जापानबाट फर्केपछि कान्तिपुर टेलिभिजनमा विभिन्न कार्यक्रम चलाउन थालें । पछि ‘घरबेटी’ नामको शृंखलामा काम गर्न थालेपछि त मैले राम्रो ‘पब्लिक अटेन्सन’ पाउन थालें । बाटोमा समेत धेरैले मनीषा भनेर बोलाउँथे । एक्कैचोटि त्यो खालको ‘हाइप’ हुँदा रमाइलो लाग्थ्यो ।
तीन वर्ष जर्मनीवास
जन्मनलाई म पाल्पामा जन्मेको, मामाघरमा । तर मेरा बाबा युनाइटेड मिसन भन्ने अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने भएका कारण स्कुले जीवन र शिक्षा चाहिँ धेरै ठाउँमा भयो । म १० वर्षकै उमेरमा जर्मनी बस्न पुगें । जर्मनीमा तीन वर्ष बसेका कारण म अहिले पनि राम्रो जर्मन भाषा लेख्नसक्छु । बोल्नपनि ठीकै बोल्छु । मेरी आमा चाहिँ पहिले अंग्रेजी पढाउनुहुन्थ्यो । अहिले पनि बच्चाहरूलाई पढाउनुहुन्छ । शिक्षकहरू जीवनभर नै शिक्षक नै हुन रुचाउने ! आमा शिक्षक भएकाले पनि होला, गोदाई खाएरै पढियो । एचसिएफ र एलसिएमले रुवाउँथ्यो । झुक्किने त्यसमा ।
तर मैलेभन्दा दाइले नै शिक्षालाई बढी जोड दिनुभयो र सोही कारण दाइ पढाइमा अब्बल हुनुभयो । अहिले मेरा दाइ अमेरिकामा राम्रो म्यानेजरियल तहमा काम गर्नुहुन्छ ।
गाउँको सम्झना
मलाई गाउँले जीवनको एकदमै राम्रो अनुभव छ । करीब डेढ वर्षजति म मेरो पुख्र्यौली थलो लमजुङमा बस्न जु¥यो । आमा बा अति व्यस्त भएका कारण म आमोइसँग बसें गाउँमा नै । सोही कारण पनि अहिले कतिखेर बिउ रोप्ने, धान रोप्ने, दाइँ गर्ने भन्ने कुरा मलाई ख्याल छ ।
लमजुङमा हुँदा मेरो प्रायः काम हुन्थ्यो चील धपाउने । चीलले कुखुरा टिपेर लाने भएका कारण आक्रमणबाट कुखुराका चल्ला बचाउन नधपाई भो ? मलाई त्योमात्र होइन, गाउँमा चितुवा आएको समेत सम्झना छ । अँ, अर्को कुरो, मलाई दाउरा बटुल्न समेत भनिन्थ्यो । कति रमाइलो लाग्थ्यो, ती सबै गाउँले काम गर्न ।
दिनभर हामी साना बच्चा हरायौं, कसैले थाहा पाएन
त्यही बेला हो । हाम्रो ‘बालटिम’मा म मात्र केटी थिएँ । सम्भवतः हाम्रो टिम घरखेत हुँदै ओरालो लाग्यो । तलतिर जाँदा त घिर्सिंदै गइयो । जानलाई कठिन भएन । हामी त्यतिखेर पानी अमला र खनियो (पहाडका कन्दमूल र फल) खानकै लागि तलतिर झ¥यौं क्यार । हामी तीनजना थियौं । तल त गइयो । माथि आउन सकस प¥यो । जति गर्दा पनि चिप्लेर तलका तलै । हामी हद्दु भयौं ।
हामीलाई कसरी घर आइपुग्ने भन्ने त छँदै थियो डर पनि उत्तिकै । रुँदै–रुँदै रातमा घर आइपुग्यौं तर कसैले पनि हाम्रो बारेमा ख्याल गरेनछ । त्यसै बखत हुनुपर्छ, गाउँमा मलाई बाँदरले समेत लखेटेको थियो ।
दशैं र बेंसीशहर
