तारानाथ आचार्य /बागलुङ ३१ असोज
जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा निर्माणधिन कुश्मीशेरा खानेपानी योजनाले आगामी असार मसान्त सम्ममा उपभोक्तालाई खानेपानी उपलव्ध गराउने भएको छ । योजनाको करिव ७५ प्रतिशत काम सकिएकाले यस आर्थिक बर्षभित्रमै उपभोक्ताले पानी पाउने भएका हुन् । बजार बिस्तारसँगै उपभोक्ताको चाप बढ्दै गएको कुश्मीशेरा बजार लगायत आसपासका सबै गाउँलाई समेट्ने गरी सुरु भएको योजनाको अधिकांश काम सकिएको खानेपानी योजनाका अध्यक्ष रुद्र आचार्यले बताए । साविकको रायडाँडा गाविस वडा नं ८ मा रहेको पानीको मुहानदेखी कुश्मीशेरा–६ मा निर्माण भइरहेको ट्याङ्की सम्मको मुख्य लाइनको काम सकिएको र अन्य साना योजनाको काम समेत सकिएकाले यसैबर्ष पानी बितरणको चरणमा प्रवेश गरिने आचार्यको भनाई छ । साविकको कुश्मीशेरा गाविसका वडा नं १, २, ३, ४ र ५ मा खानेपानी उपलब्ध गराउने गरी मुख्य योजना तथा अन्य वडाको लागि बिभिन्न १४ वटा स्किममा काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
साना स्किमहरुमध्ये वडार, कुश्मीगाउँ, काभ्रे र भँगरामा काम सम्पन्न भई खानेपानी सुचारु भैसकेको योजनाका इन्जिनियर अरुणकुमार खरेलले बताए । मुख्य योजना तथा अन्य साना योजनाको समेत काम अन्तिम चरणमा रहेको खरेलले जानकारी दिए । उनका अनुसार, योजनाले निर्माण गर्न लागेको १ सय घनमिटरको एक र ५० घनमिटरको अर्को एक ट्याङ्की तथा बितरण लाईनको काम मात्रै बाँकी रहेको छ । यस बर्षको बजेटले काम सम्पन्न भएसम्म असार मसान्तसम्म पानी बितरण गर्ने गरी काम भइरहेको उनको भनाई छ ।
क्रमागत योजना अन्र्तगत उपभोक्ताको २० प्रतिशत जनसहभागीतामा निर्माण हुने गरी २०६७ साल देखी काम सुरु गरिएको थियो । ६ करोड १८ लाख १८ हजारको प्रारम्भिक स्टमेट बनाएर काम सुरु गरिएको योजना आर्थिक बर्ष २०७५÷७६ मा सम्पन्न गर्ने लक्ष राखीएको कार्यालयले जनाएको छ । सुरुवातको चरणमा खानेपानीको मुहानको विवादका कारण काम ढिलो सुरु भएको भएपनि हाल काम निरन्तर चलेकाले निर्धारित समयमा नै योजना सम्पन्न गरिने खरेलले बताए । साविकको रायडाँडामा रहेको मुहानको बिषयले भने फेरी अप्ठ्यारो रुप लिएको छ ।
स्थानिय उपभोक्ताले मुहानको बिषयमा विवाद सुरु गरेको र समाधानको प्रयास भइरहेको योजनाका अध्यक्ष आचार्यले बताए । भंगराकी एक महिलाले पानीको पाईप काटिदिएको र उनको समस्यालाई सम्बोधन गरेर पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको उनको भनाई छ । उपभोक्ता समितीले जिल्लाकै एक निमार्ण कम्पनीसँगको प्रविधिक सहयोग लिएर कामलाई तिब्रता दिइरहेको छ । वडाभर स–साना बस्तीहरु छरिएर रहेको अवस्थामा भएपनि स्थानिय मुहानको पहिचान, संरक्षण र मर्मत गर्दै समयमा नै उपभोक्तालाई पानी उपलव्ध गराउन आफुहरु जिम्मेवार ढंगले काम गरीरहेको आचार्यले बताए ।
Previous Articleप्रगति सहकारीको मुनाफा १० लाख
Next Article ३१ असोज २०७४, धौलागिरी स्टार साप्ताहिक