बागलुङ,१ कार्तीक –गरिवी निवारण दिवसको अवसर पारेर धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारी संस्था लिमिटेड बागलुङले गरिवी निवारणका लागि स्वास्थ्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । चरम गरिवी विरुद्ध एकजुट भएर लड्न तथा गरिवी सम्बन्धी जानकारीहरु विश्वभर आदान प्रदान गर्नका लागि संयुक्त राष्ट्रसंघको आव्हानमा सन १९९३ देखि यो दिवस मनाउन थालिएको हो । हरेक वर्ष १७ अक्टुबरका दिन मनाउने गरिवी निवारण दिवस नेपालमा पनि विधि कार्यक्रम गरी मनाउन थालिएको छ ।
सहकारीमार्फत धौलागिरिवासीलाई स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा प्रदान गर्ने लक्ष्य लिएर अगाडि बढेको धौलागिरि सञ्जिवनी स्वास्थय सहकारी संस्थाले स्वस्थ नागरिक उत्पादनका लागि आफ्नो तर्फबाट गर्न सक्ने योगदानका बारेमा छलफल गरेको थियो । जनतालाई गरिवीबाट छुटाउनका लागि आयआर्जन गर्नु पर्ने र त्यसका लागि नागरिक स्वस्थ हुनु पर्ने भएकाले गरिवी निवारणका लागि स्वास्थ्य संस्थाहरुको महत्वपूर्ण भूमिका हुने सो अवसरमा बताइएको थियो । हरेक व्यक्तिले आफ्नो स्वास्थ्य परिक्षण नियमित गराउनु पर्ने, खानपान लगायत स्वस्थ रहनका लागि आवश्यक प्रक्रियाहरुका बारेमा जानकारी राखेर समाजको गरिवी हटाउनका लागि काम गर्ने वातावरण सिर्जना गर्नु पर्नेमा सहभागीहरुको जोड थियो । सहकारीमार्फत अस्पताल सञ्चालन भैरहेको र अझै पनि सहकारी मार्फत सेवा सञ्चालनका विषयमा सरोकारवालाहरुको ध्यान पुग्न नसकेको सहभागीहरुले गुनासो गरेका थिए । कार्यक्रममा संस्थाका सचिव रामबहादुर जिसीले दीगो स्वास्थ्य सहकारी संस्था सञ्चालनका लागि सञ्चालक, शेयर सदस्य र स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको भूमिका र संस्थाको आगामी कार्ययोजना सम्बन्धमा सहजीकरण गरेका थिए ।
Previous Articleगरिवी निवारणमा सहकारीको भूमिका महत्वपुर्ण
Next Article जनएकताको साधारणसभा