घरतर्फको हजुरआमा जीवित हुँदा हामी वार्षिक रूपमा लमजुङ जान्थ्यौं । गाउँमा गएर दशैं मनाउनुको स्वाद नै बेग्लै । गाउँभरका मान्छे आउँथे हाम्रो बुढोघरमा । त्यतिखेर सदरमुकाम बेंसीशहरमा पनि दुई चारवटा पसल थिए । बेंसीशहर वास्तवमा गाउँजस्तो थियो । मेरा बातर्फको हजुरआमा दुईजना थिए । अहो ! कति रमाइलो हुन्थ्यो दशैं । दशैंको टीका लगाउन भनेर यो घर र त्यो घर गर्दै दौडन्थें म । यो जात र ऊ जातको हामी बच्चालाई के मतलब ? दक्षिणाका रूपमा पाइने १–२ रुपैयाँले खुबै लोभ्याउँथ्यो ।
खेतबारीका गरागरा हाम फाल्यो । गाउँमा सुन्तला त कति खाइन्थ्यो, खाइन्थ्यो । रुख त कति चढियो, चढियो । अहिले पनि फिल्म सुटिङतिर जाँदा म निष्फिक्री रुख चढ्छु । सम्भवतः त्यही खुवाइले मेरो भौतिक र मानसिक विकासमा पनि धेरै प्रभाव पारेको होला । विदेशतिर मान्छे बुढ्यौली र निवृत्तिमा शहर छाडेर गाउँघर जान्छन् । तर हाम्रोमा उल्टो हुँदैछ ।
मगरहरूका घरमा समेत छिरेर हामी टीका लगाउँथ्यौं । आखिर त्यही बुझाइ नै शाश्वत हो भन्ने लाग्छ अहिले । के जात–के भात ? कति उत्साह हुन्थ्यो त्यतिखेर । शायद बचपना भएर पनि होला । तर अहिले प्रतिस्पर्धा र बढ्दो शहरीकरणले गाउँको ‘इसेन्स’ म-यो । मौलिकता हरायो । गाउँका रोटेपिङ हाल्ने, खट्खटे (लङ्गुरबुर्जा) खेलाउने र लिङ्गो गाड्ने युवाहरू कता गए ? माच र टौवा बनाउने युवाशक्ति खै ? खुर्पेटो कता गयो ? त्यो नै नेपालको मौलिकपना थियो । सबै धन कमाउने प्रतिस्पर्धामा मात्र दौडेपछि कसले कायम राख्ने चाडबाडको मौलिकता ?
म नेपाली चलचित्र हेर्छु
कतिपय नेपाली चलचित्रका नायक÷नायिकलाई नेपाली चलचित्र नहेरेको आरोप लाग्छ । तर नेपाली चलचित्र हेर्छु । पछिल्लोपटक ‘कालोपोथी’ र ‘छक्कापञ्जा’ हेरें । तर ‘कट्टर राष्ट्रवादी’ भएर चलचित्र हेर्दिनँ । कतिपय चलचित्र त चिनजानका आधारमा समेत हेर्नुपर्ने बाध्यता हुन्छ । विषय र ट्रेलर मन परेमा पनि चलचित्र हेर्छु । फिल्म हेर्न जाँदा आमालाई लिएर जान मन पराउँछु । तपाईंलाई बताऊँ एउटा कुरा ? साथीहरूको आग्रह टार्न नसकेर कतिपटक मैले निदाई–निदाई पनि फिल्म हेरेको छु । (हाँसो..) चलचित्र हेर्दाहेर्दै बीचमा छाडेर भने कहिल्यै हिँड्दिन म ।
नेपालको ‘सेलिब्रिटीहुड’ रमाइलो
विदेशमा भन्दा नेपालमा सेलिब्रिटी हुनुको मज्जा छ । यहाँ एकैपटक निजी र सार्वजनिक जीवन जिउन पाइन्छ । अरूले विरलै तपाईंको जीवनमा अवरोध गर्छ यहाँ । सेलिब्रिटी भएकै कारण चौतर्फी मान्छेले घेरेर समस्या हुँदैन ।
कहिलेकाहीँ डिपार्टमेन्ट स्टोरमा पुग्दा भने त्यहाँका स्टाफहरूले आफूले खेलेको मुभीको गीत बजाइदिन्छन् । पहिला–पहिला यस्तो कुराले अल्लि अप्ठ्यारो लाग्थ्यो, अहिले सामान्य । उपत्यकाबाहिर जाँदा त अहिले पनि कुरो बेग्लै हुन्छ । मान्छे झुम्मिन्छन् । तर त्यसको रमाइलो बेग्लै ।
