संविधान कार्यान्वयनका लागि संघिय संसद र प्रदेश सभाको निर्वाचनको तयारी चलिरहेको छ । देशैभरी राजनीतिक दल, कार्यकर्ता र आम नागरिकमा पनि राष्ट्रिय निर्वाचनको माहोलले ढाकेको छ । यो अवसरमा धमाधम जिल्ला जिल्लाबाट उमेदवारको सूचि सिफारिस भएर पार्टीको केन्द्रीय समितिले छलफल गर्दै उमेदवारको टुंगो लगाउने अभियान थालिरहेका छन् । यो अवसरमा हरेक जिल्लाबाट दर्जनौको नाम नेतृत्वका लागि छानिएको छ भने कसले बाजी मार्ने भन्ने होडबाजी पनि चलेको छ । यो समय राजनीतिक रुपमा दशै तिहार जस्तै उत्सव र चाडको रुपमा देखिएको छ । तर यो नामाबलीको सिफारिसकै कारण जिल्लामा सयौं कार्यकर्ताबीच गुट उपगुटमा बिभाजन हुने, कसले टिकटको बाजी मार्न कसलाई तल पार्ने जस्ता खेलहरु पनि चलिरहेका छन् । राजनीतिक नेतृत्वले पनि कस्तो व्यक्तिलाई टिकट दिने भन्ने न्युनतम मापदण्ड बनाउन छाडेर भएभरको नामाबली केन्द्रमा मगाएका छन् ।
केही दलले तीन जनाका दरले सिफारिस गरेपनि अधिकांसको दर्जनौं नाम केन्द्रमा पठाइएका छन् । जसको कारण केही सातादेखिनै राजनीतिक नेतृत्वको दाउ खोजेकाहरु राजधानी केन्द्रीत भएका छन् । उनीहरुले जिल्लामा कस्तो काम गरेका छन्, राजनीतिक रुपमा कस्तो योगदान छ भन्ने हिसाव किताव भन्दा शिर्ष नेताको वरिपरि कसले बढी घुम्न सक्छ, नेतालाई कसले कमिसन दिन सक्छ र जिल्लामा कसले बढी रुपैयाँ खर्च गरेर चुनाव जित्न सक्ला भन्ने बिषयले बढी महत्व पाएको देखिन्छ । प्रत्यक्ष सिटमा चुनाव लड्नेको कुरा एउटा भएपनि समानुपातिक सूचिमा बसेर सुरक्षित बन्न खोज्नेहरुको जमात अर्को छ । त्यसमा गुण्डा नाईके देखि भ्रष्टचारी सम्मको नाम अटेको छ । जसका कारण राजनीतिक दलहरु प्रति नकारात्मक टिकाटिप्पणी पनि चलिरहेको छ । राजनीतिमा अपराधिकरण र अपराधमा राजनीतिकरण गर्ने क्रमले सबै क्षेत्रप्रति आम जनताको नकारात्मक धारणा बनिरहेको छ । यस्तो समस्यालाई समाधान गर्न समयमै दलहरुले उचित कदम चालेनन् भने भोलीका दिनमा लामो योगदान भएको, आन्दोलन गरेको मात्र भन्ने दललाई जनताले चटक्कै विर्सिदिन पनि सक्छन् । तसर्थ स्वच्छ छवि, युवाहरुलाई अगाडि बढाउन सक्ने र बिकास निर्माण मार्फत राज्यको समृद्धि खोज्ने खालको राजनीति बनाउन आवस्यक भएको छ ।
लामो समय सम्म संक्रमणमा गुज्रेको, यस अघि पंचायत र राणाशासनमा पिल्सिएको नेपालको राजनीतिलाई निकास दिएर समृद्धिको बाटोमा डोहो¥याउने प्रतिवद्धता सहित त्यस्ता काम गर्न सक्ने हिम्मत र विश्वास भएका युवापंक्तिलाई समयमै सिफारिस र टिकट दिन जरुरी छ । नत्र हिजोको दिनमा जे जस्तो लगानी गरेपनि अवका जनताले पुरानै योगदानको मात्र मूल्यांकन गरेर भोट नदिन सक्छन् । जनताले राजनीतिक पद्दतीको परिवर्तन खोजेजस्तै नयाँ स्वागतको विकास पनि खोजेका छन् भन्ने नेतृत्वले बुझ्न सक्नुपर्छ । राजनीतिक परिवर्तनको एजेण्डा दलका शिर्ष नेताले आँफै रोज्ने अनि जनताले आँफैलाइ रोजिरहनुपर्छ भन्ने मान्यता राख्नेहो भने देश अगाडि जान सक्दैन । अन्तराष्ट्रिय जगतमा अमेरिका, चीन, जापान, युरोपीयन देशहरुको विकास पनि त्यसै भएको होइन् । उनीहरुले लामो योगदान गरेका छन् । भ्रष्ट्रचारलाई निर्मूल पारेका छन् । उनीहरुबाट हामीले पनि अव स्वच्छ राजनीति र समृद्धिका उपाया सिक्नुपर्नेछ ।
Previous Articleन्याय माग्न कहाँ जाने ?
Next Article २०७४ कार्तिक १ गते बुधबारको राशिफल