छ ।’ साना बालबालिकाहरुलाई अभिभावकले अझै पठाउन सकेका छैनन् । पहिरोले दशैमा मेला लाग्ने देवी मन्दिर पनि जीर्ण भएको छ । पैदल हिड्ने बाटाहरु सबै अवरुद्ध र जोखिममा छन् । पिडितहरुले आफ्नो समस्या अहिलेसम्म जिल्लामा आएर बताउन नसकेको गुनासो गरे । गाउँपालिकाले सामान्य राहत दिएपनि पर्याप्त नभएको अध्यक्ष तारानाथ पौडेलले बताए । ‘हाम्रो सानो सहयोगले के होला र ? गाउँपालिकाको आयश्रोत पनि छैन’ उनले भने, ‘सहयोगका लागि संभव हुने स्थानमा पहल भने गरिरहेका छौं ।’ सिंगो गाउँनै पिडित भएकोले एकले अर्कोलाई सहयोग गर्न पनि नसकेको उनीहरुले गुनासो गरे । जिल्ला तहबाट गएका प्राविधिले पनि सिंगो गाउँनै समस्यामा परेको बताएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा सार्नुपर्ने अधिकांसले सल्लाह दिएको पौडेलले बताए ।
Previous Article२०७४ कार्तिक १ गते बुधबारको राशिफल
Next Article अपांगलाई दयाको पात्र नबनाऔं