म आफूलाई सौभाग्यशाली ठान्छु । मन लागेको काम गर्न पाएको छु । अनेक रोजाइहरू छन् । कमाइ पनि छँदैछ । करीब एक दशक भयो टेलिभिजन र चलचित्रमा भिजेको । एक दिन पनि काम ग¥या जस्तै लाग्या छैन । मैले त खेलीखेली पैसा कमाएँ । ‘आउटडोर पर्सन’ भएकाले मलाई मुभी र माउन्टेनले नै तान्यो । म मेडिटेसनमा पनि निकै रमाउँछु । विपश्यना ध्यान गर्छु । मुभी, माउन्टेन र मेडिटेसन अर्थात् ‘३ एम’मै जीवन जान्छ कि झैं लाग्छ ।
सगरमाथाको चुचुरोमा
मैले २०१२ मा नेपाल पर्वतारोहण संघमा पथप्रदर्शक र पर्वतारोहणको ४५ दिने तालिम लिएँ । त्यो तालिमले ममा झनै आत्मविश्वास बढाइदियो । उसो त म बच्चैदेखि अल्लि सुरो केटी हुँ । रुख, पहाड र भीर मन पर्ने । आखिर मैले २०१३ मे १ मा सगरमाथा चढिछाडें । यो ‘सोलो समिट’ थियो । तर मलाई ज्यानै फालेर सगरमाथा जाऊँ भन्ने चाहिँ कहिल्यै थिएन ।
मेरो अमूल्य जीवनभन्दा हिमाल चढ्नु महत्वपूर्ण हुन सक्दैन । अप्ठ्यारो केही आयो भने बीचबाट फर्कन्छु भन्ने लागेको थियो । कतिपय पर्वतारोहीहरू ‘यहाँसम्म आइपुगियो अब किन फर्कनु’ भन्दै डरलाग्दो चुनौतीसँग जुध्छन् र उनीहरूको ज्यान समेत जाने गरेको छ ।जनावरप्रेम, ध्यान र शाकाहारी जीवन
म मासु खान्थें तर पनि मलाई जनावरको माया लाग्थ्यो । मैले घरमा कुकुर पालेको छु । भूकम्पको समयमा मैले एउटा भूकम्पपीडित परिवारलाई सहयोग हुन्छ भनेर मैले एक जोडी कुखुरा किनेर ल्याएँ र घरमा पालें । ती कुखुरा र कुकुरमा मैले कुनै फरक पाउन सकिनँ । आफूलाई पाल्नेप्रति दुवै पशुपञ्छीले उत्तिकै पछ्याउने र माया गर्ने । कुकुर र कुखुरा दुवैमा डर, भोक र मायाको भाव – सबै उस्तै । अनि मैले सोचें – हामी कुकुरलाई माया गर्ने तर कुखुरालाई चाहिँ किन काटेर खाने ?
विगत दुई वर्षदेखि यिनै कुराहरू सोच्दा पनि आफूले मासु खाएकोमा ‘अपराध’ महसुस हुँदै आएको थियो । पहाडतिर जाँदा साना पाठा बोकेर ‘माया’ प्रकट गर्ने, तस्वीर खिच्ने तर भोजमा छिरेपछि तिनै पाठाको मासु खाने ! पशुको साहै्र माया लाग्ने तर मासुको स्वाद पनि छाड्न नसक्ने ! बिस्तारै म आफैंले अपनाएको दोहोरो मापदण्डप्रति दिक्क लागेर शाकाहारी जीवन अपनाउने निचोडमा पुगें । एक वर्षजति भयो म शाकाहारी भएको ।
उसो त ध्यान गर्दा पनि माछामासु नखान भनिन्छ । त्यसको कारणले गर्दा पनि सहजै शाकाहारी जीवन अपनाउन खोजें । ध्यानबाट मैले बुझेको कुरा त्यही हो कि सबै प्रकारका खुशी र आनन्द हाम्रै शरीरभित्र छ । ध्यानले त्यसको सत्वबोध गरायो । हरेक वर्ष विपश्यना ध्यानका लागि म ध्यान शिविर जान्छु । त्यहाँ सिकाइने पञ्चशील र अष्टशीलका कुराले मान्छेको जीवन धन्य हुन्छ । भगवान् गौतम बुद्धले ज्ञानप्राप्तिका लागि प्रयोग गरेको ध्यानविधि हो यो । यो ध्यान सबै धर्म र सम्प्रदायका मान्छेले गर्न सक्छन् ।
सिके राउतलाई भेट्न पुगें
म आफैं राजनीतिशास्त्रको विद्यार्थी । मैले यो देशको राजनीतिमा के भइरहेको छ, बुझ्नु आवश्यक छ । इशान नाम गरेका एउटा अभियन्ताले गरेको हिंसारहित विरोधको शैली मन प¥यो र उनैमार्फत राउतलाई भेट्न पुगें । अहिलेका धेरै युवाहरू आक्रोशित हुने, विरोध मात्रै गर्ने र धेरै शिकायत गर्ने गर्छन् तर इशानको शैली भिन्न छ । उनको ‘साइलेन्ट रिभोलुुसन’ले मलाई छोयो ।
इशान राज्यको नीति मन नपरेका कारण ‘सिंहदरबारलाई रातो रङ्गले पोत्ने’ अभियानमा थिए । तराई—मधेशमा पुगेर मधेशीहरूसँग भेटघाट गर्ने र त्यही सन्दर्भमा ‘स्वतन्त्र मधेश’ को माग गर्ने भनेर चिनिएका सिके राउतलाई पनि भेट्ने कार्यक्रम रहेछ उनको । मैले इशानलाई फोन गरें । उनले आफू भोलिपल्ट मधेश जान लागेको बताए । म आफैं उनीसँगै तराई मधेश गएँ । आफैंले गाडी चलाएँ । हामी जनकपुर पुग्यौं । मसँगै चलचित्र नायक कर्मा पनि गएका थिए ।
हामीले राउतलाई शान्तिपूर्ण आन्दोलनमा लाग्न आग्रह ग-यौं र हामी पहाडे समुदायका कारण उहाँहरूमाथि अन्याय भएको छ भने ‘माफी माग्छौं’ भन्यौं । हामीले त्यस अवसरमा थुप्रै तराईवासीलाई भेट्यौं, जो नाकाबन्दीका समयमा अत्यन्तै पीडित भएका थिए । हामीले त के पायौं भने बहुसंख्यक तराई–मधेशवासीले नै नाकाबन्दीको समयमा धेरै दुःख पाएछन् । तिनको रोजीरोटी खोसिएछ ।
उनीहरू त नाकाबन्दीको विरोधमा पो रहेछन् । धेरै मधेशी जनताले हामीलाई मधेशी नेताहरूले तराईका जनतालाई दुःख दिएको बताए । नेताको कारण नाकाबन्दी भएको उनीहरूको बुझाई थियो । तराई आन्दोलनका कारण कमाइ खाने साइकल र टोकरी फ्याँकिएकाहरूलाई समेत हामीले भेटेर ‘हामीले गल्ती गर्न पुगेका छौं भने हामीलाई माफी दिनुस्’ भन्यौं ।
विवाह र प्रेम
म अहिले सिङ्गल छु र मलाई घरबाट विवाह गर भन्ने दबाब छैन । फेरि विवाह भन्नेबित्तिकै हाम्रोमा ‘सेटल डाउन’ बुझिन्छ । मलाई त्यस कुरामा चासो छैन । विवाह गरेर बालबच्चा पाउनैपर्छ भन्ने छैन । बच्चाको रहर भए ‘एडप्ट’ गरेर पाल्दा पनि त हुन्छ । हाम्रो समाजको समस्या भनेकै ‘अरूले के भन्छ’ भनेर निर्णय गर्ने हो । अरूले के भन्छ भनेर विवाह गर्ने, बच्चा पाउने आदि ।
कतिपय अवस्थामा त चित्त नबुझ्दा–नबुझ्दै पनि मन नपरेको मान्छेसँग बस्नु पर्ने अवस्था छ हाम्रोमा । त्यस्तो हुँदा घरमा प्रत्येक दिन मनोमानिल्य र झगडा हुन्छ । त्यस्तो परिवारमा हुर्कने बच्चाको मानसिक स्थिति कस्तो होला ? सम्बन्ध विच्छेद भएका परिवारमा बच्चाहरूको अवस्था कस्तो होला ? यसर्थ, अहिले बिहेमा मलाई रुचि छैन । मलाई अहिले त धेरैभन्दा धेरै मुभी गर्नुछ । अहिले ‘कुम्भकरण’ र तिहारपछि ‘रमिता’को सुटिङ हुँदैछ । व्यस्त छु, बिहेको बारेमा मैले सोच्ने मौकै पाएको छैन । लोकान्तर